सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । अहिले बिहान सात बजेबाट सुरु हुने मतदान प्रक्रिया साँझ ५ बजे सकिने छ । मतदान प्रक्रिया सकिए पछि मत पेटिका जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन कार्यालयमा लगिने छ । काठमाडौं उपत्यकाका सबै क्षेत्रका मतपेटिका रातिसम्ममा जम्मा भइसक्ने छन् । मट पेटिका जम्मा भएलगत्तै सर्वदलीय बैठक बसेर निर्वाचन आयोगले आजैबाट मत गणना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरुपमा हुने विश्वास गरिएको छ । पर्याप्त सुरक्षासहितको मतगणनास्थलमा सुरुमै आवश्यकताअनुसार टोली खटाएर मतगणना प्रारम्भ गर्ने तयारी आयोगका छ । गणना टोलीमा चारदेखि पाँच जना कर्मचारी व्यवस्थापन गरी निरन्तर मतगणना हुनेछ । निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको नतिजा एक–एक घन्टामा माइकद्वारा जानकारी गराइने व्यवस्था गरिएको छ । सबैभन्दा पहिला मतगणना प्रतिनिधिसभाको प्रत्यक्षतर्फको र त्यसपछि प्रदेशसभा पनि प्रत्यक्षतर्फको गरिने छ । प्रत्यक्षतर्फको मतगणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना हुनेछ । स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको प्रकृति र आकार सानो भएकाले मत गणनामा अलमल नहुने काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बताए । उनले भने, “हरेक निर्वाचन क्षेत्रअनुसार उम्मेदवार सङ्ख्याका आधारमा मतपत्र छपाई भएको छ, त्यसकारण यस पटकको मत गणना स्थानीय तहभन्दा सरल र सहज हुनेछ ।” स्थानीय तहका लागि तयार गरिएको मतपत्रको आकार ठूलो थियो । निर्वाचन अधिकृतको कार्यालयले आयोगले अनुमान गरेको समयाधिभित्रै सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । उम्मेदवारको सङ्ख्या धेरै, एउटै मतपत्रमा सातवटा स्वस्तिक छाप लगाउन पर्ने भएकाले पनि त्यस बेला मतगणना लम्बिएको थियो । यस पटकको निर्वाचनमा बेग्लाबेग्लै चार प्रकारका मतपत्र रहेको र प्रत्येक मतपत्रमा एक–एक स्वस्तिक छाप मात्र लगाउन पर्ने भएकाले पनि गणनामा निकै सहजता हुने अपेक्षा गरिएको छ । आयोगले छिटो, छरितो र पारदर्शीरुपमा मतगणना गर्न कार्यका लागि व्यवस्था मिलाउन यसअघि नै निर्देशन दिइएको छ । मतदान प्रक्रिया सकिएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन र भण्डारण गरिनेछ । त्यसपछि हुने सर्वदलीय र सर्वपक्षीय छलफलपछि सहमतिका आधारमा मतगणना प्रारम्भ हुनेछ ।
नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत नवलपुरको दुवै निर्वाचन क्षेत्रका मतगणना कावासोतीमा हुने भएको छ । दुई वटा प्रतिनिधिसभा तथा चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको नवलपुरको मतगणना सदरमुकाम कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा हुने भएको हो । जिल्लाको छवटै क्षेत्रको मतगणना आठ वटा कोठाबाट एकसाथ गर्ने तयारी गरिएको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले बताए । जिल्लामा दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेका छन् । एक सय १३ मतदानस्थलमा तीन सय दुई मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ । क्षेत्र नं २ का निर्वाचन अधिकृत कमलराज पन्थीका अनुसार आज साँझसम्म मतदानस्थल निर्माण, फोटोसहितको मतदाता परिचयपत्र वितरण तथा सर्वलदलीय बैठक सकिएको छ । सबै मतदानस्थलमा भएको सर्वदलीय बैठकमा मतगणनालाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नका लागि दलका प्रतिनिधि तयार रहेका पन्थीले बताए । जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका मतगणनास्थलमा आएपछि सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना गर्ने तयारी गरिएको छ । पन्थीले मतगणना सुरु भएको पाँच दिनभित्र अन्तिम मत परिणाम घोषणा गरिने दाबी गरे । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मतदानस्थलमा हुनसक्ने हिंसात्मक गतिविधि रोक्नदेखि मतदानस्थलबाट मतगणनास्थलसम्म सुरक्षितरुपमा मतपेटिका ल्याउनका लागि सुरक्षाकर्मीलाई उच्च सतर्कता साथ राखिएको बताए । मतदान सकिएपछि आइतबार राति १२ बजेसम्म सबै मतपेटिका जिल्ला सदरमुकाम ल्याउनेगरी तयारी गरिएको उनले बताए ।
दाङमा तीन स्थानमा मतगणना गरिने दाङमा तीन निर्वाचन क्षेत्र रहेका छन् । तीन क्षेत्रका तीन स्थानमा मतगणना गरिने भएको छ । दाङका तीन निर्वाचन अधिकृतको कार्यालय मत गणनास्थलको तयारीमा जुटेको छन् । निर्वाचन क्षेत्र नं १ मा मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन र गणनाको लागि स्थल बनाउने काम सुरु गरिएको निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए । दाङ क्षेत्र नम्बर १ को मतगणना लमही नगरपालिकाको कार्यालयमा हुनेछ । “मतगणनाको समयमा अप्रिय घटना नहोस् भनेर तारजालीको घेरा लगाइएको छ”, उनले भने, “प्रतिनिधिसभाको दुई र प्रदेशसभाको दुई ठाउँमा एकैसाथ गणनाको व्यवस्थापन गरेका छौँ ।” त्यसैगरी क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिमा मतगणना गर्ने र सो स्थललाई तारजाली लगाउने, सिसी क्यामरा जडान गरेर सुरक्षित गर्ने काम भइसकेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । प्रत्यक्षतर्फको मतगणना सकिएपछि समानुपातिकको गणना सुरु हुनेछ । क्षेत्र नम्बर ३ को भूसंरक्षण कार्यालय तुलसीपुरमा गणना गरिने तयारी गरिएको छ । मत गणनास्थलमा तारजाली लगाउने र सिसी क्यामरा जडान गर्ने काम सकिएको क्षेत्र नं ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो । दाङमा निर्वाचन क्षेत्र नं ३ निर्वाचन क्षेत्रका तीनवटै क्षेत्रबाट मतगणना गर्न थालिएको हो । प्रत्येक घण्टा मतगणनाको अपडेट सार्वजनिक गरिनेसमेत निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दाङमा एक सय ५३ मतदानस्थल, चार सय ६५ मतदान केन्द्र छन् । दुईवटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । अस्थायी मतदान केन्द्रबाट कैदीबन्दीले मतदान गर्नेछन् दाङमा एक सय ५३ मतदानस्थल र चार सय ६५ मतदान केन्द्र रहेका छन् । चार लाख १४ हजार नौ सय ५६ जना मतदाता रहेका छन् ।