अघिल्लो चुनावभन्दा करिब सात प्रतिशतले न्यून मतदान

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अघिल्लो पटकभन्दा यसपटक कम मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार यसपटक ६१ प्रतिशत मतदान भएको छ । जुन निर्वाचन आयोगले गरेको अपेक्षाभन्दा न्यून हो । विसं २०७४ मा मङ्सिर १० र २१ गते गरी दुई चरणमा गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६८ दशमलव ६७ प्रतिशत मतदान भएको आयोगको विवरण छ । यसपटकको निर्वाचनमा भएको मतदानको प्रारम्भिक विवरण हेर्दा अघिल्लो पटकभन्दा सात दशमलव ६७ बिन्दुले न्यून मतदान भएको देखिएको हो ।
त्यस्तै, यो निर्वाचनमा गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको तुलनामा पनि न्यून मतदान भएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा ६६ दशमलव ८६ प्रतिशत मत खसेको थियो ।
विसं २०७४ को चुनावमा अन्तिम मतदाता नामावलीमा नाम रहेका मतदाताको सङ्ख्या एक करोड ५४ लाख २७ हजार नौ सय ३८ थियो । जसमध्ये एक करोड पाँच लाख ९३ हजार नौ सय ९१ मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका थिए । 
यसपटकको चुनावमा अन्तिम मतदाता नामावलीमा रहेका मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको अघिल्लो चुनावमा भन्दा यसपटक थपिएका मतदाताको सङ्ख्या २५ लाख ६० हजारभन्दा बढी छ ।
निर्वाचन आयोगका अनुसार आइतबार केही स्थानको चुनाव भने स्थगित भएको छ । नवलपरासी पूर्वको देवचुली नगरपालिका–४ को शान्ति सिर्जना आधारभूत विद्यालय, सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–६ सिम्ता बहुमुखी क्याम्पस, गुल्मी जिल्लाको कालीगण्डकी गन्या भगवती मावि अर्वेनी र बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका नन्देश्वरी मावि पिपलचौरलगायत अन्य आठ स्थानसमेत गरी कूल १५ मतदान स्थलमा मतदान स्थगन भएको आयोगले जनाएको छ ।

म्याग्दीमा ५८ प्रतिशत मत खस्यो 

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी छ । 
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले सोमबार दिउँसोसम्म सबै ठाउँबाट मतपेटिका बेनी आइपुग्ने र त्यसपछि मतगणना सुरु गरिने बताए । धवलागिरी गाउँपालिका–१ गुर्जा र वडा नं ४ बगरको मतपेटिका ढुवानीका लागि हेलिकप्टर मगाइएको छ । अन्य ठाउँबाट स्थलमार्ग भएर गाडीमार्फत बेनीमा मतपेटिका ढुवानी भइरहेको छ । 
एक सय १९ मतदान केन्द्रमा ४२ हजार ५५ पुरुष र ४४ हजार ६४ महिला मतदाता रहेकामा २४ हजार तीन सय ३१ पुरुष र २६ हजार दुई सय ९३ महिलाले मतदानमा भाग लिएका जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । 
सबैभन्दा कम रघुगङ्गा गाउँपालिका–८ को कुइने माध्यमिक विद्यालयमा ३१.८३ प्रतिशत मत खसेको छ । तीन सय ३३ मतदाता रहेकामा एक सय छ मत खसेको छ । सबैभन्दा बढी रघुगङ्गा गाउँपालिका–४ दग्नामको जनता मावि मतदान केन्द्रमा ८४.६५ प्रतिशत मत खसेको छ । यहाँ सात सय ६२ मतदाता रहेकामा छ सय ४५ मत खसेको छ । 
अन्नपूर्ण गाउँपालिका–५ को शिख मावि बाहेकका मतदानस्थलमा साँझ ५ बजे मतदान सकिएको थियो । अपराह्न १२ देखि साँझ ४ः३० सम्म मतदान स्थगित भएको शिख माविमा साँझ ७ बजेसम्म मतदान भएको थियो । 
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भन्दा प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमा आठ प्रतिशत कम मत खसेको हो । वैशाख ३० मा भएको स्थानीय तह चुनावमा ६६.२३ प्रतिशत मत खसेको थियो । कूल ८५ हजार तीन सय ७५ जना मतदाता रहेकामा ५६ हजार पाँच सय ४३ मत खसेको थियो । खेतीबालीको काम र बजार क्षेत्रमा रहेका मतदाता मतदानस्थल नगएकाले कम मत खसेको बताइएको छ ।
अन्नपूर्ण गाउँपालिका–५ को प्रभा मावि मतदान केन्द्रमा तेस्रो लिङ्गी दिलु बुद्धुजा र मालिका गाउँपालिका–२ रुमको राष्ट्रिय मावि (क) मतदान केन्द्रमा एक सय सात वर्षीय जसमनी कामीले मतदान गर्नुभएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार