सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । युक्रेनले आफ्नो एक क्षेप्यास्त्र हमलामा परेर अधीनस्थ डोनेत्स्क क्षेत्रको पूर्वी भागमा झण्डै ४०० रुसी सैनिकहरूको मृत्यु भएको दाबी गरेको छ । रुसको रक्षा मन्त्रालयले ६३ जना सैनिकहरू मारिएको पुष्टि गर्दै त्यस हमलामा हाइमार्स रकेटहरूको प्रयोग भएको जनाएको छ । उसले त्यहाँ सैनिकहरू अस्थायी रुपमा तैनाथ भएको बेला हमला भएको जनाएको छ । रुस पक्षधर अधिकारीहरूले हताहत भएको कुरा स्वीकार गरेका छन् तर बाहिर आएको सङ्ख्याबारे परस्पर विरोधी टिप्पणीहरू गरेका छन् । उक्त क्षेप्यास्त्र रुसी फौजहरू रहेको ठानिएको म्याकिइभका सहरको एक सीपमूलक विद्यालय भवनलाई लक्षित गरी प्रहार गरिएको थियो । किएभमा रुसबाट ड्रोन तथा क्षेप्यास्त्र हमलाको क्रम जारी रहँदा आइतबार राती हवाई हमलाहरूको चेतावनी जारी गरिएको थियो । डोनेत्स्कको अधिनस्त क्षेत्रमा रहेका रुस समर्थित एकजना वरिष्ठ अधिकारी डानिल बेज्सोनोभका अनुसार म्याकिइभकामा नयाँ वर्षको दिन मध्यरातको दुई मिनेटपछि क्षेप्यास्त्र प्रहार भएको थियो । बेज्सोनोभले मेसेजिङ एप टेलिग्राममा लेखेका छन्, 'त्यहाँ मृतक र घाइतेहरू छन्, वास्तविक सङ्ख्या अझै थाहा छैन ।' ती अधिकारीले सो प्रहार अमेरिकाले उपलब्ध गराएको एमएलआरएस हाइमार्स भनिने क्षेप्यास्त्रको प्रयोगबाट भएको बताए । युक्रेनले उक्त क्षेप्यास्त्रको प्रयोगको विषयमा कुनै पुष्टि गरेको छैन । किएभले पुरानै रणनीतिको रूपमा आफ्ना हमलाका विवरणहरू सार्वजनिक गर्ने गरेको छैन । रुसी ड्रोनमा रुसी भाषामा 'नयाँ वर्षको शुभकामना' लेखिएका तस्बिर युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका छन् । रुस-नियन्त्रित क्षेत्रमा पहुँच प्रतिबन्धित भए तापनि कैयौँ रुसी टिप्पणीकार र ब्लगरहरूले त्यस हमलालाई स्वीकार गरेका छन् तर मृतकको सङ्ख्या दाबी गरिएभन्दा कम हुनसक्ने बताएका छन् । एकजना रुसी प्रस्तोता भ्लादिमिर सोलोभयोभले टेलिग्राममा 'क्षतिहरू उल्लेख्य भए तापनि' ४०० को 'नजिक पनि नभएकोू लेखेका छन् । तर हाल टिप्पणीकारका रूपमा रहेका एकजना पूर्व रुसी सैनिक इगोर गिर्किनले सयौँ घाइते हुनुका साथै मारिएको र भवन 'लगभग पूरै ध्वस्त भएको' बताएका छन् । उनले पीडितहरू खास गरी हालसालै भर्ती गरिएका र स्वेच्छाले लड्न गएका बाहेकका सैनिकहरू भएको बताएका छन् । गोलाबारूद समेत त्यसै भवनमा राखिएको कारण क्षति झन् भयानक भएको उनले जनाएका छन् । युक्रेनी सेनाका अनुसार ज्यान गुमाउने अनुमानित ४०० बाहेक ३०० जति घाइते भएका छन् । युक्रेनको सेनाले दैनिक जसो दर्जनौँ, बेला सयौँको सङ्ख्यामा सङ्ख्यामा विरोधी सैनिकहरू मारेको दाबी गर्ने हुँदा सजगता आवश्यक पर्छ । तर यस दाबी पुष्टि भएमा यो युक्रेन युद्धमा रुसी निशानामा किएभले गरेको सबैभन्दा घातकमध्येको हमला हुनसक्छ ।-एजेन्सी