मलेशियामा पहिरो जाँदा बिदा मनाउन गएका कम्तीमा १९ जनाको मृत्यु

शुक्रबार, पुस १, २०७९
मयुर प्लाई
Global Ime Bank

मलेशिया । मलेशियाको सेलाङ्गोर राज्यस्थित एउटा पर्वतीय क्षेत्रमा पहिरो जाँदा बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । उनीहरू त्यहाँ बिदा मनाउन गएका थिए ।
बताङ काली नगरअन्तर्गत पर्ने उक्त स्थलमा स्थानीय समयानुसार शुक्रवार बिहान ३ बजे पहिरो गएको थियो । त्यतिबेला छुट्टी मनाउन गएका मानिसहरू पालभित्र सुतिरहेका थिए ।
सयौँ उद्धारकर्मीहरूले माटो खोतल्दै जीवित व्यक्ति खोज्ने र उद्धार गर्ने प्रयास गरिरहेका छन्। उक्त मनोरञ्जनस्थलमा पहिरो जाँदा ९० जनाभन्दा बढी मानिस रहेको बताइएको छ ।
शिविर सञ्चालकले स्थानीय सञ्चारमाध्यमहरूलाई बताएअनुसार त्यहाँ कम्तीमा ३० बालबालिका र ५१ जना वयस्कको नाम बास बस्नेगरी दर्ता भएको थियो । उक्त शिविरभन्दा करिब ३० मिटर माथिको भीरबाट खसेको पहिरो एक एकड क्षेत्रमा फैलिएको थियो।  
मलेशियाका उद्धार गर्ने संस्थाहरूले अनलाइनमा सार्वजनिक गरेका तस्बिरहरूमा हेल्मेट लगाएका उद्धारकर्मीहरू क्षतविक्षत भएको भुइँ, उखेलिएका रूख र अन्य अवरोध पन्छाउँदै काममा खटेको देख्न सकिन्छ । शुक्रवार मध्याह्नसम्ममा ६० जनाभन्दा बढी व्यक्तिको उद्धार भइसकेको छ । यद्यपि कैयौँ मानिस अझै बेपत्ता रहेको जानकारी अधिकारीहरूले दिएका छन्। स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार मृतकमध्ये एक पाँचवर्षीय बालक रहेको पुष्टि भएको छ ।
शिविरमा बसेकी टे लिन सुआनले आफू र आफ्नी आमा बाँचे पनि आफ्ना एक भाइले ज्यान गुमाएको र अर्को भाइ घाइते भएर अस्पताल लगिएको बताइन् ।
“हामीले पाल हल्लिएको महसुस गर्‍यौँ र हाम्रो वरिपरि माटो खस्न थाल्यो,” उनले स्थानीय पत्रिका बेरिटा हारिआनसँग भनिन् । “मेरी आमा र म घस्रिएर बाहिर निस्कियौँ र ज्यान जोगायौँ’ उनले भनिन् । उनी त्यहाँ ४० जनाभन्दा बढी मानिसठूलो समूहमा बसेकी थिइन्।
घटनामा परेर जोगिएका लिओङ जिम मेङले आफूले जमिन सर्नुअघि ठूलो विस्फोटको आवाज सुनेको बताए । त्यो आवाजले आफ्नो परिवारलाई बिउँझिएको तर पालबाट सकुशल निस्कनुअघि आफूहरू केही बेर पहिरोमै फसेको उनले बताए ।
“निकै अँध्यारो थियो र त्यतिबेला के भइरहेको थियो भन्ने खुट्ट्याउन निकै गाह्रो थियो ” उनले भने ।
प्रधानमन्त्री अन्वर इब्राहिम शुक्रवार पहिरो गएको स्थान अवलोकन गरेका छन् ।  प्रधानमन्त्री इब्राहिमले आफ्नो फेसबुक पेजमार्फत् मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् तथा हराएका मानिसहरू सकुशल फेला परून् भनेर प्रार्थना गरेका छन् । पहिरोको कारण अझै स्पष्ट छैन । स्थानीयवासीहरूले बताएअनुसार त्यहाँ हल्का वर्षा भएको थियो तर पहिरो नै जानेगरी भीषण वर्षा वा भूकम्प गएको थिएन । शुक्रवार दिउँसो अधिकारीहरूले नदीतट र अन्य जोखिमयुक्त स्थानमा भएका शिविरहरू आगामी सात दिनसम्म खाली राख्न निर्देशन दिएका छन् । 

पहिरामा परी ५१ बेपत्ता
मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको  छ भने ५१ जना बेपत्ता भएका छन् । 
स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको प्रयास भइरहेको छ । यसैबीच न्यु स्ट्रेट टाइम्सले  पहिरो जाने समयमा त्यस शिविरमा ७९ जना मानिस रहेको  उल्लेख गरेको छ। 
अग्नि तथा उद्धार विभागले २३ जना पहिरोबाट जोगिएको र तीन जना घाइते भएको बताएको छ  ।
ूअग्निशामक विभाग र स्वैच्छिक फायर एसोसिएसन, निजी फायर डिपार्टमेन्ट, प्रहरी, मलेशियन सिभिल डिफेन्स फोर्स, स्वास्थ्य मन्त्रालय र स्मार्ट टोली जस्ता अन्य निकायहरूको सहयोगमा खोजी र उद्धार प्रयास जारी रहेको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार