सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेजको स्थलगत अवलोकन गरेका छन् । कैलालीको गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको प्रधानमन्त्री प्रचण्डले आज स्थलगत अनुगमन निरीक्षण गरेका हुन् । सरकारले गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अघि बढाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय गरेको हो । गेटा मेडिकल कलेजको मोडालिटीका बारेमा सुदूरपश्चिम क्षेत्रका बिभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने वहालवाला तथा पूर्व सांसद, मन्त्री, विषय विशेषज्ञ, सरकारका मुख्यसचिव, शिक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।
सोमबार मेडिकल कलेजको अवलोकन निरीक्षण गरेपछि सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले भने, “शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनेर हिजो नै क्याबिनेट राखेर सैद्धान्तिक निर्णय भएको छ, अब व्यावहारिक रुपले यो मेडिकल कलेज चलाउनेतिर तीव्र गतिमा अगाडि जान्छ ।” मेडिकल कलेजको पूर्वाधार निर्माण समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले प्रधानमन्त्री प्रचण्डसमक्ष निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । गुरुयोजना बमोजिमका कलेजका झण्डै ४२ संरचना मध्ये २८ भवन संरचना तयार भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको छ । बाँकी संरचना हस्तान्तरणको चरणमा छन् । आगामी असारसम्म सबै संरचनाको निर्माण पूरा भइसक्ने जनाइएको छ । हाल खानेपानी, सडक पूर्वाधार जस्ता साना आयोजनाको काम निर्माणाधिन छन् ।
कलेज निर्माणमा हालसम्मको लागत पाँच अर्ब ४५ करोड रुपैयाँ रहेको छ । विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाका लागि संरचना निर्माण सुरु भएको थियो । गेटा मेडिकल कलेज छ सय शय्याको निर्माण गर्ने लक्ष्य छ । कलेज सञ्चालनसँगै स्वास्थ्य शिक्षाका उच्चस्तरको जनशक्ति उत्पादन हुने र स्वास्थ्योपचारको सेवा प्राप्त हुनेछ । प्रचण्डले आजै सुदूरपश्चिम प्रदेशका विकास आयोजनको पनि अनुगमन गर्नेछन् ।