म्याग्दीमा कांग्रेसका खमबहादुर गर्बुजा विजयी

बिहीबार, मंसिर ८, २०७९
मयुर प्लाई
Global Ime Bank

गलेश्वर । म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) विजयी भएका छन् ।  गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन अन्तर्गत उनले  आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा तीन हजार आठ सय ३२ मत बढी ल्याएर प्रतिनिधिसभा सदस्य पदमा  निर्वाचित भएका हुन् । 
प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गर्बुजाले  २४ हजार २१ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ  । जिल्लामा कूल ५० हजार छ सय २५ मत खसेकोमा गबुर्जाले २४ हजार २१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी  एमालेका  श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरे । गत सोेमबार राति ९ बजेदेखि मत गणना सुरु गरिएको थियो । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा गर्बुजाले सुरुआती चरणदेखि नै अग्रता लिँदै आएका थिए । 
जिल्लाभरी  ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो ।

२३ वर्षपछि म्याग्दीमा कांग्रेसको जीत

नेपाली कांग्रेस म्याग्दीले २३ वर्ष पछि पहिलो पटक जिल्लामा प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको छ । यसअघि कांग्रेसले २०५६ सालमा जीत हासिल गरेको थियो । आसन्न निर्वाचनमा म्याग्दी कांग्रेसका सभापतिसमेत रहेका खमबहादुर गर्वुजा (खमवीर) तेस्रो पटकको प्रयासमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 
विसं २०५६ मा नेपाली कांग्रेसको तर्फबाट नेपाली सेनाका सेवा निवृत्त म्याग्दीका कर्नेल नारायणसिं पुन विजयी भएका थिए । गर्वुजा यसअघि विसं २०७० को आमनिर्वाचनमा नेकपा एमालेका नवराज शर्मा र २०७४ सालको निर्वाचनमा एमालेकै भूपेन्द्रबहादुर थापासँग पराजित भएको थिए ।  
त्यसैगरी विसं २०६४ मा समानुपातिकतर्फ नाम सिफारिस हुनुभए पनि सांसद हुन भने पाएनन् । तर आइतबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक–वामगठबन्धनको तर्फदेखि उम्मेदवार बनेका  गर्बुजाले तेस्रो प्रयासमा फराकिलो मतान्तरले विजय प्राप्त गरेका छन् । 
गर्बुजाले २४ हजार २१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार एक सय ८९  मत प्राप्त गरे । जिल्लामा ८६ हजार एक सय २० मतदाता रहेकोमा  ५० हजार छ सय २५ मत खसेको थियो ।
निर्वाचित भएसँगै गर्बुजाले आफ्नो जीतलाई म्याग्दीवासीको जित भएको बर्ताए । “म जनताको सेवक भएर काम गर्ने छु, मेरो सामथ्र्यले भ्याएसम्म म्याग्दीलाई विकासको फल चखाउने प्रयास गर्ने छु”, उनले भने । 
गर्बुजाले बेलायती सेनाबाट अवकाश लिई विसं २०५४ मा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा राजनीति गर्दै आएको छन्। विसं २०५४ मा तरुणदलको सदस्यता लिएर म्याग्दीको विकासका लागि होमिनुभएका गर्बुजाको २०२२ सालमा रघुगङ्गा गाउँपालिका–४ मा पर्ने दग्नाम गाउँमा जन्मेका हुन् । 
गर्बुजा २०६७ सालमा सम्पन्न नेपाली कांग्रेस म्याग्दीको पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमितिको उपसभापति र २०७२ सालमा सम्पन्न छैठौंँ जिल्ला अधिवेशन र २०७८ सालमा सम्पन्न सातौंँ जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएको थिए । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार