लुम्बिनीका मन्त्रीहरुले शपथ लिँदै

आइतबार, माघ २९, २०७९
Global Ime Bank

काठमाडा्रैं । मुख्यमन्त्री लीला गिरीले शनिबार विस्तार गरेको मन्त्रिपरिषद्का सदस्यले अहिले पद तथा गोपनियताको शपथ लिँदै छन् । नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो १ बजे प्रदेश राजधानीमा हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री गिरीले शनिवार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूको विभाग पनि तोकेका थिए । शनिवार नै राजीनामा दिएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसी पनि मन्त्रिपरिषद्मा छन् । उनलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रबाट मन्त्री नियुक्त केसीले बिनाविभागीय मन्त्रीको रूपमा रहँदा राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गरेको आरोप लागेपछि शनिबार पदबाट राजीनामा दिएकी थिइन् । तर आज विस्तार गरिएको मन्त्रिपरिषद्मा उनको नाम पनि समावेशछ । 
मुख्यमन्त्रीसहित मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । १३ वटा मन्त्रालयलाई घटाएर  १० वटा बनाइएको छ ।  लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन भने मन्त्रीहरूको जिम्मेवारी पनि तोकिएको थिएन ।
लुम्बिनी प्रदेश सरकार गठन भएको एक महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर सरकारलाई पूर्णता दिएका हुन् । यसअघि उनले  गत पुस २८ गते दुईजना बिनाविभागीयमन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । 
विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको एमालेबाट चार, माओवादी केन्द्रबाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका छन् ।
माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा आर्थिक मामिलामन्त्री,  एमालेका चेतनारायण आचार्य खानेपानी, ग्रामीण तथा सहरी विकास, माओवादी केन्द्रका इन्द्रजित थारू भैतिक पूर्वाधार विकास, एमालेका विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै माओवादी केन्द्रकी कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी, एमालेका दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, राष्ट्रिय प्रजातन्त्र पार्टीका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, एमालेका तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार