ललितपुरका क्षेत्र नं २ र ३ मा मतगणना सुरु

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । ललितपुरका दुईवटा निर्वाचन क्षेत्रमा मत गणना सुरु भएको छ । निर्वाचन क्षेत्र नं २ र ३ को मतगणना सुरु भएको हो ।  निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा क्षेत्र नं ३ को मतगणना थालनी गरिएको हो । 
ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ । अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ । 
सो क्षेत्रमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन् । 
ललितपुर २ मा मतगणना सुरु
ललितपुर निर्वाचन क्षेत्र नं २ को मतगणना भर्रखरै सुरु भएको छ । ललितपुरको सादोबाटोस्थित राष्ट्रिय खेलकूद परिषद्को परिसरमा रहेको मतगणनास्थलमा मतगणना थालिएको छ ।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार एउटै हलमा चार वटा गणनास्थल बनाएर मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिपछि बिहान ४ बजेदेखि मतगणना थालिएको उनले जानकारी दिइन् । 
“बिहान ४ बजेदेखि क्षेत्र नं २ को मतगणना सुरु गरिसकेका छौँ”, उनले भनिन्, “बिहान ५ बजे पहिलो मत परिणामको ‘अपडेट’ दिने तयारीमा छौँ ।” आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा ५० हजार ३४ मत खसेको थियो । 
सो क्षेत्रको प्रतिनिधिसभामा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जन चुनावी प्रतिस्पर्धामा छन् । 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार