पर्यटनमार्फत समृद्धि

शुक्रबार, पुस १, २०७९

परिचय

अतिथि देवो भव अर्थात पाहुना भगवान समान हुन् भन्ने नेपाली परम्परागत मान्यता रहिआएको कुरा सबैलाई थाहा छ। अझ बेलुकी बास माग्न आएको पाहुनालाई कहिल्यै बास दिन्न भन्नु हुँदैन भनेर पितापुर्खाले सिकाउँदै आएको हाम्रो संस्कार आफैमा उच्च छ। जे पाक्छ पाहुनालाई त्यही बाँडचुड गरेर खुवाउनु सुकुलगुन्द्री राडीपाखी जे छ त्यसैमा सुताउनु भन्ने पुर्खादेखि सरेर आएको त्यो अनुपम संस्कारलाई व्यवसायिक रुपमै अगाडि बढाउनु सके पाहुनापातको स्वागत सत्कारमा रौसिने नेपाली समाजमा प्राकृतिक र जैविक सुन्दरतालाई मानवीय गुणहरु मिसाउन सके नेपाली पर्यटन उद्योग सुनको अन्डा पार्ने कुखुरी बराबर हुनेछ।

पर्यटन विकास र प्रवर्द्धनको लागि जति भौतिक पूर्वाधारको जरुरत छ बोली र ब्यबहारको त्यो भन्दा बढी महत्व हुन्छ। मानव निर्मित कृतिमता बेचेर एउटा सानो मुलुकहरुले वार्षिक करोड पर्यटक भित्र्याउन सक्छन् भने हामी यति धेरै प्राकृतिक छटाले चिरिच्याट्ट परेको स्वर्गको टुक्रामाथि बसेर पनि वार्षिक दश लाख पर्यटक भित्र्याउन सकस परेको छ। उचित प्रचारप्रसार, समन्वय र पूर्वाधार बनाउन नसकेकै कारण वार्षिक अभियान नै सञ्चालन गर्दा पनि लक्ष्य भेट्टाउन नसकिएको हो।

सरोकारवालाको कुरालाई गम्भीर रुपमा नलिने नीति निर्माताको पदीय विद्वताको शिकार पनि बन्नु परेको देखिन्छ पर्यटन उद्योग। सुन्दर भूगोल, नागबेली पहाड, सेताम्य हिउँमा मुस्कुराएका अग्ला हिमाल, वारपार लम्पसार परेको तराईमधेशका फराकिला फाँट, कलकल बग्ने झरना खोलाहरुको प्राकृतिक सौन्दर्यता बेच्न मात्र पर्यटन उद्योग कदापी हुन सक्दैन। यो सरकारका प्रतिनिधिदेखि स्थानीयको बोली र मुस्कान बेच्ने व्यापार पनि हो। स्थानीय कला, संस्कृति, सभ्यता र संस्कार बेच्ने मानवीय कला पनि हो।

पर्यटनलाई गाउँ, गरिब र स्वदेशी उत्पादनसँग जोडौं

अब नेपालको पर्यटन बजारमा विदेशी पर्यटकको विदेशी स्वादलाई नेपाली पाराले विस्थापित गर्दै जानु पर्दछ। वार्षिक चालिस लाख पर्यटक भित्र्याए पनि फ्रान्सबाट आयात गरेको ह्विस्की, केन्टुकीबाट झिकाएको चिकेन, अमेरिकाबाट ल्याइएको जुस, युक्रेनबाट मगाइएको तेल मात्र बेच्ने हो भने त्यसले तात्विक अन्तर पर्ने वाला छैन। विदेशी पर्यटक स्वदेशी उत्पादन भन्ने संकल्पका साथ पर्यटनकर्मी आफै पनि चनाखो हुनुपर्ने देखिन्छ। पर्यटनलाई गाउँ, गरिब र स्वदेशी उत्पादनसँग पनि जोड्नु पर्दछ।

