एमाले सरकार ढलेपछि सुदूरपश्चिम मुख्यमन्त्रीमा कांग्रेसका कमल शाहकाे दाबी

बिहीबार, माघ २६, २०७९
Global Ime Bank

काठमाडौं । एक महिनाअघि नियुक्त भएका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि सुदूरपश्चिम प्रदेशमा बिहीबार नै काँग्रेस संसदीय दलका नेताले मुख्यमन्त्री नियुक्त हुने अवसर पाएका छन् ।  प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् । शाहले बिहीबार साँझ प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख देवराज जोशीसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । शाहलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने र शुक्रबार शपथ ग्रहण गराउने तयारी छ ।
नेकपा एमालेका मुख्यमन्त्री राजेन्द्र रावलले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि संवैधानिक व्यवस्था अनुसार बिहीबार पदमुक्त भएका थिए ।  मुख्यमन्त्री रावलले राजीनामा दिएसँगै प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसका संसदीय दलका नेता कमल बहादुर शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् । शाह कैलाली निर्वाचन क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
अब उनको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुनेछ ।  संविधानको धारा १६८ (२)  अनुसार गठन भएको रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि अब संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन हुन लागेको हो ।
संविधानको धारा १६८ (३)  मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार