सोसल मिडिया
Contact Us
युनिकोड
सप्तरी । प्रतिनिधिसभाअन्तर्गत सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता बढाएका छन् । पछिल्लो मत परिणामअनुसार उनले आठ हजार ४२० मत प्राप्त गरेका छन् । गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले तीन हजार ६३३ मत ल्याएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट लोसपाका जयप्रकाश ठाकुरले एक हजार ६३० मत प्राप्त गरेका छन् । हालसम्म १४ हजार ७६७ मतगणना भएकोमा ७७७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी जिल्लाको निर्वाचन क्षेत्र नं १ मा जसपा नेपालका नवलकिशोर साह एक हजार ६२० मतका साथ अगाडि छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका रामदेव साहले एक हजार ३८५ मतका साथ पछ्याइरहेका छन् । सुरुआती मतगणनामा अघि देखिएका जनमत पार्टीका जयकान्त राउतले ७५५ मत प्राप्त गरेका छन् । सप्तरीको क्षेत्र नं ३ मा कांग्रेसका दिनेशकुमार यादवले एक हजार ९२४ मत ल्याएर अगाडि छन् । उनका प्रतिस्पर्धी एमालेका ताराकान्त चौधरीले एक हजार दुई मत र जनमत पार्टीका अनिस अन्सारीले ४७७ मत प्राप्त गरेका छन् । सप्तरीको क्षेत्र नं ४ मा पनि कांग्रेसका तेजुलाल चौधरीले ३९४ प्राप्त गरेर अग्रस्थानमा रहेका छन् । यहाँ जसपाका बालकिशोर यादवले २१५ र जनमत पार्टीका सुकदेवप्रसाद साहले २०० मत ल्याएका छन् ।