गाउँको गरिब किसानले उत्पादन गरेको कृषि तथा पशुजन्य उत्पादन वा हस्तकला सामग्री पर्यटकको खाना र कोशेलीको निम्ति छनौटको बस्तु बनाउन सकिएन भने पर्यटनबाट प्राप्त हुने आम्दानी कागजको फूल जस्तै देख्नमा मात्र सुन्दर हुनेछ। पर्यटकलाई भोजपुरको खुकरी, चैनपुरको करुवा, पाल्पा र तेह्रथुमको ढाका जस्ता स्थानीय घरेलु तथा हस्तकलाका सामान कोशेली लैजाने गरी उत्पादनमा निखारता थप्दै प्रचारप्रसार र वितरणको सहज व्यवस्था मिलाउनु पर्दछ। यसैगरी मार्फाको स्याउ, नुवाकोटको ट्राउट माछा, चित्लाङको मुला, टिकनीबोडेको चिउरा, बरमझियाको पेडा, फर्पिङको नासपाती, खोकुछिन्ताङको सुन्तला, मुडेको आलु पर्यटकको खानानास्ताको अभिन्न बस्तु बन्नु सक्नुपर्दछ। त्यसरी नै भक्तपुरको जुजुधौ, जुम्लाको मार्सी, सिकरवेशीको चामल, ठेचोको खुवा,  टोखाको चाकु, खोकनाको तेल, इलामको चिया, गुल्मीको कफी, बाग्लुङको हुक्का जस्ता स्थानीय खानेकुराको असली स्वाद विदेशी पर्यटकलाई किन नचखाउने ?

माइनस डिग्रीको चिसोमा हेलिकोप्टरबाट ओसारेर विदेशीले मन पराउँछ भन्दैमा कति कोकाकोला र फ्यान्टा मात्र पिलाउने? माटोको हाँडीमा दाउरा बालेर भुटेको स्थानीय मकै भटमास र साँधेको तोरीको गुन्द्रुक सिन्कीको स्वाद खाजा दिएर किन नपल्काउने पर्यटकलाई? बर्गरको सट्टा फापरको रोटी, आलु दम र सेलरोटीको स्वादमा किन बानी नबनाउने? स्थानीय उद्यमीलाई प्रविधि सिकाएर नाईक, नर्थफेस जस्ता विदेशी कम्पनीका महंगा ट्रेकिङका सामानहरुलाई किन विस्थापन गर्न सुरु नगर्ने? बट्टा बन्द खानेकुरा मगाएर स्थानीय जिब्रोलाई समेत बिगार्ने गरी पर्यटन प्रवर्द्धन गर्नु आर्थिक सामाजिक दृष्टिकोणले खासै महत्व राख्दैन।

यसर्थ उत्पादनशील पर्यटन उद्योग प्रवर्द्धन गर्ने हो भने यसको सम्बन्ध गाउँ, गरिब र स्वदेशी उत्पादनसँग कहीँ न कहीँ कुनै न कुनै तरिकाले भएपनि जोडिनु नै पर्दछ। ट्रेकिङ गर्न फोल्डिङवाला स्टिक विदेशबाटै लिएर आउने गरेकोमा हाम्रो पाखाभित्तामा पाईने ढुंगामै जति बजारे पनि केही नहुने बलिया घँगरु र बेतका लौराहरुको सघन रुपमा उत्पादन र मार्केटिङ किन नगर्ने? घँगरु र बेतका लौराहरु त हाम्रा वृद्धा बाबु काकाहरुले मज्जाले कलात्मक पाराले बनाउन सक्नुहुन्छ नि! यो कला पुस्तान्तरण किन नगर्ने? यी त केही दृष्टान्त मात्र हुन् यस्ता सयौ कुराहरु जो धुलोले छोपिएर रहेका हिरा छन् तिनको उजागर गर्नु जरुरी छ जसले दिगो पर्यटनको आधार प्रदान गर्न सक्छ।

यसरी पर्यटनलाई स्थानीयको रोजीरोटीको माध्यम पनि बन्न नसकेसम्म सुनको अन्डा पार्ने पर्यटन उद्योगले कागजको अन्डा मात्र पारिरहने छ। पर्यटन उद्योगलाई साँचो अर्थमा सुनको अन्डा पार्ने कुखुरी बनाउने हो भने पर्यटन व्यवसायी र पर्यटनकर्मीको आवाजलाई नीति निर्माताले सुनुवाई गर्नु उतिकै जरुरी छ। आजका पर्यटन व्यवसायीहरु निकै नै स्वजिम्मेवार भएको देख्न सकिन्छ। यसको उदाहरण खुम्बु क्षेत्रको लुक्लादेखि हरेक हिमालको बेसक्याम्प हुँदै अन्तिम क्याम्पसम्म पनि फोहरको प्रशंसनीय तबरबाट व्यवस्थापन भएको देखिएको छ। एउटा सानो टिस्युपेपर पनि डस्टविन बाहिर नफालेको देख्दा स्वअनुशासन ठुलो कुरा रहेछ भन्ने स्वत: अनुमान गर्न सकिन्छ। अड्डातन्त्रको नियमले मात्र काम गर्दथ्यो भने राजधानी काठमाडौंको फोहोरको समस्या उहिल्यै सुल्झिसक्थ्यो।

स्थानीय संस्कार, संस्कृति र सभ्यतालाई प्रवर्द्धन गरौं

हाम्रा राम्रा परम्परा, संस्कृति र रहनसहन बोकाएर पर्यटकलाई बिदा गर्न नसके सकिनसकी बोझिलो र महंगो विदेशी संस्कृतिको भारी कुनाकन्दरामा भेडाबाख्रा चराउने गोठालाहरुसमेतले बोकिरहनु पर्नेछ। स्थानीय कला संस्कृति बिकृत बन्ने खतरा पनि उतिकै रहनेछ। स्थानीय कला संस्कृतिको संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्न स्थानीयको सहभागितामा सांस्कृतिक कार्यक्रम, बाजागाजा, भेषभुषा, गीत संगीत, नाटक, डकुमेन्ट्री, भिडिओ आदि निर्माण गरी पर्यटकलाई स्थानीय स्वाद चखाई मनोरञ्जन दिलाउन सकिन्छ। यसको लागि तीनै तहका सरकार, पर्यटन व्यवसायी, स्थानीयको सहयोग, समन्वय र सहकार्यमा सामुदायिक सांस्कृतिक केन्द्र निर्माण लगायतका पूर्वाधार विकास, निर्माण र सञ्चालन गर्न सकिन्छ। यसबाट पर्यटकले हिमाल, पर्वत, पहराकन्दरा, नदीखोच, नागवेली पहाड, सप्तरङ्‍गी झरना लगायत प्राकृतिक र जैविक सुन्दरताको स्वाद मात्र नभै स्थानीय कला, संस्कृति र सभ्यताको स्वाद लिन सक्नेछन् र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सक्नेछन् । यसबाट एकातिर लोप हुने खतरामा रहेका स्थानीय कला, संस्कृति, परम्परासमेतको जगेर्ना हुन जानेछ भने यसबाट धेरथोर आंशिक रुपमा भएपनि आयआर्जन समेत हुने देखिन्छ । यसैगरी स्थानीय हस्तकलाका सामग्रीहरु निर्माण गरी स्थानीयको आयआर्जनमा थप सहयोग पुर्‍याउन सकिने सम्भावना देखिन्छ ।

निजी क्षेत्रलाई विश्वास गरौं, उत्प्रेरित र थप जिम्मेवार बनाऔं

पर्यटन उद्योगको खास खेलाडी भनेको पर्यटन व्यवसायी नै हुन् । यसकारण निजी क्षेत्रलाई विश्वासमा लिएर, जिम्मेवार बनाएर, उत्प्रेरित गरेर राज्यको नीति नियमलाई व्यवहारिक बनाउँदै त्यही ट्र्याकमा हिड्न सक्ने बनाउनु राज्यको दायित्वमा पर्दछ। यति मात्र नभै व्यवसायीको तर्फबाट आपतमा परेका पर्यटकको सफलतापूर्वक हेलिसहितका उपकरणको प्रयोग गरी गर्ने गरेको रेस्क्यू र फोहोर संकलन लगायतका कार्यहरु प्रशंसनीय छन्। आफ्नो संस्कृति अनुकूल कुन हिमाल, कुन शीखरलाई आरोहणको लागि खुला गर्नु हुँदैन कुनलाई हुन्छ भन्ने कुराको संवेदनशीलता स्थानीयलाई नै थाहा हुने हुँदा उनीहरुको सुझावलाई मनन गर्नुपर्ने पनि देखिन्छ। स्थानीयले पूजाआजा, श्रद्धा गर्ने शीखरहरुलाई आरोहणको लागि खुला गर्नु पनि हुँदैन।

यसैगरी पर्यटनको हरेक पाटोमा पर्यटन व्यवसायीलाई यसरी नै स्वजिम्मेवार बनाउँदै लैजान सकेमा नियमन लागत स्वत: घट्दै जाने र त्यसको प्रत्यक्ष फाइदा ब्यक्ति, समुदाय, सरकार एवं सबै सरोकारवालासम्म पुग्नेछ। हाम्रा पुर्खाले कथन गरेजस्तै फुलको वास्ना वरिपरि मान्छेको वास्ना डाँडा पारि भने जस्तै नेपाल र नेपालीको वास्ना अन्तर्राष्ट्रिय जगतसम्म फैलिने छ। यसर्थ पर्यटन पूर्वाधारमा नेतृत्वदायी भूमिका सबै तहमा सरकारकै हुनु पर्दछ भने त्यसमा होस्टेमा हैसे गर्ने कर्तव्य समग्र पर्यटन व्यवसायी, पर्यटनकर्मी, मिडिया र स्थानीयको पनि हुनुपर्दछ।

