अतिकम विकसित मुलुकहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहिलो विदेश भ्रमण कतारबाट सुरु हुन लागेको छ । कतारको दोहामा हुने अतिकम विकसित मुलुकहरु (एलडिसिज) को पाँचौं सम्मेलनमा सहभागी हुन यही फागुन १९ गते प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्दै छन् ।
प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते त्यसतर्फ जाने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको पररराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका केही कार्यक्रममा पनि सहभागी हुने मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । सो अवसरमा प्रधानमन्त्री दाहाल साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने छन् ।
एलडिसिजको पाँचौँ सम्मेलनका क्रममा विषयगत आठ गोलमेच बैठक हुने र त्यसमध्ये तीन बैठकमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ । फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन् ।
सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६औँ वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्नेछन् । नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ ।