सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री राजेन्द्र रावलले दिए राजीनामा

बिहीबार, माघ २६, २०७९
Global Ime Bank

धनगढी । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा दिएका छन् । प्रदेशसभामा बिहीबार विश्वासको मत नपाएपछि मुख्यन्त्री रावलले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भएपछि उनी स्वतः पदमुक्त भएका हुन् । नागरिक उन्मुक्ति पार्टीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि विश्वासको मत नपाएका हुन् । नागरिक उन्मुक्ति पार्टीले आफ्ना नेता रेशम चौधरी तथा भर्खरै पक्राउ परेका संघीय सांसद अरुण चौधरीको रिहाइका लागि भरपर्दै प्रतिवद्धता नभएको भन्दै प्रदेश सभाको आजको बैठकमा अनुपस्थित भएको थियो । प्रदेश सभामा नाउपाका ७ जना सांसद छन् । 
यसअघि प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री रावलले आफूमाथि विश्वासको मत प्राप्त होस् भनी राखेको प्रस्तावलाई सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेश गर्दा हुन्छ भन्ने सदस्य सङ्ख्याभन्दा हुन्न भन्ने सदस्य सङ्ख्याको बहुमत रहेकाले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए । 
बैठकको प्रारम्भमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्दै रावलले प्रदेशको समृद्धिका लागि साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न जरुरी रहेको बताएका थिए । 
एमाले संसदीय दलका नेता रावल संविधानको धारा १६८ को (२) अनुसार एमाले, माओवादी केन्द्र, नाउपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सदस्यको बहुुमत समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । रावलले आज विश्वासको मत लिनुपर्ने अन्तिम दिन थियो । 
 त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ । नेपालको संविधानअनुसार अब प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री बन्ने प्रावधान छ । कांग्रेस संसदीय दलको नेता  कमलबहादुर शाह हुन् ।  
 त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका १०, नाउपाका सात, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार