कांग्रेस ३५, एमाले ३२, माओवादी ९, रास्वपा ८ अग्रस्थानमा (अपडेट )

मंगलबार, मंसिर ६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ ।  प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ भने नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ । कांग्रेसले हिमाल पारीका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नं २ मा जित हासिल गर्दै खाता खोलेको छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । 

नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइ राजनीति सुरु गरेका २९ वर्षे उनी पर्यटन व्यवसायीसमेत हुन् । उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पाएको टिकटबाट लडेका थिए । साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ । मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्वराज्यमन्त्री हुन् ।

नेकपा एमालेले भने ललितपुरबाट जितको खाता खोलेको छ । ललितपुर क्षेत्र नं २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन् । उनले १५ हजार २५ मत प्राप्त गरे । निर्वाचन आयोगका अनुसार आज रात १ बजेसम्म नेपाली कांग्रेस ३५ वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छ । साथै, नेकपा (माओवादी केन्द्र) ९ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ८ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ स्थानमा र अन्य १९ स्थानमा अग्रता कायम गरेका छन् । प्रदेशसभा मुस्ताङको दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ । प्रदेशसभा १ मा नम्डू गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी भएका छन् । मनाङको प्रदेशसभा १मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् भने प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म प्रदेशसभामा कांग्रेस ७ स्थानमा, एमाले ६ स्थानमा अग्रस्थानमा छन् । साथै राप्रपा २, नेकपा (एकिकृत समाजवादी) २ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ०४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार