सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चीनमा कोभिड–१९ को नयाँ लहर फैलाउने ओमिक्रोनको सबभेटिअन्ट बीएफ.७ भारतमा पनि देखा परेको छ । भारतमा देखा परेपछि खुला सीमा रहेका कारण नेपालमा समेत ‘जोखिम उत्पन्न भएको’ भन्दै सरकारले सजग गराएको छ। भारतले कोरोनाभाइरसका नयाँ सङ्क्रमितहरूबाट सबै नमुनाको जीनम सीक्वन्सिङ गर्न निर्देशन दिएको छ । भारतमा क्रिस्मस र नयाँ वर्षका बेला सङ्क्रमण फैलिन सक्ने भन्दै केन्द्रीय सरकारले राज्य सरकारहरूलाई कोभिड नियन्त्रण गर्न उपयुक्त कदम चाल्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले यतिखेर आफ्नो जोड कोभिडको बूस्टर अर्थात् अतिरिक्त मात्र लिने मानिसको सङ्ख्या बढाउनेमा रहेको बताएका छन् । ‘पूर्ण मात्रा लिनेको सङ्ख्या कुल जनसङ्ख्यामा ८२.५ जति हुनु नेपालको राम्रो पक्ष हो । तर बूस्टर खोप भने कम छ, ३८.५ जतिले मात्र लिएका छन्’, मन्त्रालयका प्रवक्ता डा. ठाकुरले भने । बूस्टर डोज नलिँदा जोखिम बढ्ने सम्भावना हुन्छ । पूर्ण मात्रा खोप लिनेहरूमा १२ देखि १८ महिना एन्टिबडी (रोगप्रतिरोध क्षमता प्रदान गर्ने तत्त्व) कायम रहने भनिँदै आएको छ । सरकारको कोभिड खोप कार्यक्रम कायमै रहेको बताउँदै उनले जनस्तरबाट हुने मागका आधारमा आवश्यक खोपको आपूर्ति बढाउँदै लगिने बताए । यद्यपि पछिल्लो समय खोप लिने क्रम निकै सुस्त देखिएको छ ।
नेपालमा बीएफ.७ भेटिएको छैन विगत एक महिनामा देशभरिबाट सङ्कलन गरिएका कोभिड सङ्क्रमितका जीन सीक्वन्सिङ गर्दा नेपालमा भने चीनमा धेरै फैलिएको सबभेरिअन्ट बीएफ.७ पुष्टि नभएको मन्त्रालयले जनाएको छ । प्रवक्ता डा. ठाकुर ‘चिन्तित हुनुपर्ने नभई पूर्वसावधानीका पुरानै उपायहरू पालना गर्नुपर्ने’ बताउँछन् । ‘जुनसुकै फरक स्वरूपमा आए पनि कोभिड सर्ने तरिका र यसका लक्षण धेरैजसो एकै हुन्, बच्ने तरिकाहरू समेत एकै हुन्’, डा ठाकुर भन्छन्, ‘अहिले गर्ने सबैभन्दा महत्त्वपूर्ण भनेको बूस्टर खोप लगाउनु, सामाजिक दूरी, निस्सङ्क्रमणका उपाय अपनाउनु नै हो । बूस्टर लगाएको पनि धेरै समय भएको भए मास्क नछुटाउनु राम्रो हुन्छ ।’
बूस्टर खोप लगाउनेको सङ्ख्या ७०–८० प्रतिशत पुर्याउन सक्दाको अवस्था सहज हुने भन्दै उनले आफूहरूले त्यसतर्फ सोचिरहेको दाबी गरे । नेपालमा शुक्रबारको तथ्याङ्कअनुसार १४ जनामा सक्रिय कोभिड छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा झन्डै ९५१ जनाको कोभिड परीक्षण गर्दा ३ जना कोभिड संक्रमित थपिएका हुन् ।
अन्यत्र कस्तो चासो र सतर्कता विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले चीनमा विकसित भइरहेको अवस्थाप्रति आफ्नो ‘उच्च चासो’ रहेको बताएका थिए । डा. टेड्रोस एड्हानोम गेब्रेयससले कोभिडबाट मुक्त हुने रणनीति भनेको ‘खोप मात्र हुने’ बताएका थिए । नेपालको दक्षिणी छिमेकी राष्ट्र भारतमा हालैको एक बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले राज्य सरकारहरूलाई अक्सिजनका सिलिन्डर र भेन्टिलेटरसहितका अस्पतालका पूर्वाधार तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए । उनले आत्तिनुपर्ने कुनै कारण नभएको भन्दै सतर्कता अपनाउन नागरिकहरूलाई आग्रह गरेका थिए । भारतमा गुजरातमा तीनवटा र उडिसामा एउटा नमुनामा बीएफ.७ नामको ओमिक्रोन सबभेरिअन्ट जुलाई र नोभेम्बरको बीचमा देखा परेको थियो । ती सबै सङ्क्रमितहरू भाइरसमुक्त भइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।–एजेन्सी