सोसल मिडिया
Contact Us
युनिकोड
सोल । उत्तर कोरियाले शनिवार ‘अप्रत्याशित’ अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर ‘सी अफ जापान’मा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो । प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको छ । यो परीक्षण अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो ।
अमेरिकालाई चेतावनी यो अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो । ती सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएका छन् । प्योङ्याङका अधिकारीकाहरूले त्यस्ता कुनै अभ्यासहरूविरूद्ध ‘अभूतपूर्व रूपमा कडा’ प्रतिरोध गर्ने धम्की दिएका छन् जसलाई उनीहरूले उत्तर कोरियामा अतिक्रमण गर्ने तयारीका रूपमा बुझेको बताएका छन् । शनिवार सबेरै उत्तर कोरियाली नेता किम जङ–अनकी बहिनी किम यो–जङले पुनः यसलाई दोहोर्याएकी थिइन् । उनले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको ‘कडा र भयानक’ जवाफहरू हुने बताइन् । उनले अमेरिकालाई उत्तर कोरियाली शासनलाई ‘खतरा’ मा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गरिन् ।
‘सोललाई निशानामा नपारिने’ किम यो–जङले दक्षिण कोरियाली राजधानी सोल भने उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा नपारिने बताइन् । शुक्रवार उत्तर कोरियाले उसको विशाल सैन्य क्षमता एउटा परेडमार्फत देखाएको थियो जसमा एक दर्जनभन्दा बढी सङ्ख्यामा आईसीबीएमहरू थिए । नयाँ वर्षको दिनपछि शनिवार पहिलोपटक क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो जुन होकाइदोको पश्चिमपट्टि जापानको विशेष आर्थिक क्षेत्रमा साँझको ६ बजेर २७ मिनेटमा खसेको जापानी प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् । त्यो जापानको तटभन्दा २०० नटिकल माइल पर हो ।
कस्तो क्षेप्यास्त्र ? जापान सरकारका प्रवक्ताले टोक्योमा बताए अनुसार उक्त क्षेप्यास्त्र ५,७०० किलोमिटरको उचाइमा पुगेको थियो । अन्तरिक्षको छेउ झण्डै १०० किलोमिटर हुनेमा यो निकै नै माथि हो । तर उत्तर कोरियाली क्षेप्यास्त्र उडेको अहिलेसम्मकै सर्वाधिक उचाइ भने होइन । नोभेम्बरमा एउटा आइसीबीएम ६,१०० किलोमिटरको उचाइमा पुगेको थियो । यसअघि सन् २०२२ को ज्यानुअरीमा उत्तर कोरियाले पृथ्वीका अभूतपूर्व तस्बिरहरू सार्वजनिक गर्दै ती २,००० किलोमिटर माथि पुगेको क्षेप्यास्त्र प्रहारका क्रममा खिचिएको जनाएको थियो ।–बीबीसी