उत्तर कोरियामा चरम खाद्य सङ्कट

बुधबार, फागुन १०, २०७९

सोल ।  उत्तर कोरियाले चरम खाद्य सङ्कट बेहोरिरहेको विज्ञहरूले औँल्याएका छन् । त्यहाँ यस्तो खालको सङ्कट उत्पन्न भएको पहिलो पटक भने हैन । तर सीमामा गरिने कडाइ, खराब मौसम र अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण केही वर्षयता त्यहाँको स्थिति अझ बिग्रिएको छ । राज्यद्वारा नियन्त्रित सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाका उच्चपदस्थ अधिकारीहरूले कृषिनीतिमा ‘आधारभूत परिवर्तन’ गर्ने विषयमा फेब्रुअरी महिनाको अन्त्यमा छलफल गर्ने अपेक्षा गरिएको छ ।
खेतीपातीमा समस्या देखा परेका बेला यो ‘एकदमै महत्त्वपूर्ण र अत्यावश्यक कार्य’ भएको टिप्पणी समाचारहरू सङ्ग्रह गर्ने बेवसाइट ‘केसीएनए वाच’ले जनाएको छ । प्योङ्याङले आफ्नो सैन्य शक्तिको प्रदर्शन जारी राखेका बेला यस्तो समाचार आएको हो ।

सहयोगको आग्रह
दक्षिण कोरियाको एकीकरण मन्त्रालयले उत्तरमा खाद्यान्न अभाव भएको जानकारी दिँदै राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीलाई सहयोग गर्न आग्रह गरेको छ । दक्षिण कोरियाली निकायहरूबाट सङ्कलित स्याटलाइट तस्बिरहरूले उत्तर कोरियामा सन् २०२१ मा भन्दा सन् २०२२ मा १.८० लाख टन कम खाद्यान्न उत्पादन भएको सङ्केत गरेका छन् ।
गत जुनमा डब्ल्यूएफपीले खडेरी र बाढीजस्ता चरम मौसमी अवस्थाले जाडो र वसन्तयामका बालीको उत्पादन घटाउन सक्ने चिन्ता व्यक्त गरेको थियो ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले पनि गत वर्षको अन्त्यमा देशले ‘दोस्रो सबैभन्दा खराब’ खडेरी परेको जनाएको थियो ।
उत्तर कोरियासँग सम्बन्धित विषय प्रकाशन गर्ने वेबसाइट 38North.org सँग आबद्ध बेन्जामिन काट्सेफ सिल्बर्स्टाइन पूर्वानुमान गरिएअनुसार यस वर्ष खाद्यान्नको मूल्य बढेको र मानिसहरू सस्तो विकल्पतिर लागेको बताउँछन् । उत्तर कोरियामा चामलको तुलनामा मकै कम रुचाइन्छ । तर माग वृद्धि भएसँगै मकैको भाउ सन् २०२३ को सुरुमा २० प्रतिशतले बढेको जापानबाट प्रकाशित हुने उत्तर कोरियाली पत्रिका रिम्जिन–गाङले लेखेको छ ।
‘मानिसहरूले धेरै मकै किन्नु भनेको समग्रमा खाद्यान्न र विशेषगरी चामलजस्ता मुख्य अन्नको भाउ महँगो हुँदै जानु हो’, सिल्बर्स्टाइनले भने । एक किलो मकैको मूल्य अहिले झन्डै ३,४०० स्थानीय मुद्रा अर्थात् ३.८० डलर पुगेको छ ।

गरिबी
उत्तर कोरिया विश्वका गरिब देशहरूको सूचीमा पर्छ । नयाँ आर्थिक आँकडाहरू पाउन सहज छैन तर सीआईए वर्ल्ड फ्याक्टबुकले सन् २०१५ मा उक्त देशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,७०० अमेरिकी डलर जति रहेको अनुमान गरेको थियो । उसका अनुसार उत्तर कोरियाको अर्थतन्त्र अपारदर्शी भएकाले त्यहाँको वास्तविक स्थिति र तथ्याङ्क अस्पष्ट छ । एनके न्यूजका विश्लेषक जेम्स फ्रेटवेलले भने, ‘उत्तर कोरियाले कोभिडका कारण सीमामा लागु गरेका कडा प्रतिबन्धहरूका कारण त्यहाँ बाहिरबाट गएर विवरण सङ्कलन गर्न सकिँदैन ।’ सीमामा लागु प्रतिबन्धका कारण बाहिरका सङ्गठनहरूलाई सङ्कटको समयमा त्यहाँ सहयोग पठाउन पनि गाह्रो बनाएको बताए ।

