सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुरधाम । जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर ११, १२ र १३ गतेसम्म रेल सेवा दैनिक तीन सिफ्ट चलाइने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री तथा भक्तजनको सुविधालाई मध्यनजर गरी तीन दिन बिहान ८ः३० बजे जयनगरबाट कुर्था, बिहान १०:४५ बजे कुर्थाबाट जयनगर, पुनः १२ः३० बजे जयनगरबाट जनकपुरधाम, दिउँसो १ः४० जनकपुरबाट जयनगर तथा दिउँसो ३ बजे जयनगरबाट कुर्था र बेलुका ५ः१५ बजे कुर्थाबाट जयनगर रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिए । जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर रेलमार्गमा गत २०७८ चैत २० गतेदेखि नियमित रेल सेवा सञ्चालन भइरहेको छ । सो मार्गमा चल्ने रेल सेवाको गत २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए । त्यसयता रेल सेवा दैनिक दुई पटक आउने र दुई पटक जाने गरिरहेको छ ।