सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद । पाकिस्तानमा सैन्य कूबाट शक्तिमा आएका पूर्वसैन्य राष्ट्रपति र सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको मृत्यु भएको छ । उनी ७९ वर्षका थिए । केही समयदेखि बिरामी थिए । विगतमा पारिवारिक स्रोतहरूले उनका हातखुट्टाले काम नगरिरहेको र उनको स्वास्थ्य सामान्य अवस्थामा फर्कन सक्ने खालको नभएको स्पष्ट पारेका थिए । पाकिस्तानको सुरक्षा बलका प्रमुखहरूले जनरल मुसर्रफको निधनमा समवेदना प्रकट गरेको बीबीसी उर्दूले जनाएको छ । पूर्व सैन्य राष्ट्रपतिको परिवारले उनी एमलोइडोसिन नामको रोग झेलिरहेको जनाएको थियो । यस रोगमा शरीरको प्रोटिन मोलिक्युल्स निष्क्रिय बन्छन् र बिरामीका अङ्गहरूमा असर पर्छ । परवेज मुशर्रफ स्वास्थ्योपचारका लागि अदालतबाट जमानत पाएयता यूएईमा बसिरहेका थिए।
अस्थिर जीवन पाकिस्तानका हालसम्मका अन्तिम सैन्य शासक मुशर्रफको भाग्य पछिल्ला दुई दशकमा अस्थिर देखिएको थियो । सन् १९९९ मा शक्ति हात पारेयता उनी सयौँ हत्या प्रयासमा बच्न सफल भएका छन् । तर उनको राजनीतिक दलले सन् २००८ को निर्वाचनमा पराजय भोगेको थियो र उनीमाथि देशको संविधानलाई गैर कानुनी रूपले निलम्बन गरेको एवं सङ्कटकाल लगाएको आरोप लागेको थियो।
शक्तिमा उदाएको २० वर्षपछि अदालतले उनलाई संविधानको उल्लङ्घन गरेको भन्दै मृत्युदण्डको सजाय सुनाएको थियो । मुशर्रफ अगस्ट ११, १९४३ मा दिल्लीमा एक उर्दू भाषी परिवारमा जन्मिएका थिए ।
सन् १९४७ मा भारतको विभाजन भएपछि उनका अभिभावकहरू पाकिस्तानमा बसाई सरेका थिए । सेनामा लामो समय काम गरेपछि सन् १९९८ मा उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले सेना प्रमुख नियुक्त गरेका थिए । त्यसको एक वर्षपछि उनले देशको निर्वाचित सरकारलाई सत्ताबाट हटाएका थिए । नवाज शरिफलाई आफ्नो छनौट एउटा जुवा प्रमाणित भयो । किनकि उनले सेनाको कमान्ड तुलनात्मक रूपमा वरिष्ठ जनरललाई नदिई मुशर्रफलाई सुम्पिएका थिए । नवाज शरिफको लोकप्रियता देशको आर्थिक सङ्कट, विवादास्पद सुधारहरू र कश्मीर सङ्कटका कारण समेत खस्किन थालेको थियो । त्यस वर्ष पाकिस्तान कश्मीरका केही क्षेत्र नियन्त्रणमा लिने असफल प्रयासका कारण समेत लज्जित बनेको थियो र सेनालाई सबै दोष दिइएको थियो । जब नवाज शरिफले जनरल मुशर्रफलाई हटाउन खोजिरहेका थिए तर तत्कालीन सेना प्रमुखले निकै चलाखीपूर्वक हतियारको बलमा शक्ति हत्याउन पुगे । अमेरिकामा सेप्टेम्बर ११ को हमलाहरू भएपछिको अवस्थामा अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसको ‘वार अन टेरर’ अर्थात् आतङ्कवादविरूद्धको लडाइँको अर्थ अल कायदा र तालिबानलाई सघाउने सबैसँग मुठभेड हुने थियो । पाकिस्तानी सेनामाथि तीसँग पुरानो सम्बन्ध रहेको आरोप लागिरहन्थ्यो । पाकिस्तानी राष्ट्रपति त्यस बेला अप्ठेरो अवस्थामा पुगेको ठानिन्छ ।
