बारीमै कुहिन थाल्यो अदुवा 

आइतबार, मंसिर २५, २०७९
मयुर प्लाई
Global Ime Bank

डुम्रे । बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।  बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउँछन् । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ”, उनले भने । 
भिमाद साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नारायण खनालले अदुवा प्रशोधन बिक्रीका लागि बजार खोजी गर्ने गरेको बताउनुभयो । गत वर्ष करिब २८ मेट्रिक टन बुटवलको प्रशोधन केन्द्रमा प्रशोधन गरी बिक्रीका लागि तयार रहेको उनी बताउँछन् । गत वर्ष प्रतिकेजी रु ४० मा खरिद गरी प्रशोधन केन्द्रमा लगिएको उनले जानकारी दिए । 
यस वर्ष प्रतिकेजी रु २८ मा खरिद गर्ने बताउँदै आएको उनी बताउँछन् । “नेपालमा आफैँले उत्पादन गर्ने प्रचलन छ । निर्वाहमुखी खेतीले पुग्छ र किसानले उत्पादन गरेका अदुवा भारतीय बजारमा नै बिक्री हुने हो । कम अदुवा बिक्रीका लागि लैजाने हुँदैन । धेरै उत्पादन छैन यसले गर्दा बजारको समस्या भएको हो”, अध्यक्ष खनालले भने, “केही भने यहीको बजारमा खपत हुन्छ ।”
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले कृषकले उत्पादन गरेको वस्तुको बजार सिर्जना गर्ने कार्यमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने बताए । तीन तहको सरकारले बजारको व्यवस्थापन गर्न भूमिका खेलेमा कृषि प्रधान देशको भनाइलाई सार्थक बनाउन सकिने उनले बताए । 
“विश्वमा पूर्णरूपमा आयातित वस्तु उपभोग गर्ने देश छन् । ती देशसँग समन्वय, सहकार्य गरी व्यापारिक सम्बन्ध कायम गरी देशको आर्थिक समृद्धिलाई प्रमुख बनाउने भूमिकामा देशका मुख्य–मुख्य राजनीतिक दल र तीन तहको सरकारले समन्वय गर्न सके छिटो समृद्ध नेपाल बनाउन सहयोग पुग्नेछ”, उनले भने । 
कृषि क्षेत्रलाई नेपालको प्रमुख पेशा मानिए पनि बजारको अभावले कृषि पेशाबाट कृषक विमुख भएको पाइन्छ । यस पेशामा युवालाई टिकाउने र स्वदेशमा नै उत्पादन वृद्धि गरी आयातभन्दा निर्यातलाई प्रोत्साहन गर्न सरकारले नै कदम चाल्नुपर्ने अवस्था रहेको छ । 

अदुवा उत्पादन वृद्धि

अदुवाको बजार मूल्य र बजार पाउन समस्या भए पनि तनहुँमा अदुवा उत्पादन वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । 

उत्पादनको क्षेत्रफल घट्दो छ । अदुवाको बजार पाउन समस्या भएको छ । तर उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार तनहुँमा आर्थिक वर्ष २०७७-७८ मा पाँच सय १२ हेक्टर क्षेत्रफलमा सात हजार पाँच सय ४० मेट्रिक टन अदुवा उत्पादन भएको थियो । 

आर्थिक वर्ष २०७८-७९ मा पाँच सय १७ हेक्टर क्षेत्रफलमा सात हजार छ सय २२ मेट्रिक टन अदुवा उत्पादन भएको तिवारीले जानकारी दिए । कृषिमा लगानी वृद्धि गरी इलेक्टिक प्रशोधन गरी बिक्रीका लागि अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न सके कृषकको आकर्षण बढ्ने उनको भनाइ छ । 
प्रतिकेजी रु ६० का दरले बिक्री गर्दा तनहुँबाट रु ४५ करोडको अदुवा बिक्री वितरण हुने गरेको उनले बताए । किसानले रु एक सयमा धार्नी बेच्नुपर्ने परिस्थितिले भने कम हुने उनको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार