सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा पनि कोरोनाभाइरसका उत्परिवर्तित प्रकारहरू देखा परेकाले जनस्वास्थमा जोखिम बढेको छ । नेपालमा युरोपसहित विश्वका ५० भन्दा बढी देशमा फैलिएको यूके भेरिअन्ट र भारतमा पहिलोपटक पहिचान भएको डबल म्यूटन्ट भेरिअन्ट पहिचान भएका छन् । तीव्र गतिमा भाइरस उत्परिवर्तन हुँदै जाँदा एक पटक सङ्क्रमित भइसकेपछि वा कोभिड–१९ विरुद्धको खोपबाट बन्ने प्रतिरोध क्षमतालाई तिनले छल्न सक्ने जोखिम भएको जनस्वास्थ्यविद्हरू बताउँछन् । नयाँ स्वरूपका भाइरसहरू छिटो फैलिने मात्र नभई बढी सङ्क्रामक समेत भएको अध्ययनहरूले देखाएका छन् ।
स्वास्थ्य अधिकारीहरूका अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमणमा बालबालिका र किशोरकिशोरीहरू अघिल्लो पटकभन्दा बढी प्रभावित भेटिएका छन् भने ५० वर्षभन्दा कम उमेरका व्यक्तिहरू आईसीयूमा भर्ना हुने दर पनि अघिल्लो लहरभन्दा उच्च छ । ‘अघिल्लो लहरभन्दा यो पटक छोटो समयमा सङ्क्रमण फैलिएको त छ नै युवाहरूलाई नै अस्पताल भर्ना हुनुपर्ने र अक्सिजन दिनुपर्ने दर पनि बढी देखिएको छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक डा. शेरबहादुर पुनले भने । अघिल्लो लहरमा ६० वर्षभन्दा माथिका व्यक्तिहरूमा त्यस्तो अवस्था भएको उनले बताए । विज्ञहरूका अनुसार उत्परिवर्तनका क्रममा भाइरस कम वा बढी सङ्क्रामक र घातक बन्ने गर्छ । कोरोनाभाइरसको भारतीय भेरिअन्टबारे धेरै अध्ययन हुन बाँकी नै रहे पनि यूके भेरिअन्टको सङ्क्रमणदर बढी पाइएको प्रारम्भिक अध्ययनहरूले देखाएका छन् ।
उत्परिवर्तित भाइरसबाट कस्तो जोखिम ? जनस्वास्थ्यविद्हरू भाइरसले आफ्नो स्वरूपमा परिवर्तन गरिरहँदा यसको रोकथाम र निदानका लागि भएका प्रयासहरू नै निष्प्रभावी हुन सक्ने बताउँछन् । त्रिभुवन विश्वविद्यालयको सूक्ष्मजीवविज्ञान विभागका पूर्वप्रमुख डा. मेघराज बन्जारा उत्परिवर्तित भाइरसका कारण यसअघि नै सङ्क्रमण भएर प्रतिरोध क्षमता बनाइसकेका व्यक्तिहरूमा समेत पुनः सङ्क्रमणको जोखिम रहने बताउँछन् । डा.बन्जाराले भने, ‘अघिल्लो प्रजातिले सङ्क्रमण भएर हाम्रो शरीरमा विकास भएको प्रतिरोध क्षमता नयाँ प्रजातिलाई काम नलाग्ने हुन सक्छ ।’ ‘पहिला सङ्क्रमित भएको व्यक्तिलाई त्यही भेरिअन्टको भाइरससँग पहिचान र प्रतिरोध गर्ने क्षमता हुन्थे र फेरि सङ्क्रमण हुने सम्भावना कम हुन्थ्यो । तर नयाँ प्रकारको भाइरसमा त्यसले काम नगर्ने हुन सक्छ ।’
खोपको प्रभाव कस्तो हुन्छ? डा. बन्जाराका उत्परिवर्तन भएर नयाँ प्रकारका भाइरस बन्दा अहिलेसम्म बनेका र प्रयोगमा रहेका खोपहरूले समेत काम नगर्ने अवस्था आउन सक्छ । ‘जुनजुन प्रकारलाई लक्षित गरेर खोपहरू बनाइएका छन् ती खोपले नयाँ प्रकारमा काम नगर्न सक्छन’, उनले भने । ‘अहिलेसम्म पत्ता लागेका प्रकारमा खोपहरू प्रभावकारी हुने नै भनिएको छ । तर कुनै चरणमा खोपले लक्षित गरेको एन्टिजनमै भाइरस म्यूटन्ट भएर नयाँ भेरिअन्ट आएको अवस्थामा अहिलेकै खोपले समेत काम नगर्न सक्छ’, उनले भने । नेपालमा कोरोनाभाइरसका सिकिस्त बिरामीहरूलाई उपचारका लागि सङ्क्रमणमुक्त भइसकेका व्यक्तिको रगतबाट प्लाज्मा झिकेर दिने गरिएको छ ।
प्लाज्मा थेरपी प्रभावकारी हुन्छ कि हुँदैन ? भाइरस प्रतिरोधी क्षमता बढाउन गरिने यो उपचार पद्धति समेत उत्परिवर्तित भाइरसका कारण प्रभावहीन हुन सक्ने डा.लुना भट्ट शर्माले बताइन् । ‘प्लाज्मा दिने व्यक्तिलाई भन्दा लिने व्यक्तिलाई उत्परिवर्तन भइसकेको भाइरस रहेछ भने प्लाज्मा थेरपी विधिबाट गरिने उपचार समेत निष्प्रभावी हुन सक्छ । म्यूटेशन भनेकै शरीरमा भाइरसलाई पहिचान गर्न बनेको क्षमतालाई छलेर भाइरसले सक्रियता देखाउनु हो’, उनी भन्छिन् । कोरोनाभाइरस मात्र नभई हरेक सङ्क्रामक भाइरसहरूले समयसमयमा आफ्नो स्वरूप परिवर्तन गरेर वैज्ञानिक र स्वास्थ्य अनुसन्धाताहरूलाई चुनौती दिने गरेका छन् । नेपालमा अहिलेसम्म सुरु फैलिएको बाहेक कोरोनाभाइरसबाहेक दुईवटा भेरिअन्ट पहिचान गरिएको छ ।
