सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । धान बालीलाई रासायनिक मल अभाव हुने देखिएपछि कृषि तथा पशुपक्षी मन्त्रालयले अर्थ मन्त्रालयसँग थप बजेट माग्ने तयारी गरेको छ। रासायनिक मल खरिद गर्न ३१ अर्ब रूपैयाँ बजेटको सुनिश्चिता भए तापनि धान बालीलाई अपुग हुने देखिएपछि अर्थसँग ७ अर्ब ७३ करोड रूपैयाँ माग्ने मन्त्रालयले तयारी गरेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । कृषि मन्त्रालयले मल खरिदलाई थप माग गरेको ७ अर्ब ७३ करोड रूपैयाँ र यसअघि रासायनिक मल खरिदका लागि सुनिश्चित गरेको बजेट जोड्दा ३८ अर्ब ७३ करोड रूपैयाँ हुनेछ। यो बजेट विगतको तुलनामा ३ गुणाले बढी हो । गत वर्ष सरकारले बजेट वक्तव्यमार्फत १५ अर्ब रूपैयाँ विनियोजन गरेको थियो।
किसानको माग आपूर्ति गर्न बजेट वक्तव्यमा विनियोजन गरेको बजेट अपुग हुने भएपछि मलको सहज आपूर्तिका लागि थप बजेटको माग गरेको प्रवक्ता सन्जेलले जानकारी दिए। उनले रासायनिक मल खरिद गर्न सुनिश्चित गरेको ३१ अर्ब रूपैयाँले धान बालीलाई मल खरिद गर्न अभाव हुने देखिएको हुँदा ९० हजार मेट्रिक टन खरिदका लागि ७ अर्ब ७३ करोड रूपैयाँ थप माग गर्न लागेको जानकारी दिए। उनले नयाँ सरकार बनेलगत्तै अर्थ मन्त्रालयमा बजेट थपका लागि प्रस्ताव पठाउने बताए।
रासायनिक मल खरिद गर्न सुनिश्चित गरेको ३१ अर्ब रूपैयाँ बजेट गहुँ र मकै बालीका लागि भने पर्याप्त हुने जानकारी दिए । किसानलाई धान बालीमा सहज रूपमा मल आपूर्ति गर्न नसकिने भएपछि मल अभाव हुन नदिन मन्त्रालयले थप बजेटका लागि प्रक्रिया अघि बढाएको उनको भनाइ छ । थप बजेट नहुँदा धान बालीका लागि करिब १ लाख मेट्रिक टन अभाव हुने प्रवक्ता सन्जेलले जानकारी दिए। मल खरिदका लागि सुनिश्चित गरेको बजेटले २ लाख ५७ मेट्रिक टन मात्र आउने देखिएपछि थप ९० हजार मेट्रिक टन मलका लागि ७ अर्ब ७३ करोड रूपैयाँ आवश्यक रहेको उनको भनाइ छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य उच्च वृद्धि भएपछि मल खरिदका लागि चालू आर्थिक वर्षको बजेट वक्तव्यमा विनियोजन गरेको बजेट अपुग भएको हो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले रासायनिक मल खरिदलाई १५ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य वृद्धि हुँदा १५ अर्ब रूपैयाँ बजेट अभाव हुने भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले अर्थ मन्त्रालयलाई थप बजेट माग गरेको थियो ।कृषि मन्त्रालयको थप बजेट माग गर्दा अर्थ मन्त्रालयले मल खरिदका लागि गत असोज महिनामै १६ अर्ब रूपैयाँ बजेट सुनिश्चित गरिसकेको थियो। मन्त्रालयका अनुसार अर्थ मन्त्रालयले थप गरेको १६ अर्ब रूपैयाँ र बजेट वक्तव्यमा विनियोजन गरेको १५ अर्ब रूपैयाँ गरी ३१ अर्ब रूपैयाँ मल खरिदलाई बजेट सुनिश्चित भएको हुँदा ३ लाख २४ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिद हुन्छ। मागअनुसार धान बालीलाई सहज रूपमा रासायनिक मल आपूर्ति गर्न करिब ४० अर्ब रूपैयाँ बजेटको आवश्यकता पर्ने प्रवक्ता सन्जेलको भनाइ छ। अमेरिकी डलरको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य विगतको तुलनामा दोब्बर भएको हुँदा ३१ अर्ब रूपैयाँ मल खरिदलाई बजेट सुनिश्चित हुँदा पनि अभाव हुने देखिएको प्रवक्ता सन्जेलले जानकारी दिए ।