सोसल मिडिया
Contact Us
युनिकोड
सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथाक्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएर चिसो मौसम सुरु भएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू सिजन सकिएसँगै सुनसान बनेका छन् । पर्यटनको मध्य सिजनमा धेरै पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौधौ परेका होटल व्यवसायीहरू समेत यतिखेर फुर्सदिला बनेका छन् । खुम्बु क्षेत्र भित्रिने पर्यटकको सङ्ख्या बढ्दा पर्यटकको भारी बोक्ने खच्चड र भरियाको ताँतीले भरिभराउ खुम्बु क्षेत्र यतिखेर सुनसान जस्तै बनेको स्थानीय होटल व्यवसायी याङजी शेर्पाले बताए । खचाखच पर्यटक र भरिया भेटिने साँघुरा पदमार्गहरूमा अहिले सीमित पर्यटक मात्रै भेटिने गरेको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कलाई हेर्दा पछिल्लो एक सातामा एक हजार तीन सय ९० जना पर्यटक भित्रिएका छन् भने दुई हजार एक सय सातजना बाहिरिएका छन् । पिक सिजनमा दैनिक सात सय जनासम्म पर्यटक भित्रिने गरेको खुम्बुमा अहिले भित्रिने पर्यटकभन्दा बाहिरी पर्यटकको सङ्ख्या अधिक रहेकोे निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिनुभयो । पर्यटकको अवागमन न्यून भएसँगै निकुञ्ज चेकपोष्टका कर्मचारीहरू पनि केही फुर्सदिला बनेका छन् । पर्यटकहरू फर्किएसँगै होटल व्यवसायीहरू पनि खुम्बु क्षेत्रबाट बाहिरिने क्रम बढेको छ । खुम्बु क्षेत्रका नागरिकहरूको मुख्य आम्दानीको स्रोत नै पर्यटन भएकाले सिजन सकिएसँगै चिसो छल्नकै लागि यहाँका होटल व्यवसायीहरू बेसिजनमा जिल्लाबाट बाहिरिने गरेका छन् । सिजनमा कडा मेहनत गर्ने र ‘अफसिजन’मा रमाइलो, घुमफिर, भ्रमणलगायतका कार्यमा समय बिताउनु यहाँका नागरिकहरूको विशेषता जस्तै बनेको छ ।