होमस्टेका पहुनाको रोजाइमा आलुको ढिँडो 

शनिबार, वैशाख १८, २०७८

ओखलढुङ्गा । ओखलढुङ्गाको जन्तरखानीस्थित ठाडे मगर सामुदायिक घरबास (होमस्टे)का पहुनाको रोजाइमा आलुको ढिँडो (रिल्दुक) पर्ने गरेको छ । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको होमस्टेमा आउने सबैजसो आन्तरिक तथा बाह्य पर्यटक रिल्दुकसँग रमाउने गरेका हुन् ।  गाउँमै फल्ने अग्र्यानिक आलुबाट बनाइने रिल्दुक नयाँ स्वादको भएकाले मीठो लागेको बुटबलका प्रवेश काफ्लेले बताए । ‘पहिलो पटक यहाँ आएपछि आलुको रिल्दुक भन्ने सुनियो, खुब मीठो हुन्छ भनेको सुनेर चाख्न मागेको खुब स्वादिलो रहेछ, टन्न खाइयो’, काफ्लेले भने, ‘जङ्कफुड र बजारे मम चाउमिनले वाक्क भएका हामीलाई यहाँको अग्र्यानिक आलु र यसको परिकार अमृत जस्तो हुने रहेछ ।’ स्थानीय उत्पादनका परिकारको स्वाद चाख्न पाउँदा फेरि–फेरि आउँ लाग्ने बनाएको काफ्लेले बताए । बारीका कान्लामा भेटिने भिटामिनयुक्त सिस्नु, कोदोको ढिँडो, मकैका च्याँख्लाको भात, लोकल भाले, लेकमा फल्ने सेतो सिमी र बुङका आलुको परिकार ठाडे मगर होमस्टेका खानाका विशेषता हुन् । नेपालका विभिन्न जिल्लाबाट आएका र विदेशी पाहुनाले पनि आलुको रिल्दुकलाई मुख्य परिकारका रूपमा खाने गरेका छन् ।  आलु पकाएर ताछेर काठको ढिकीमा राम्रोसँग केही बेर कुटेर लेदो बनाएपछि सोल्दरमा राखेर स–साना टुक्रा बनाई खाने परिकारलाई रिल्दुक भनिन्छ । ठाडे क्षेत्रमा बुङको आलु फल्ने भएकाले त्यस्तो आलुको रिल्दुक विशेष मानिन्छ । बुङको आलु एक ठाउँमा २ वर्षमा एकपटक रोपिन्छ । माटो पोलेर खसानी बनाई खरानी सहितको माटोको ढिस्कोभित्र रोपिएको आलु रिल्दुकका लागि उपर्युक्त हुन्छ । बुङको आलु ओखलढुङ्गाको लेकाली क्षेत्रमा बढी उत्पादन हुन्छ । 
होमस्टेमा आउने सबैजसो पाहुनाले शुरुमा आलुको रिल्दुक खान खोज्छन् । आलुको रिल्दुक चाखेका आगन्तुकले कोशेलीका रूपमा यहाँको आलु किनेर लाने गरेको सिद्धिचरण नगरपालिका–६ जन्तरखानीका श्यामकुमार मगरले बताए । ‘पहिला–पहिला यहाँको आलुको कुनै मुख्य थिएन । अहिले निकै बहुमूल्य बन्यो’, मगरले भने, ‘सडकको विकास भएपछि व्यापारीहरूले लैजान्थे । अहिले त यात्रामा आउनेले पनि यहाँको आलु किनेर लैजान्छन् ।’ बीउका रूपमा रोप्न नेपालका विभिन्न ठाउँमा यहाँको आलु निकासी हुन थालेको छ ।  सिद्धिचरण नगरपालिका–६ जन्तरखानीस्थित ठाडेमा जिल्लाकै पहिलो शुरु गरेको होमस्टेले स्थानीयवासी आलुलाई प्रवद्र्धन गरिरहेको ठाडे मगर सामुदायिक होमस्टेका अध्यक्ष पारस मगरले बताए । मगरका अनुसार आन्तरिक तथा बाह्य आगन्तुक पाहुनालाई स्थानीय उत्पादनका आलुु, मकै, कोदो, फापर, सिस्नु, च्याउ, लोकल कुखुरा, कोदोको ढिँडो, गुन्द्रुकको परिकार होमस्टेको विशेषता रहेको छ । यहाँ आइपुग्ने पर्यटकले सिस्नोसँग मकैको ढिँडो, आलुको रिल्दुक, थेन्दुक, गाउँमा उत्पादन भएको साग, गाई भैँसीको दूध, दही, मोही र गोलभेँडाको अचार र लोकल कुखुराको मासु रोजेर खान पाउँछन् ।  होमस्टेमा पुग्ने पाहुनालाई स्थानीयवासीले गर्ने सम्मान र सत्कार झनै लोभ लाग्दो छ । साँझको बेला आँगनमा गाउँले भेला भएर सांस्कृतिक तथा मारुनी नाचमा रमाइलो गर्न पाउँदा धेरैको मन लोभिन थालेको छ । ओखलढुङ्गा सदरमुकाम हँुदै सोलुखुम्बु जाने मुख्य मार्गमा पर्ने ठाडेमा स्थानीय मगर समुदायले सामूहिकरूपमा होमस्टे शुरु गरेका हुन् । ठाडे हुँदै सोलुखुम्बु जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी ठाडेका नौ परिवारले होमस्टे सञ्चालन गरेका छन् ।  