सोसल मिडिया
Contact Us
युनिकोड
डुम्रे । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनानुसार तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले मतान्तर बढाएका छन् । नेता पौडेलले एक हजार एक सय ३२ ले मतान्तर बढाएका हुन् । १८ हजार तीन सय ५३ मतगणना गर्दा कांग्रेसका वरिष्ठ नेता पौडेलले छ हजार आठ सय तीन मत पाएका छन् । त्यस्तै नेकपा एमालेका एकबहादुर रानाले पाँच हजार छ सय ७१ मत प्राप्त गरेका छन् । निर्वाचन क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा ६६ हजार नौ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । तनहुँ–१ प्रदेशसभा (१) को आठ हजार पाँच सय २९ मतगणना गर्दा कांग्रेसका अशोककुमार श्रेष्ठले तीन हजार छ सय १२ मत प्राप्त गरेका छन । उनका प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले दुई हजार चार सय ९२ मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका विद्या ढकालले चार सय ४५ मत पाएकी छन् । तनहुँ–१ प्रदेशसभा (१) तर्फ ३६ हजार तीन सय ६५ मत खसेको छ । तनहुँ–१ प्रदेशसभा (२) मा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले दुई हजार सात सय २६ मत पाएका छन् । एमालेका पूर्णबहादुर गुरुङले एक हजार पाँच सय दुई मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवारले सुरुआती चरणबाट नै अग्रता कायमै राखेका छन् । तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता छन् ।
तनहुँ–२ कांग्रेसका शंकर भण्डारीको पाँच हजारको अग्रता तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले करिब पाँच हजार मतान्तरले अग्रता लिएका छन् । मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार भण्डारीले चार हजार नौ सय नौ मतको अग्रता लिएका हुन् । कुल खसेको ६८ हजार एक सय ७३ मतमध्ये प्रतिनिधिसभामा ५७ हजार आठ सय ८७ मतगणना सम्पन्न भएको छ । भण्डारीले २६ हजार पाँच सय १७ मत प्राप्त गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भण्डारीले सुरुआतदेखि नै अग्रतालाई कायम राखेका छन् । प्रतिस्पर्धी नेकपा एमालेका किरण गुरुङले २१ हजार छ सय आठ मत प्राप्त गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले चार हजार एक सय ७३, राप्रपाका नरेन्द्रप्रताप महतले एक हजार एक सय ४४ मत प्राप्त गरेका छन् । प्रदेशसभा (१) तर्फ नेकपा एमालेका श्यामराजा महतले अग्रता लिएका छन् । २४ हजार एक सय ३४ मतगणना सकिँदा महतले नौ हजार छ सय ८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेले नौ हजार एक सय ६८ मत प्राप्त गरेका छन् । प्रदेशसभा (२) तर्फ कांग्रेसका जीतप्रकाश आलेले अग्रता लिएका छन् । अठार हजार चार सय ८८ मतगणना सकिँदा आलेले आठ हजार छ सय ७० मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी एमालेका केदार सिग्देलले आठ हजार तीन सय ४५ मत प्राप्त गरेका छन् ।