तर अझ बढी भेरिअन्ट भेटिन सक्ने विज्ञहरू बताउँछन् । छिमेकी राष्ट्र भारतमा विश्वमा धेरै फैलिएका यूके, अफ्रिकी र ब्रजिलियन तीनवटै भेरिअन्ट तथा भारतमा विकसित नयाँ भेरिअन्ट फेला परेको अवस्थामा छ । गत फागुन महिनामा सङ्कलन गरिएका नमुनामध्ये १५ वटा नमुना जीन सीक्वन्सिङका लागि हङ्कङस्थित विश्व स्वास्थ्य सङ्गठनको प्रयोगशाला पठाइएकामा नौ जनामा यूके भेरिअन्ट र एक जनामा भारतमा देखिएको डबल म्यूटन्ट भेटिएको थियो । नेपालमा सङ्क्रमण फैलनुमा यूके भेरिअन्ट बढी जिम्मेवार रहेको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन् । केही नमुनामा अघिल्लो वर्षबाटै अस्तित्वमा रहेको पुरानो भाइरसको जीन भेटिए पनि दार्चुला र पोखराका नमुनामा फरक प्रकारको जीन भेटिएको थियो । डा. पुनका अनुसार नेपालमा दुईवटा भेरिअन्ट मात्र पहिचान भए पनि थप नमुना अध्ययन गर्ने हो भने नयाँनयाँ भेरिअन्ट भेटिन सक्छन् । ‘भारतमा भेटिएको डबल म्यूटन्ट नेपालमा आइसक्यो भने भारतमा त यूके, ब्रजिलियन र अफ्रिकन प्रकार पनि छन्। कतै ती प्रकारका कोरोनाभाइरस पनि नेपालमा आइसकेका पो छन् कि वा नेपालमा नै कुनै नयाँ प्रकार विकसित भएर फैलिइरहेको पो छ कि ?’ पुन भन्छन् । नेपालमा अहिले धेरैलाई सङ्क्रमण गरिहेको भेरिअन्ट कुन चाहिँ हो त यो पहिचान हुन जरुरी छ । ‘हामीले धेरै सीक्वन्सिङ गरेका छैनौँ त्यो पनि अलि अगाडिकै हो । यहाँ यसबीचमा अरू पनि धेरै भेरिअन्ट आइसकेका हुन सक्छन्’, डा. बन्जारा भन्छन्, ‘हामीले समयसमयमा सीक्वन्सिङ गरेर विश्वकै अन्य भेरिअन्टजस्तै छन् वा यहाँ नयाँ प्रकारको आएको छ भनेर जान्न आवश्यक छ ।’ यूके भेरिअन्टले सङ्क्रमण गर्दा गन्ध र स्वाद हराउने समस्या कम तर अस्पतालमा भर्ना हुने जोखिम बढी हुने र बालबालिका लागि पनि सुरुको भाइरसभन्दा थप घातक हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कृष्णप्रसाद पौडेलले गत साता स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा बताएका थिए । नेपालले भाइरसको भेरिअन्ट पहिचानका लागि कोरोनाभाइरस पोजेटिभ देखिएका तर आनुवंशिक गुण फरक देखिएका नमुनामध्ये केहीलाई हङ्कङ पठाएर पहिचान गर्दै आएको छ ।
भेरिअन्ट पहिचानका लागि एउटा नमुना परीक्षण गर्न करिब ६०,००० रुपैयाँ खर्च हुने टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताइन् । नेपालमा कोरोनाभाइरसका प्रकार छुट्टयाउन मिल्ने उपकरण ल्याइसकिएको भए पनि सबै कामका लागि स्रोतसाधन अपुग भएको उनको भनाइ छ । ‘हामीले एकदमै छिट्टै नै यसलाई चलाउने योजना बनाएका छौँ । त्यसपछि पनि सबै नमुनाको अध्ययन गरिरहनु आवश्यक हुँदैन । वर्षमा १,००० नमुनाको मात्र अध्ययन गर्ने लक्ष्य लिएका छौ’, उनले भनिन् । भाइरसको स्वरूपले स्वास्थ्य मापदण्ड र महामारी प्रतिकार्यमा फरक नपार्ने डा.झाले तर्क गरे पनि भाइरसको रोकथाम र निदानका लागि यसको उत्परिवर्तित स्वरूपबारे थाहा हुन हुन जरुरी रहेको डा बन्जारा बताउँछन् । ‘भोलि नयाँ प्रकारको भाइरस आइदियो भने त्यसलाई कसरी निदान र रोकथाम गर्ने भन्ने तयारीका लागि पनि अध्ययन जरुरी हुन्छ । नेपालमै यसको पहिचान गर्न सक्ने क्षमता विकास गर्न अत्यन्त आवश्यक हुन्छ’ उनले भने ।–बीबीसी