धान रोप्दै उत्तर कोरियाली किसान
उत्तर कोरियाले सन् २०२० को ज्यानुअरीदेखि सीमापार व्यापार र यातायातमा कडाइ गरेको छ ।
गैरनाफामूलक संस्था लिबर्टी इन नोर्थ कोरिया (लिङ्क) का दक्षिण कोरिया निर्देशक सोकील पार्कले महामारीप्रति उत्तर कोरियाली शासनले अपनाएको शैलीलाई ‘चरम र पागलपन’ को सङ्ज्ञा दिएका छन् ।
उनको सङ्गठनले उत्तर कोरियाली शरणार्थीहरूलाई दक्षिण कोरिया वा अमेरिकामा पुनर्वास गराउन सहयोग गर्छ । उनका अनुसार उत्तर कोरियामा आधारभूत आवश्यकताको आपूर्ति महामारीको सुरु भएदेखि नै घट्दै गएको छ । आफ्नो संस्थाले मानिसहरू भोकभोकै मर्ने स्थिति आउन सक्ने कैयौँ विश्वसनीय खबरहरू प्राप्त गरेको उनले बताए ।

सहयोग पनि घट्यो
उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायले प्रदान गर्ने मानवीय सहायता पनि घटेको छ । मानवीय सहायतासम्बन्धी मामिलाको समन्वय गर्ने संयुक्त राष्ट्रसङ्घीय कार्यालयले गत वर्ष उत्तर कोरियाले अन्तर्राष्ट्रिय संस्थाहरू र अन्य सहायता निकायबाट २३ लाख डलर मात्र प्राप्त गर्‍यो । त्यस्तो सहायता सन् २०२१ मा १.४० करोड डलर थियो । लामो समयसम्म सीमा बन्द हुँदा त्यसो भएको हुनसक्ने राहतकर्मीहरूले बताएका छन् ।
उनीहरूका भनाइमा उत्तर कोरियाको सैन्य उक्साहटको प्रतिक्रियामा कडा अन्तर्राष्ट्रिय समुदायले लगाएका प्रतिबन्धहरूका कारण पनि मानवीय सहायताको आपूर्तिमा अवरोध पुगेको छ ।
यद्यपि त्यहाँ अहिले सीमापार आर्थिक गतिविधि फेरि सुरु हुन थालेको सङ्केत देखा परेको छ । निकेई एशियाले गत साता उत्तर कोरिया र चीनबीच केही ट्रकले ओहोरदोहोर गरेको जनाएको छ । उत्तर कोरियाको ९० प्रतिशत व्यापार चीनसँग हुन्छ ।

सैन्य खर्च
उत्तर कोरियाले सैन्य क्षेत्रमा धेरै खर्च गर्छ । यसै महिनाको सुरुमा प्योङ्याङमा आयोजित सैन्य परेडमा आईसीबीएम अर्थात् अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्रहरू प्रदर्शन गर्‍यो । पार्कका अनुसार उत्तर कोरियाली शासकले क्षेप्यास्त्रको क्षमता विस्तार र प्रचारबाजीमा ठूलो स्रोत परिचालन गरेका छन् र त्यसको सामाजिक मूल्य चर्को पर्न गएको छ । प्योङ्याङले गत वर्ष सर्वाधिक सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले गत वर्ष ७० वटाभन्दा बढी क्षेप्यास्त्र परीक्षण गर्‍यो । परीक्षण गरिएका क्षेप्यास्त्रहरूमा अर्को महादेशसम्म पुग्ने क्षमता भएका आईसीबीएमहरू पनि छन् ।

उत्तर कोरिया उत्तर कोरियाले बनाएका आईसीबीएमहरू अमेरिकाको मुख्य भूमिसम्म पुग्न सक्ने ठानिएको छ ।  विज्ञहरू स्थिति अझ बिग्रिने खतराबारे चिन्तित बनेका छन् । उत्तर कोरियामा सन् १९९० को दशकको मध्यदेखि अन्त्यसम्म ठूलो अनिकाल परेको थियो । त्यस बेला छ लाखदेखि १० लाख जनाको मृत्यु भएको बताइन्छ । त्यस्तो स्थिति दोहोरिन सक्ने भन्दै विज्ञहरू चिन्तित बनेका हुन् । ‘सन् १९९० को दशकको जस्तो अनिकाल पर्ने स्थिति त अहिले छैन तर त्यो सीमा निकै कमजोर छ’, सिल्बर्स्टाइनले भने । ‘त्यसैले खाद्यपदार्थको आपूर्ति अलिकति घट्दा पनि पनि परिणाम विकराल बन्न सक्छ’, सिल्बस्र्टाइनले भने ।–बीबीसी  

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार