सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल विजयी भएका छन् । पौडेलले १५ हजार दुई सय ३७ मत ल्याएर विजयी भएको सो क्षेत्रका मतदान अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कमलकान्त जोशीले जानकारी दिए ।पौडेलका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले १० हजार एक सय ७५ मत प्राप्त गरे । पौडेलले पाँच हजार ६२ मतले पोखरेललाई पराजित गरेका हुन् । पौडेल पहिलोपटक प्रतिनिधिसभामा विजयी भएका हुन् । सो क्षेत्रमा कुल ७० हजार नौ सय १९ मतदाता रहेकामा ४५ हजार नौ सय ७८ मत खसेको थियो । त्यसमध्ये ४४ हजार चार सय सात मत सदर भएको थियो । सतचालीस वर्षीय पौडेल विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २(१) बाट न्यून मतान्तरले पराजित भएका थिए । पाँच वर्षपछि पौडेलले संसदीय राजनीतिमा अनुभव भएका एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गरेका हुन् । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष पौडेल युवापुस्ताका आशालाग्दा नेता हुन् । राजनीतिप्रति गहिरो चिन्तन, सरल र प्रखर व्यक्तित्वले पौडेलको राजनीतिक यात्रालाई अहिलेको उचाइमा पु¥याएको हो ।
काठमाडौँ–६ प्रदेश ९१०मा कांग्र्रेसकी हरिप्रभा खड्गी विजयी
काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज राति सम्पन्न प्रदेशसभा (१) को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले राससलाई जानकारी दिइन् । यस्तै नेकपा एमालेका उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतसागर महर्जनले तीन हजार सात सय ९८ मत प्राप्त गरे । विजयी खड्गी यसअघि विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाबाट उपप्रमुखमा विजयी भएकी थिइन् । काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७, २८ र टोखा नगरपालिकाको ९ र १० वडा रहेको सोही क्षेत्रमा १५ हजार सात सय १५ मत खसेको थियो ।