सात घरमा खाना सुविधा र दुई घरमा पर्यटकका लागि अग्र्यानिक कोशेली घर सञ्चालनमा ल्याएका छन् । ठाडेबजार सुमुन्द्री सतहदेखि करीब दुई हजार ९०० मिटर उचाइमा पर्दछ । सोलुखुम्बुको पत्ताले नजीक पर्ने ठाडेबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । सगरमाथालगायत अन्य अग्ला हिमाल पहाड तथा भूभागहरूको अवलोकन गरेर यहाँ बास बस्नका लागि उपयुक्त रहेको ठाडे मगर सामुदायिक होमस्टेका उपाध्यक्ष हरिकुमार मगरले बताए ।  ओखलढुङ्गा सदरमुकामबाट गाडीमा करीब ४५ मिनेटको दूरीमा रहेको ठाडे मगर सामुदायिक  होमस्टेले पर्यटकलाई लोभ्याउन थालेको छ । गाउँको रमणीय दृश्य, पारिवारिक वातावरण, स्थानीय परिकार र संस्कृतिले आन्तरिक मात्र नभई, विदेशी पर्यटकहरूलाई पनि आकर्षित गर्न थालेको छ । होमस्टे सञ्चालनमा आएपछि स्थानीय युवा तथा महिलाहरू स्वरोजगार बनेका छन् । घरमै बसेर आम्दानी हुन थालेपछि स्थानीय परिकारहरू बनाउनमा उनीहरू व्यस्त छन् । ‘यहाँका मान्छेहरू काम खोजेर सोलुका लुक्ला, नाम्चे र काठमाडौँसम्म पुग्थे । अहिले त घरैमा होमस्टे चलाएर खाना, खाजा बनाएर राम्रो कमाई गरिरहेका छन्’, उपाध्यक्ष मगरले भने, ‘पर्यटन प्रवद्र्धन गरेर गाउँको विकास र यहाँको स्थानीय उत्पादनको बजारीकरण हाम्रो उद्देश्य हो । अहिले यहाँका सबै घरका युवा र गृहिणीले घरैमा रोजगारी पाएका छन् ।’ जिल्लामा पहिलो पटक होमस्टे चलाइएकाले धेरै काम सिकाइकै रूपमा रहेको उनको भनाइ छ ।  नमूनाका रूपमा अहिले नौ घरमा मात्र सञ्चालनमा गरिएको होमस्टे अपेक्षा गरेभन्दा धेरै पर्यटक आउन थाले विस्तार गर्ने योजना रहेको समितिले जनाएको छ ।  मगर समुदायको पहिचानसमेत स्थापित गराउने गरी होमस्टे शुरु गरिएको छ । होमस्टेमा आएका पाहुनालाई अग्र्यानिक खाना खुवाएर पारिवारिक वातावरणमा राखिने र अग्र्यानिक खाद्य वस्तु कोशेलीका रूपमा दिएर पठाउने गरिएको छ ।  होमस्टे शुरु गरिएको क्षेत्रमा अहिले विद्युत् सुविधा पुगेको छ । पर्यटकीय क्षेत्रका रूपमा चिनिएको ठाँडेमा दिनानुदिन नयाँ संरचना निर्माण र सम्भाव्यता बढ्दै गएको छ । थप आधारभूूत भौतिक विकास नहुँदा समस्या भएको स्थानीय युवा समाजसेवी मनोज मगरले बताए ।   खोटाङको हलेसी आउने र विश्वको सर्वोच्च शिखर सगरमाथा जाने पर्यटकको समेत गन्तव्य मार्गमा पर्ने ठाडेको होमस्टेमा पाहुनाको घुइँचो लाग्न थालेको छ । आलुको रिल्दुकले चिनिएको होमस्टेलाई प्रवद्र्धन गर्न यो क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्न थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका कृषिका योजनाहरू जन्तरखानी क्षेत्रमा लागू भएका छन् । आलु उत्पादन, भण्डारण र बजारीकरणमा सहयोग गर्न आलु जोन कार्यक्रम लागू गरिएको छ । सरकारी तवरबाट आलु उत्पादनमा आर्थिक तथा प्राविधिक सहयोग पाएपछि स्थानीयवासीले व्यावसायिक आलु खेती गर्न थालेका छन् ।
स्थानीय सरकारले पनि होमस्टे प्रवद्र्धनका नीति बनाउने भएको छ । युगकविको जन्मभूमि ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकालाई साहित्यिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए । ‘होमस्टे सहितका पर्यटकीय प्रवद्र्धनात्मक व्यवसाय प्रवद्र्धन गर्ने र सिद्धिचरण नगरपालिकालाई साहित्यिक पर्यटकीय गन्तव्य बनाउने योजना छ”, नगरप्रमुख श्रेष्ठले भने, ‘सरकारले मात्रै सबै काम गर्छ भन्ने आशा गरेर पुग्दैन । सबैले आ–आफ्नो ठाउँबाट समृद्धिको अभियानमा योगदान गर्नुपर्छ ।’ 
नगरगेट, भ्यूटावर, स्रष्टापार्क, मठमन्दिरसहितका पर्यटकीय पूर्वाधार विकासले नगरपालिका पर्यटकीय गन्तव्य बनेको उनको भनाइ छ । ठाडेमा होमस्टे खुलेपछि जिल्लामा आगन्तुकलाई बसोबास गर्न सहज भएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  २२:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार