स्वास्थ्य बीमा; 'सहज छैन सेवा लिन'

बुधबार, मंसिर २१, २०७९

रेसुङ्गा । स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ । पालो आएपछि टोकन पाइन्छ । टोकन पाएपछि पनि लाइनमै बसेर नाम दर्ता गराउनुपर्छ । नाम दर्तापछि टिकट पाइन्छ । टिकट लिएपछि पनि फेरि लाइनमै बसेर भित्र कोठामा टिकट दिनुपर्छ । टिकट भित्र दिएपछि बाहिर साँघुरो गल्लीमा घण्टौँ कुर्नुपर्छ । अनि बल्ल पालो आउँछ, एउटा बिरामीको स्वास्थ्य जाँच गर्न ।
अस्पतालमा हुने यस्तै झन्झटिलो प्रक्रिया झेल्न बाध्य हुनुभयो, गुल्मीको रेसुङ्गा नगरपालिका–७ का सुलोचन थापा । “स्वास्थ्य बीमाका कारण उपचारमा सहज भए पनि प्रक्रिया धेरै झन्झटिलो छ”, उनी भन्छिन्, “बिरामी भएर अस्पताल आउने हो, छिटो र सहज हुनुप¥यो”, उनले भने । बीमाका कारण आर्थिक राहत भए पनि सरकारी अस्पतालको उपचारमा ढिलाइ हुने थापाले बताए । 
स्वास्थ्य बीमा गरेर पनि औषधि बाहिर किन्ने बाध्यतामा हुनुहुन्छ, रेसुङ्गा नगरपालिका–७ का ७३ वर्षीय चुरामणि आचार्य । उनले सुरुआती चरणमा नै स्वास्थ्य बीमा गरेका थिए । बीमाका कारण उनी सधैँ उपचारका लागि गुल्मी अस्पतालमै धाउछन् । “आउँछु बीमाको कार्ड देखाउँछु ज्येष्ठ नागरिक भनेर छिटो–छरितो गर्छन् समयमै उपचार पाउँछु”, उनी भन्छन्, “आधाभन्दा बढी औषधि बाहिर किन्न भन्छन्, यसरी त स्वास्थ्य बीमाको के अर्थ भयो र ?” उनले भने । स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनुपर्ने आचार्यको भनाइ छ ।
मुसिकोट नगरपालिका–२ देउरालीका इन्द्रबहादुर रायमाझी पनि स्वास्थ्य बीमा गरे पनि सबै औषधि निःशुल्क नपाएकामा चिन्तित छन् । स्वास्थ्योपचार निःशुल्क हुने आशामा बीमा गरेको भन्दै रायमाझीले बीमा गर्नेहरूको उपचार निःशुल्क भएमा स्वास्थ्य बीमा अझै बढी प्रभावकारी हुने बताए ।
रेसुङ्गा–१४ का एलिसा पाण्डे भने उपचारमा आफू सन्तुष्ट रहेको बताउँछन ्। उपचारमा केही ढिलाइ भए पनि स्वास्थ्य बीमाका कारण आर्थिक हिसाबले कमजोर भएकाहरू पनि उपचारको पहुँचमा पुगेको उनको भनाइ छ । “केही कमी–कमजोरी रहे पनि स्वास्थ्य बीमामार्फत हुने उपचारको सेवा राम्रो छ”, उनी भन्छन्, “सबैले अनिवार्य स्वास्थ्य बीमा गर्नुपर्छ”, पाण्डेले  भने । नियमित औषधि प्रयोग गर्ने दीर्घरोगी र आकस्मिक बिरामी हुनेहरूलाई पनि स्वास्थ्य बीमाले धेरै राहत दिने भएकाले स्वास्थ्य बीमाबाट छुट्न नहुने उनको भनाइ छ ।
अस्पतालमा आकस्मिकबाहेक अन्य बिरामीका लागि भने स्वास्थ्य बीमा भए पनि वा नभए पनि उपचारको प्रक्रिया एकनासको रहेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार गुल्मीमा बीमा गर्नेहरूको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७६-७७ मा सात हजार आठ सय १७, २०७७-७८ मा ५८ हजार तीन सय ९२ र २०७८-७९ मा ९७ हजार दुई सय ४३ जनाले स्वास्थ्य बीमा गराएको बीमा बोर्डका दर्ता अधिकारी धुव्रराज बोगटीले जानकारी दिए ।
“तोकिएका रोगको मात्र उपचार हुने र तोकिएका औषधि मात्र निःशुल्क पाउने हो”, उनी भन्छन्, “पोलियोबाट हुने अपाङ्गता, दाँतसम्बन्धीको रोग, सेतो छडी र वैशाखीलगायत केहीको शुल्क तिर्नुपर्छ”, उनले भने । स्वास्थ्य बीमा गरेपछि सबै रोगको उपचार र सबै औषधि निःशुल्क पाउनका लागि नीति नै परिवर्तन गर्नुपर्ने दर्ता अधिकारी बोगटीले बताए । स्वास्थ्य बीमा गर्नका लागि प्रत्येक वडामा रहेका दर्ता अधिकारीसँग सम्पर्क गर्न सकिन्छ । जिल्लाका ९३ वडामा एक–एक जनाका दरले दर्ता अधिकारी छन् । 

‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’

कञ्चनपुरको बेदकोट नगरपालिका–१ का चन्द्रदेव जोशी स्वास्थ्योपचारका लागि स्वास्थ्य बीमा गराएको कार्डसहित महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुगे । 
अस्पतालमा बीमा कार्ड देखाउँदै उनले निःशुल्क सेवा लिन खोजे। तर अस्पतालको फार्मेसीमा भएका कर्मचारीले उनलाई औषधिवापतको शुल्क लाग्ने जानकारी दिए । उनी एक हजार आठ सय रुपैयाँ बराबरको औषधि खरिद गरेर फर्किए । 
“स्वास्थ्य बीमा गर्दा निःशुल्क औषधि मिल्छ उपचार हुन्छ भन्यो तर अस्पतालमा आउँदा शुल्क लिन्छन्”, उनले भने, “सहुलियत नपाउने बीमा गरेर के फाइदा ।” उनीसँगै अस्पतालमा भेटिनुभएका जानकीदेवी भट्टले पनि स्वास्थ्य बीमाको सहुलियत औषधि नपाएको गुनासो गरिन् ।   उनले बीमा गराउँदा सरकारी अस्पतालमा उपचार र औषधि निःशुल्क मिल्ने बताए पनि सेवा लिन नपाएको गुनासो गरे ।
“बीमा गरेको कार्ड देखाउँदा कहिले औषधि छैन भन्छन्, कहिले शुल्क लिन्छन्”, उनले भनिन्, “स्वास्थ्य बीमा गरेवापतको सेवा हामीले पाउनुपर्छ ।” उपचारकै लागि अस्पतालमा पुग्नुभएका भीमदत्त नगरपालिका–६ का कविराज भट्ट पनि स्वास्थ्य बीमा कार्यक्रमको निःशुल्क औषधि नपाएको बताउँछन् । “हामीलाई आवश्यक औषधि अस्पतालमा पाइँदैन जहिल्यै अभाव छ भन्नुहुन्छ”, उनले भने, “स्वास्थ्य बीमा गरेपछि एकपटक पनि सेवा लिन पाएको छैन ।”
स्वास्थ्य बीमा कार्यक्रम सरकारले स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याएको  जनाइएको छ । सामाजिक सुरक्षा कार्यक्रम भए पनि प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको गुनासो गर्ने गरेका छन् ।
महाकाली प्रादेशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले स्वास्थ्य बोर्डले बीमावापतको भुक्तानी समयमै नगरिदिँदा समस्या हुने गरेको बताए । “बोर्डले समयमै अस्पताललाई भुक्तानी गर्दैन हामीले पनि औषधि खरिद गर्नुपर्छ”, उनले भने “अस्पतालले गरेको बोलपत्र आह्वानमा कतिपय औषधि परेनन् त्यसले पनि औषधि नपाएको हुनसक्छ ।” उनले अस्पतालले केही दिनभित्रै दोस्रो बोलपत्र आह्वान गरेर औषधि खरिद गर्ने तयारी गरिरहेको बताए ।
उनले बीमा बोर्डले तोकेका ८० प्रकारका औषधिबाहेकका अन्य औषधि पनि माग हुने गरेका कारण सेवाग्राहीले सेवा नपाएको गुनासो गर्ने गरेको बताए । 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार