मधेश प्रदेशमा ६७ प्रतिशत मतदान 

सोमबार, मंसिर ५, २०७९
मयुर प्लाई
Global Ime Bank

जनकपुरधाम । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा मधेश प्रदेशमा ६७ प्रतिशतभन्दा बढी मतदान भएको छ । 
नेपाल प्रहरी मधेश प्रदेश कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले आठवटै जिल्लामा औसत ६७ दशमलव ६९ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । उहाँका अनुसार धनुषामा ६५ दशमलव ७७, महोत्तरीमा ६२ दशमलव ६४ र सप्तरीमा ६२ प्रतिशत मत खसेको छ । त्यस्तै, सर्लाहीमा ६२ दशमलव १५, रौतहटमा ६७, बारामा ६६ दशमलव ८६, पर्सामा ६९ र सिरहामा ६६ दशमलव ७७ प्रतिशत मत खसेको छ ।
छिटपुट घटनाबाहेक मधेश प्रदेशमा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको पनि प्रवक्ता तिम्सिनाले बताए ।
मधेश प्रदेशका आठ जिल्लामा ३२ वटा प्रतिनिधिसभा र ६४ वटा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा १८ लाख २७ हजार ८ सय ५४ जना पुरुष, १५ लाख ५८ हजार सात सय चार र अन्य ७० जना गरी कूल ३३ लाख ८६ हजार छ सय २८ मतदाता रहेका छन् । यहाँ दुई हजार १ सय ५६ मतदानस्थल र चार हजार दुई सय ३५ मतदान केन्द्र रहेका थिए ।

धनुषा–३ मा मतगणना जारी

मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ । अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ । 
उनका अनुसार यहाँ नेकपा (एमाले)का उम्मेदवार जुली महतो छ सय आठ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १० मतसहित तेस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह तीन सय २० मतसहित तेस्रो स्थान छन् । 
धनुषाका निर्वाचन क्षेत्र १, २ र ४ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । उनले सर्वदलीय बैठकको निर्णयअनुसार अहिले १० बजेपछि मतगणनाको तयारी भइरहेको पनि बताए । 
त्यसैगरी सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको जनाइएको छ ।

तेह्रथुममा मतपेटिका सङ्कलन हुँदै 
एक मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ५८ दशमलव ३ प्रतिशत मत खसेको छ । 
अहिले जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबैतिरको मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसी मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृत निराज शर्माले जानकारी दिए ।
प्रारम्भिक तथ्याङ्कअनुसार ४१ हजार नौ सय ५६ मत खसेको छ । २० हजार चार सय ७९ पुरुष र २१ हजार चार सय ७७ महिलाले मतदान गरेका छन् । 
तेह्रथुममा ७१ हजार नौ सय ३३ मतदाता छन् । २९ हजार नौ सय ७७ मतदाता मतदानमा सहभागी भएनन् । वैदेशिक रोजगारीमा रहेका, जिल्ला बाहिर भएका मतदाता तथा मतदानमा उत्साह नहुनुजस्ता कारणले मत कम खसेको हुन सक्ने अनुमान गरिएको छ ।
छपन्न स्थायी र एक अस्थायी गरी जम्मा ५७ मतदानस्थल र  ९३ स्थायी र एक अस्थायी केन्द्र गरी ९४ मतदान केन्द्र छन् । आइतबार सम्पन्न निर्वाचन तेह्रथुममा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार