प्रधानमन्त्री देउवाले डडेलधुराको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्ने 

अन्य शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?
शनिबार, मंसिर ३, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ ।
विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन् । प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीका अनुसार प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नेछिन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गर्ने उनका स्वकीय सचिव रामजी थापाले जानकारी दिए । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री कार्की सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गर्ने छन् । उनी रुपन्देही क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्दैछन् ।
अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । उनले भरतपुर महानगरपालिका–१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । 
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन् । सोही पार्टीका नेता झलनाथ खनालले आफैँ उम्मेदवार रहेको इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।
 यस्तै लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका–१ मा मतदान गर्नेछन् । अध्यक्ष ठाकुर महोत्तरी–३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन्। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन् । उनी सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् । 
त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास–२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौँ–३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्नेछन् । 
कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ–१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गर्नुहुनेछ । कांग्रेस नेता शेखर कोइरालाले विराटनगर–७ को आर्दश विद्यालयमा मतदान गर्नेछन्।   
जसपाका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरीबाट मतदान गर्दै छन् । उनी सुनसरी क्षेत्र नं १ बाट उम्मेदवार बनेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले क्षेत्रपाटी ढल्कुस्थित मतदान केन्द्रमा मतदान गर्नेछन् । श्रेष्ठ काठमाडौँ  क्षेत्र नं ७ का उम्मेदवार हुन् ।
जसपाका प्रवक्ता मनिस सुमनले राजविराज–३ स्थित केएएमबी माविबाट मतदान गर्दै छन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सर्लाही चन्द्रनगर–२ दुर्गा खोभारी जनता उमावि केन्द्रमा मतदान गर्दै छन् । महतो सर्लाही क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने जनाइएको छ ।
 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।  माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित मतदान केन्द्रमा मतदान गर्दै छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नपास्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्नेछन् । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौँ–५ स्थित टोखा–६, स्काइलार्क स्कुल धापासी केन्द्रबाट आफैँलाई मतदान गर्दै छन् । यस्तै एमाले उपाध्यक्ष  विष्णुप्रसाद पौडेलले बुटवल–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयमा मतदान गर्दै छन् । एमाले महासचिव शङ्कर पोखरेलले तुलसीपुर– १९, जनता विद्यापीठ केन्द्र बिजौरीबाट मतदान गर्दैछन् । संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङले इलाम–७ बालमन्दिर आधारभूत विद्यालय हाकिमटोलमा मतदान गर्नेछन् । एमाले नेता रामबहादुर थापाले भरतपुर–१० नारायणी नमूना माविमा मतदान गर्नेछन् । अर्का नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क–९, अर्घा रजस्थल मावि रासीचौरमा मतदान गर्ने छन् । 
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका–७ राम्जास्थित पशुपति माविमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् । 

यी नेताले आफैँलाई मतदान गर्न नपाउने

केही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूले आफैँलाई मतदान गर्न पाउने छैनन । मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैँलाई मतदान गर्न वञ्चित हुनुपरेको छ । 
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । त्यसैगरी आयुक्त ईश्वरीप्रसाद पौड्यालले ललितपुरको सानेपास्थित टीका विद्याश्रम माविमा मतदान केन्द्र र अर्का आयुक्त रामप्रसाद भण्डारीले अनामनगरस्थित मिलन विद्यामन्दिर केन्द्रमा मतदान गर्ने कार्यक्रम छ । आयुक्त डा जानकीकुमारी तुलाधरले सुन्दरबजार नगरपालिका–२ महेन्द्र मन्दिर मावि परेवाडाँडा लमजुङमा र आयुक्त सगुन शमशेर जबराले टोखा नगरपालिका–४ धापासीस्थित फैमालचुली मतदान केन्द्रमा मतदान गर्नेछन् ।

‘मतगणना सरल र सहज हुने’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार हुने निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरुपमा हुने विश्वास गरिएको छ ।
स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको प्रकृति र आकार सानो भएकाले मत गणनामा अलमल नहुने काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए । उनले भने, “हरेक निर्वाचन क्षेत्रअनुसार उम्मेदवार सङ्ख्याका आधारमा मतपत्र छपाई भएको छ, त्यसकारण यस पटकको मत गणना स्थानीय तहभन्दा सरल र सहज हुनेछ ।”
स्थानीय तहका लागि तयार गरिएको मतपत्रको आकार ठूलो थियो । निर्वाचन अधिकृतको कार्यालयले आयोगले अनुमान गरेको समयाधिभित्रै सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।
उम्मेदवारको सङ्ख्या धेरै, एउटै मतपत्रमा सातवटा स्वस्तिक छाप लगाउन पर्ने भएकाले पनि त्यस बेला मतगणना लम्बिएको थियो । यस पटकको निर्वाचनमा बेग्लाबेग्लै चार प्रकारका मतपत्र रहेको र प्रत्येक मतपत्रमा एक–एक स्वस्तिक छाप मात्र लगाउन पर्ने भएकाले पनि गणनामा निकै सहजता हुने अपेक्षा गरिएको छ ।
आयोगले छिटो, छरितो र पारदर्शीरुपमा मतगणना गर्न कार्यका लागि व्यवस्था मिलाउन यसअघि नै निर्देशन दिइएको छ । मतदान प्रक्रिया सकिएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन र भण्डारण गरिनेछ । त्यसपछि हुने सर्वदलीय र सर्वपक्षीय छलफलपछि सहमतिका आधारमा मतगणना प्रारम्भ हुनेछ । 
पर्याप्त सुरक्षासहितको मतगणनास्थलमा सुरुमै आवश्यकताअनुसार टोली खटाएर मतगणना प्रारम्भ हुनेछ । गणना टोलीमा चारदेखि पाँच जना कर्मचारी व्यवस्थापन गरी निरन्तर मतगणना हुनेछ । कतिपय निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको नतिजा एक–एक घन्टामा माइकद्वारा जानकारी गराइने व्यवस्था गरिएको पाइएको छ ।
सबैभन्दा पहिला मतगणना प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र त्यसपछि प्रदेशसभा पनि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको गरिने छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना हुनेछ ।
यसैबीच, काठमाडौँ डिल्लीबजारस्थित विजय स्मारक मतदान केन्द्रका ‘क’ का मतदान अधिकृत भगवान् उप्रेतीले निर्वाचनका लागि मतदान केन्द्र स्थापनाको तयारी पूरा गरी मतदान गर्न एक जनालाई कति समय लाग्दो रहेछ भनी पूर्वाभ्याससमेत गरेको जानकारी दिए । काठमाडौँका मुख्य निर्वाचन अधिकृत खतिवडाले जिल्लाका सबै १० वटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार