टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या करिब आठ हजार

बुधबार, माघ २५, २०७९
मयुर प्लाई
Global Ime Bank

टर्की । सोमवार गएका दुई ठूला भूकम्पपछि दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या करिब ८ सय पुगेको छ । उद्धारकर्मीहरू तीव्र रूपमा जीवित मानिसहरूको खोजीमा जुटेका छन् । हालसम्म ७,८०० जनाको मृत्यु पुष्टि भइसकेको छ। एएफपीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार टर्कीमा ५,८९४ र सिरियामा कम्तीमा १,९३२ जनाको ज्यान गएको छ । त्यहाँ मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ ।
अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ ।
सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन् । टर्कीमा सोमवार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गयो ।

उद्धार कार्य कति प्रभावकारी ?
केही स्थानमा उद्धार कार्य ढिला भएको पीडित परिवारले गुनासो गरेका छन् ।
टर्कीका प्रायः सरकार पक्षधर सञ्चारमाध्यमहरूले स्थानीयवासी र विभिन्न टोलीहरूले चिसो र वर्षासँग जुध्दै उद्धारको प्रयास गरिरहेको जनाएका छन् । तर भूकम्पबाट प्रभावित प्रान्तहरूमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सरकारको प्रयास ‘अपर्याप्त’ भएको जनाइरहेका छन् ।

vu1675772982.jpg
धेरैले ट्विटरमार्फत मद्दतको आग्रह गरेका छन् । उनीहरूले आफ्ना आफन्तहरू भग्नावशेषमुनि रहेको र भूकम्प गएदेखि सहायता नपाएको बताएका छन् ।
नेपालको बारा जिल्ला घर भई हाल गाजीयान्टेप विश्वविद्यालयमा इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी शकिल शेखले राहत वितरण तथा उद्धार प्रणालीमा समस्या रहेको बताएका छन् । उनले नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन समेत अपिल गरेका छन् । यद्यपि, अहिले प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहायता पनि बढाइएको बताइएको छ । यूके, अमेरिका, चीन र रुसलगायत धेरै देशले खोज र उद्धार विज्ञहरू सहित सहायता प्रदान गरिरहेका छन् । भूकम्पका कारण टर्कीको इस्केन्दरुन बन्दरगाहमा आगलागी भएको थियो । त्यहाँ रहेका कयौँ ढुवानी गर्ने कन्टेनरमा आगो लागेको थियो । आगलागी नियन्त्रणका लागि विमान तथा हेलिकप्टर प्रयोग गरिएको थियो । प्रमुख ढुवानी कम्पनीहरूले त्यस क्षेत्र नजिकका अन्य बन्दरगाहहरूमा जहाज डाइभर्ट गर्न थालेका थिए ।

भूकम्पपछिको भग्नावशेष

सिरियामा सहायताबारे अन्योल
संयुक्त राष्ट्रका पूर्व सहायता प्रमुखले उत्तरी सिरियामा उक्त क्षेत्र नियन्त्रणमा लिन प्रयासरत कुनै गुटको साटो मानवीय र अन्तर्राष्ट्रिय समूहहरूमार्फत सहायता पठाइनु पर्ने बताएका छन् ।
यान एगल्यान्डले त्यस्ता सहायता ‘सिरियाका सरकारी पक्ष वा उनीहरूका विपक्षीलाई दिन नहुने’ बताएका हुन् । भूकम्पबाट सबैभन्दा बढी प्रभावित उत्तरी सिरियाको केही भागहरू अझै पनि देशको गृहयुद्धका सशस्त्र विपक्षी समूहहरूद्वारा नियन्त्रित छन् ।

tar1675684759.jpg
सिरियाली विदेशमन्त्री फैसल मेकदादले युरोपेली देशहरू समक्ष सहायता पठाउन आह्वान गरेका छन् । तर, सन् २०११ मा युद्ध सुरु भएयता त्यहाँको सरकारले उनीहरूलाई आत्मसमर्पण गर्न बाध्य पार्ने प्रयास स्वरूप विपक्षी नियन्त्रित क्षेत्रहरूमा पटकपटक सहायता रोकेको आरोप लाग्दै आएको छ । यो मानवीय मामिलामा काम गर्ने संस्थाहरूका लागि ‘निकै जटिल राजनीतिक परिदृश्य’ भएको एगल्यान्ड बताउँछन् ।
‘मलाई लाग्छ सहायता पूर्ण रूपमा संयुक्त राष्ट्रका निकायहरू, रेड क्रस र रेड क्रिसेन्टजस्ता गैर–सरकारी संस्थाहरूको प्रणालीमार्फत पुर्‍याइनु पर्छ’, उनले भने ।
उनले भूकम्पबाट प्रभावित अधिकांश क्षेत्र ‘शरणार्थी शिविरहरूको समूह’ हुनसक्ने बताए ।
‘उत्तरी सिरिया र दक्षिणी टर्कीका भूकम्प प्रभावित क्षेत्रहरूमा युद्धबाट विस्थापित भएका लाखौँ मानिसहरू छन्’, उनले भने ।
दक्षिण कोरियाद्वारा सिरियालाई सहयोग घोषणा
उत्तर कोरियाली नेता किम जङ(अनले पनि भूकम्प पीडितहरूलाई समवेदना पठाएका छन् । उनले टर्की र सिरियामा झन्डै ८ हजारको ज्यान जाने गरी गएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षीलाई समवेदना पठाएका हुन् ।
‘यहाँको नेतृत्वमा सिरियाली सरकार र जनताले भूकम्पबाट भएको क्षति पार लगाउनु हुनेछ र प्रभावित मानिसहरूको जीवन स्थिर बन्छ भन्ने कुरामा म विश्वस्त’, किमले सिरियाका राष्ट्रपति बशर अल असदलाई पठाएको सन्देशमा भनिएको छ ।

भूकम्प अघि र पछिको दृश्य
दक्षिण कोरियाले टर्कीलाई आपत्कालीन मानवीय सहायताका लागि ५० लाख डलर उपलब्ध गराउने र त्यहाँ खोज र उद्धार कार्यमा मद्दत गर्न ११० जना कामदार पठाएको छ । दक्षिण कोरियाले चिकित्सकीय आपूर्ति पनि पठाउने त्यहाँका विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

आमाको मृत्यु, नवजात शिशुको उद्धार
उत्तर–पश्चिम सिरियाको एउटा ध्वस्त भवनको भग्नावशेषमुनिबाट एक नवजात शिशुको उद्धार भएको छ । उनकी आमा प्रकोप लगत्तै सुत्केरी भएकी थिइन् र सन्तानलाई जन्म दिएपछि उनको मृत्यु भएको एक आफन्तले बताइन् । भूकम्पमै परेर उनको बुबा, चार दाजुभाइ र एक काकीले पनि ज्यान गुमाए ।–बीबीसी 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  १३:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार