सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन सकेनन् । आज रावलले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । ध्वनी मतका आधारमा भएको मतदानमा प्रस्तुत प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । योसँगै रावल पदमुक्त भएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा माओवादी केन्द्रका ११ जना, नेकपा एमालेका १० जना, नागरिक उन्मुक्तिका ७ जना एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र र एक स्वतन्त्र सांसद छन् । विश्वासको मतका लागि रावलले २७ मत ल्याउनुपर्ने थियो । आज नागरिक उन्मुक्तिले मत नदिँदा उनले विश्वासको मत पाउन नसकेका हुन् । रावल पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नागरिक उन्मुक्तिले अन्तिम समयमा एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए । सोही पार्टीले मत नदिँदा उनी पदमुक्त भएका हुन् । मुख्यमन्त्री रावलले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा गरेको प्रस्तावमाथि छलफल नै हुन सकेन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न नपरहेको हो । मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । तर निर्णायक मानिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत नपाएका हुन् ।