उनले पाकिस्तानभित्रका लडाकु र देशभित्रका अमेरिका विरोधी इस्लामिक आवाजमाथि हमला हुने अमेरिकी दबाबलाई सन्तुलन गर्न खोजिरहेका थिए । अफगानिस्तानको मुद्दा समेत त्यहाँ थियो। परवेज मुशर्रफमाथि अफगानिस्तानमा नेटो र अफगान सरकारले बारम्बार अल कायदा र तालिबानप्रति सद्भाव राख्नेहरूको गतिविधि रोक्न सङ्घ प्रशासित जातीय क्षेत्रमार्फत पर्याप्त काम नगरेको आरोप लाग्ने गरेको थियो । जब सन् २०११ मा पाकिस्तानमा ओसामा बिन लादेन फेला परे, उनको विगतका काममाथि कैयौँ प्रश्नहरू उब्जिए । लादेन त्यहाँ पाकिस्तानी सैन्य एकेडेमीको छेवैमा वर्षौँ बसेका थिए र उनले त्यसबारे आफूलाई भनिएको कुरा वर्षौँ अस्वीकार गर्दै आए ।
शक्तिबाट कमजोर जनरल मुशर्रफको कार्यकाल न्यायपालिकासँग हुने तानातानबीच स्मरणीय रह्यो । जसमा सेना प्रमुख रहेरै राष्ट्रपतिमा कायम रहने कुरा समेत जोडिएको छ । सन् २००७ मा उनले तत्कालीन प्रधानन्यायाधीश इफ्तिकार मोहम्मद चौधरीलाई बर्खास्त गरेपछि त्यसले देशव्यापी प्रदर्शनहरू निम्त्यायो ।
केही महिनापछि उनीहरूले रक्तपातपूर्ण ढङ्गले इस्मालवादस्थित लाल मस्जिद र त्यससँग जोडिएको मदरसामा अवरोध सिर्जना गर्ने आदेशदिए । जसक्रममा १०० भन्दा धेरै मानिसहरूले ज्यान गुमाएका थिए । लाल मस्जिदका गुरु र विद्यार्थीहरूमाथि पाकिस्तानको राजधानी ईस्लामावादमा कडा सरिया कानुन लागु गर्ने आक्रामक अभियान सञ्चालन गरिरहेको आरोप लगाइएको थियो । त्यस घटनाको नतिजाका रूपमा पाकिस्तानी तालिबानको स्थापना भयो र शृङ्खलाबद्ध सशस्त्र बम हमलाहरू सुरु हुन थालेपछि हजारौँ मानिसहरू मारिए । सन् २००७ मा जब नवाज सरिफ निर्वासनबाट फर्किए, त्यो मुशर्रफ युग अन्त्यको सुरुवात थियो । सेनाका ती पूर्व जनरलले आफ्नो शासन लम्ब्याउन आपत्कालीन अवस्था घोषणा गरे तर उनको पार्टीले सन् २००८ को संसदीय निर्वाचनमा पराजय बेहोर्यो । ६ महिनापछि उनले महाभियोग छल्नका लागि राजीनामा दिए र देश छाडेर बाहिरिए । एउटा अनुमानमा लन्डन र दुबईमा आफ्नो बसाइँका बेला पूर्वराष्ट्रपति मुशर्रफले दशौँ लाख अमेरिकी डलर विश्वभर प्रवचन दिएर कमाएका थिए । तर उनले आफ्नो उद्देश्य शक्तिमा फर्कनु रहेको भन्ने कुरा कहिल्यै लुकाएनन् । सन् २०१३ को मार्चमा उनी चुनाव लड्न भन्दै नाटकीय रूपमा पाकिस्तान फर्किए तर त्यसबेला उनी पक्राउ परे । उनीमाथि चुनावमा सहभागी हुन प्रतिबन्ध लाग्यो र उनको दल अल पाकिस्तान मुस्लिम लीगले धेरैले ठाने जसरी नराम्रो पराजय बेहोर्यो । त्यस लगत्तै उनी अदालती मुद्दा मामिलामा जोडिन थाले । जसमा एउटा मुद्दा बेनजिर भुट्टोका लागि पर्याप्त सुरक्षा व्यवस्था नगरिएको विषय समेत थियो ।
भुट्टो सन् २००७ मा तालिबानद्वारा मारिएकी थिइन् जुन घटनाले पाकिस्तान र पूरै विश्वलाई तरङ्गित पारेको थियो । सन् २०१० को एक राष्ट्रसङ्घीय छानबिनमा जनरल मुशर्रफमाथि पूर्वप्रधानमन्त्रीलाई सुरक्षित राख्न ‘नियतवश असफल भएको’ आरोप लगाइएको थियो। सोही वर्ष सन् २००७ मा संविधान निलम्बन गर्ने उनको निर्णयका लागि राजद्रोहको अभियोग सामना गरे । तर लामो समय सेनाले शासन गरेको देशमा अभियोजनको काम सहज अघि बढेन । त्यसैले पूर्व शासकको मुद्दा हेर्न सरकारले विशेष अदालत सिर्जना गर्यो । उक्त मुद्दा पाँच वर्ष चल्यो र अन्ततः तीनजना न्यायाधीशहरूले एउटा फैसलामा उनलाई राजद्रोहमा दोषी ठहर्याए। उनलाई मृत्युदण्ड सुनाइयो । तर त्यो सजाय कार्यान्वयन हुन सकेन र परवेज मुशर्रफले बिमारीका कारण जीवनको लडाइँ हारे ।–बीबीसी