सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम । मधेश प्रदेशका जिल्लामा आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य सुरू हुन सकेको छैन । प्रदेशका आठवटै जिल्लामध्ये कतिपय जिल्लामा मतगणना स्थलमा मतपेटिका सङ्कलन गर्ने र मतपेटिका रुजु गर्ने कार्य जारी रहेको तथा कतिपय ठाउँमा सर्वदलीय बैठकका कारण बिहान ८ बजेपछि मात्रै मतगणनाको तयारी भइरहेको छ । धनुषामा आजै रातिदेखि मतगणनाको प्रक्रिया सुरू हुने भनिए पनि सबै क्षेत्रको मतपेटिका सङ्कलन र रुजु गर्ने काम जारी रहेकाले बिहानदेखि मात्र मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । यसैगरी सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सम्भवतः बिहान आठ बजेपछि मात्रै मतगणना सुरू हुने हाम्रा स्थानीय समाचारदाताले जनाएका छन् ।
मधेश प्रदेशमा ६७ प्रतिशत मतदान
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा मधेश प्रदेशमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले आठवटै जिल्लामा औसत ६७ दशमलव ६९ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार धनुषामा ६५ दशमलव ७७, महोत्तरीमा ६२ दशमलव ६४ र सप्तरीमा ६२ प्रतिशत मत खसेको छ । त्यस्तै, सर्लाहीमा ६२ दशमलव १५, रौतहटमा ६७, बारामा ६६ दशमलव ८६, पर्सामा ६९ र सिरहामा ६६ दशमलव ७७ प्रतिशत मत खसेको छ । छिटपुट घटनाबाहेक मधेश प्रदेशमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको पनि प्रवक्ता तिम्सिनाले बताए । मधेश प्रदेशका आठ जिल्लामा ३२ वटा प्रतिनिधिसभा र ६४ वटा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा १८ लाख २७ हजार ८ सय ५४ जना पुरुष, १५ लाख ५८ हजार सात सय चार र अन्य ७० जना गरी कूल ३३ लाख ८६ हजार छ सय २८ मतदाता रहेका छन् । यहाँ दुई हजार १ सय ५६ मतदानस्थल र चार हजार दुई सय ३५ मतदान केन्द्र रहेका थिए ।