सरकारी भूमिकालाई पूर्वाधार निर्माण, सुरक्षा र नियमनमा अव्वल बनाऔं

अन्य क्षेत्रको जस्तै पूर्वाधार निर्माण र विकासमा पनि सरकारी क्षेत्रले नै नेतृत्व हुनुपर्दछ। यसका साथै पर्यटक र व्यवसायी लगायत स्थानीयको सेफ्टी र सेकुरिटीको कुरामा सरकारी नियमनको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन। यिनको पर्यटक ह्यान्डलिङ गर्ने क्षमता अभिवृद्धि गराउनका साथै प्राकृतिक तथा जैविक सम्पदाबीच सन्तुलन कायम राख्न र दिगो उपयोग गर्न यिनलाई थप जिम्मेवार बनाउन सके सरकारी नियमन र अनुगमनको लागत घटाउन सहयोग मिल्दछ। सरकारी क्षेत्रले निजी क्षेत्रलाई उत्प्रेरित र सहजीकरण एवं नियमनको भूमिकालाई उपयोगी र थप प्रभावकारी बनाउनु पर्दछ।

नढाँटी भन्नु पर्दा हालसम्म पर्यटन व्यवसायीको इमान्दारिता, जिम्मेवारी र बलबुताले गर्दा नै अहिले भईरहेको विकास देख्न सकिएको हो भन्न हिच्किच्याउनु हुँदैन। फेक रेस्क्युको कुरा केही समय अगाडि विदेशी मिडियाले समाचार बनाएको जस्तो अन्तर्राष्ट्रिय बेईज्जती हुनेगरी निजी क्षेत्रले पनि मुनाफाको पछि मात्र लाग्नु नहुने, राष्ट्रिय अस्मितासँग कसैले पनि सम्झौता गर्नु हुँदैन। यस्ता कुराहरुमा पर्यटन व्यवसायीले सरकारी नीति निर्देशनको हुबहु पालना गर्नु पर्दछ।

हाल प्रचलनमा रहेको आरोहण दलसँगै सरकारी तवरबाट खटाइने गरेको सम्पर्क अधिकृत परम्परागत रुपमा विरालो बाधेर श्राद्ध गरेजस्तै देखिएकोले स्थानीय पालिकालाई यसको जिम्मा दिन वा कम्तिमा १२ कक्षा उत्तीर्ण गरेका स्थानीय युवालाई तालिम प्रदान गरी खटाउने हो भने राज्यको उद्देश्य पूरा हुनुका अलाबा स्थानीयलाई जिम्मेवारीभाव बढाउन एवं रोजगारको माध्यम पनि हुने देखिन्छ। सरकारी कर्मचारी रोजगार नै भएको हुँदा सामाजिक सुरक्षाको दृष्टिकोणबाट उपयुक्त स्थानीयलाई समेट्न उपयुक्त हुने देखिन्छ। पर्यटकले कथंकदाचित स्थानीय संस्कृति, मूल्यमान्यता, प्राकृतिक तथा जैविक सन्तुलनमा खलल पुर्‍याउने अबाञ्छित गतिविधि गरेमा स्थानीयले नै नजिकबाट प्रभावकारी रुपमा अनुगमन र नियन्त्रण गर्न सक्छन् ।

स्थानीय भूगोल र सामाजिक, सांस्कृतिक सम्वेदनशीलताको जानकार स्थानीय नै हुने भएकोले स्थानीय युवा नै परिचालन गरी रिपोर्टिङ स्थानीय पालिकामार्फत मन्त्रालयमा गर्ने व्यवस्था भइदिए बढी व्यवहारिक र नतिजामूलक भई ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचारप्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्दै पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने संविधानको मर्म र भावना पूरा गर्न ठोस सहयोग मिल्नेछ।

पर्यटनलाई विविधिकरण गरी स्काई ड्राइभिङ, प्याराग्याइडिङ, जिपलाईन, केवलकार जस्ता थप सेवा सम्भाव्य धेरै हिमालका काखहरुमा सञ्चालन गर्न सके थप पर्यटक आकर्षण गर्न सकिने देखिन्छ। पर्यटकीय क्षेत्रका होटल रेष्टुरेन्टहरुमा जलविद्युतको पहुँच पुर्‍याउन सके महङ्गीलाई केही हदसम्म घटाउन र पर्यटकलाई थप सुविधा दिन सकिने अवस्था देखिन्छ। तातो पानी नभै नहुने चिसो क्षेत्रमा हेलिबाट ढुवानी गरेको ग्यासले उमालेको पानीको सट्टा विद्युतबाट तताउन सके पर्यटकलाई सुविधा, मुल्यमा राहत, सरसफाई, वातावरणीय स्वच्छता कायम गर्न प्रत्यक्ष सहयोग पुग्ने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार