ललितपुर–३ मा तोसिमा मतान्तर बढाउँदै, प्रदेशतर्फ (क) मा एमाले र (ख) मा राप्रपाको अग्रता
काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ को मत गणना पेचिलो बन्दै गएको छ । प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले नेकपा एमालेका अमृत खड्कासँग अग्रता बढाएकी छन् ।
तोसिमाले ५ हजार १२३ मत ल्याउँदा एमालेका खड्काले ३ हजार ९५९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार २९३ मत प्राप्त गरेकी छिन् ।
ललितपुर क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा (क) मा नेकपा एमालेका रघुनाथ महर्जनले अग्रता कायमै राखेका छन् । उनले २ हजार २ सय ३३ मत ल्याएका छन् ।
उनलाई नेकपा माओवादी केन्द्रका राजकाजी महर्जनले पछ्याइरहेका छन् । उनले २ हजार ०५२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विनोदकुमार खड्काले १ हजार ३६० मत ल्याएका छन् ।
प्रदेशसभा (ख) मा राप्रपाका सविनकुमार खड्काले अग्रता लिएका छन् । उनले १ हजार ६९९ मत ल्याएका छन् । दोस्रो स्थानमा नेकपा एमालेका प्रेमभक्त महर्जन छन् । उनले १ हजार ५५७ मत ल्याउँदा नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले १ हजार ५४२ मत ल्याएर तेस्रो स्थानमा छन् ।