सोसल मिडिया
Contact Us
युनिकोड
गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ। जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ । उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिश गरेको छ । आज बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ । क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, सहिदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतबार राति नै सदरमुकाम ल्याइसकिएको छ । क्षेत्र नं १ का मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ । क्षेत्र नं १ को गणना त्यहीँ हुनेछ । क्षेत्र नं २ को मतपेटिका सङ्कलन भइसकेको छ । क्षेत्र नं २ को लक्ष्मी बजारस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने सो क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए।
ताप्लेजुङका हिमाली गाउँका मतपेटिका हेलिकप्टरमार्फत ल्याउने तयारी
ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिइन् । भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो । फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा पुग्न नै सदरमुकामबाट चार दिनको समय लाग्छ । यसअघि सो ठाउँमा आइतबारसम्पन्न निर्वाचन गराउन गएको कर्मचारीको टोली चार दिनमा मात्र पुगेको थियो । यी चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउन निर्वाचन आयोग र गृह मन्त्रालयसँग समन्वय भएको जनाइएको छ । निर्वाचन सकिएलगत्तै ल्याउन साँझको समय पर्ने भएकाले सोमबार ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । करिब चार हजार दुई सय मिटरको उचाइमा पर्ने याङ्माको मतदान केन्द्रमा ६१ मतदाता छन् । यहाँ आइतबार भएको निर्वाचनमा १२ मत खसेको बताइएको छ । यहाँ करिब ४१ प्रतिशतको हाराहारीमा मतदान भएको अनुमान गरिएको छ । वास्तविक तथ्याङ्क भने सङ्कलन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा कूल मतदातामध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार दुई सय पाँच रहेका छन् । जम्मा एक सय २३ वटा मतदान केन्द्रबाट निर्धारित समयमा नै मतदान सुरु भएको थियो । प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले) का योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकी (पराग) बीच मुख्य प्रतिस्पर्धा छ । यस्तै प्रदेशसभा क्षेत्र (१) मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यस्तै प्रदशसभा क्षेत्र (२) मा एमालेका गोपाल थोप्रा र गठबन्धनबाट नेपाली कांग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा छ । सङ्घ र प्रदेशमा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।