सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ । मुलुककै कम मतदाता रहेको हिमाली जिल्ला मनाङको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र मतदानका लागि तयार भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । “मनाङको सबैभन्दा बढी उचाइ (४,२०० मिटर)मा रहेको नार गाउँको मतदान केन्द्र मतदानका लागि तयार भएको छ । सम्भवतः नेपालको सबैभन्दा बढी उचाइमा भएको मतदान केन्द्र पनि यही नै होला”, शर्माले भने । उनका अनुसार यस मतदान केन्द्रमा कूल एक सय तीन मतदाता रहेका छन् । हिउँपर्ने समय भइसकेकाले उच्च हिमाली क्षेत्रमै मतदान केन्द्र तयार पारिएको उनी बताउँछन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था गरिएको बताए । “सुरक्षाका सम्पूर्ण व्यवस्थापन कडाइका साथ कार्यान्वयन हुनेगरी गरिएको छ । ढुक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गर्दछु”, उनले भने । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार छ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार छ सय ४७ मतदाता रहेका छन् । प्रदेश (१)मा चामे गाउँपालिका र नासों गाउँपालिका पर्दछ । प्रदेश (१)मा दुई हजार छ सय २४ र प्रदेश (२) मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।
मतदान गर्न गाउँ फर्किए मतदाता आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्मको अवधिमा पतपेटिकामा खस्ने मतले आउँदो पाँच वर्षलाई देशको नेतृत्व कसलाई सुम्पने भन्ने फैसला गर्नेछ । मतदानपूर्वको सबै व्यवस्थापकीय तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका दुई सय ३१ वटै मतदान केन्द्रमा ‘बुथ’ निर्माणको काम सकिएको छ । सर्वदलीय बैठकदेखि मतदानकेन्द्र केन्द्रित तयारीका सबै काम पूरा भएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । “मतदानका लागि आवश्यक सामग्रीसहित कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तम्तयार अवस्थामा छन्, समयमै मतदान सुरु हुन्छ”, उनले भने । निर्वाचन सामग्रीसहित, कर्मचारी, सुरक्षाकर्मी बिहीबार नै मतदान केन्द्रमा पुगिसकेका थिए । मतदानका लागि जिल्ला बाहिर रहेका मतदाता पनि मन परेको उम्मेदवारलाई मत दिन गाउँ फर्किएका छन् । काठमाडौँबाट मत दिन गलकोट आएकी हरिकला मरासिनीलेले हरेक चुनावमा मत दिन आफू गाउँ आउने गरेको सुनाइन् । “मन परेको पार्टी र उम्मेदवारलाई मत दिनु व्यक्तिको राजनीतिक अधिकार हो, यसको सदुपयोग गर्न टाढादेखि गाउँ आएकी छु”, उनले भनिन् । गत स्थानीय चुनावमा पनि परिवारसहित आएर मत खसालेको मरासिनीले बताइन् । गाउँघरमा स्थानीय चुनावको भन्दा आम चुनावको रौनक केही कम हुने गरेको कतिपयको बुझाइ छ । स्थानीय चुनावमा जसरी जिल्ला बाहिर रहेका मतदाता यो चुनावमा गाउँ भित्रिएका छैनन् । जसका कारण मत पनि कम खस्न सक्ने आँकलन गरिएको छ । निर्वाचन गराउन जिल्लाभर गरी १८ सय ५४ कर्मचारी र नौ सय २६ स्वयंसेवक खटिएका छन् । यहाँ कूल एक सय छ मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र रहेका छन् । जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता छन् । क्षेत्र नं १ मा ९६ हजार छ सय ६५ र क्षेत्र नं २ मा ९५ हजार पाँच सय ६१ मतदाता छन् । महिला मतदाता ९८ हजार छ सय ४३ र पुरुष मतदाता ९३ हजार पाँच सय ८४ छन् । प्रतिनिधिसभा सदस्यका दुई र प्रदेशसभा सदस्यका चार सिटका लागि यहाँ ३१ उम्मेदवार चुनावी मैदानमा छन् । मतदान सँगसँगै मतगणनाका लागि स्थल निर्माणदेखि अन्य तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन जिल्लाको सुरक्षा प्रबन्ध पनि चुस्त पारिएको छ । सुरक्षाका दृष्टिबाट कुनै कमी हुन नदिन सुरक्षा निकाय लागिपरेका छन् । जिल्लाका कूल एक सय छ मतदानस्थलमध्ये ३५ प्रतिशतलाई अतिसंवेदनशील, १५ प्रतिशतलाई संवेदनशील र ५० प्रतिशतलाई सामान्यमा वर्गीकरण गरी सुरक्षा रणनीति तयार पारिएको छ । मतदानस्थलको अवस्था र संवेदनशीलता हेरेर सुरक्षा योजना बनाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी रमेश ढकालले राज्यका चार वटै सुरक्षा निकायको समन्वयबाट सुरक्षा व्यवस्थापनको काम भइरहेको बताए । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी आठदेखि २२ जनासम्म सुरक्षाकर्मी एउटा मतदान केन्द्रमा परिचालन गरिएको छ । मतदान केन्द्रको भित्री सुरक्षामा जनपद र म्यादी प्रहरी खटिनेछन् भने बाहिरी सुरक्षा घेरामा भने सशत्र प्रहरी र नेपाली सेना रहनेछ । मतदानको पूर्वसन्ध्यासम्म आइपुग्दा जिल्लाभरको अवस्था सौहार्द र शान्तिपूर्ण रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।