कोरोना संक्रमित महिलालाई प्रसुति गृहको छुट्टै अस्पताल 

मंगलबार, वैशाख २१, २०७८

काठमाडौं । थापाथलीस्थित परोपकार तथा प्रसुति गृहले कोरोना संक्रमित महिलाका लागि ५० एचडियू बेड भएको छुट्टै अस्पताल सञ्चालन गरेको छ । अस्पतालकी निर्देशक डा. संगीता मिश्राका अनुसार मंगलबारदेखि एचडियू बेडको छट्टै अस्पताल सञ्चालनमा ल्याइएको हो । उनले शब्दपाटीसँग भनिन्, ‘हामीसँग छुट्टै भवन थियो, त्यसमा एचडियू बेड सहितको छुट्टै अस्पताल सुरु गरेका हौं ।’ 
उनले कोरोना संक्रमित सामान्य महिला र  संक्रमित गर्भवती÷ सुत्केरीले एचडियू बेडको सुविधा पाउने जानकारी दिइन् । ‘बेड अभावमा महिलाले उपचार पाएनन् भन्ने खबर आइरहेको थियो, यस्तो सुन्दा नराम्रो लाग्यो, उहाँहरुलाई सेवा दिन सुरु गरेका हौं’, अस्पतालकी निर्देशक मिश्राले भनिन् । प्रसुति गृहले एचडियू बेड भने कुपण्डोलस्थित आफू मातहतको नर्सिङ कलेजमा स्थापना गरेको छ । ५० बेडको यो एचडियूमा ३० बेड कोरोना संक्रिमत सुत्केरी र गर्भवती नभएका महिलालाई छुट्याइएको छ । २० बेडबाट भने गर्भवती र सुत्केरीले सेवा पाउने छन् । एचडियुमा सिकिस्त भएका बिरामीलाई सिधै भर्ना गरिने छैन । प्रसुति गृहसँग पिसिआर मेसिन, प्राविधिक, फिजिसियन डाक्टरलगायतको सुविधा नभएकोले टेकु अस्पतालले जाँच गरेर पठाएका बिरामीलाई मात्रै राख्ने व्यवस्था गरिएको छ । ‘टेकु अस्पतालमा आइसियु वा भेन्टिलेटरबाट एचडियूमा सार्नुपर्ने बिरामीलाई हाम्रो एचडियुमा पठाइदिन भनेका छौं, टेकु अस्पतालले सहमति जनाएको छ’, अस्पतालकी निर्देशक मिश्राले भनिन् । सरकारले एचडियू स्थापना गर्न प्रसुति गृहलाई ५ करोड रुपैयाँ उपलब्ध गराएको थियो । अस्पताललाई एचडियू स्थापना गर्नैपर्ने बाध्यता  थिएन । स्वास्थ्य संकटका बेला  चिकित्सक र नर्सको विशेष भूमिका हुने बताउँदै विषम परिस्थितिमा जनतालाई राहत दिन यो काम गरेको उनले बताइन् । 
अघिल्लो वर्ष  प्रदेश नं १ को कोशी अस्पतालको प्रमुख भएर कोरोना महामारी सुरु हुँदा काम गरेको अनुभवले अहिले काम गर्न धेरै सजिलो भएको उनी बताउँछिन् । त्यति बेला  सरकारले आकस्मिकबाहेक सबै सेवा बन्द गर्न अस्पताललाई निर्देशन दिएको थियो । उनले भने कोशीमा सबै सेवालाई निरन्तरता दिने र कोरोनाको उपचारका लागि छुट्टै अस्पताल स्थापना गर्न नेतृत्व गरेकी थिइन् । उनले भनिन्, ‘त्यो बेलाको अनुभवले पनि पनि कसरी व्यवस्थापन गर्ने भन्ने थाहा भयो, त्यो अनुभवले प्रसुतिमा काम गर्न बल दियो ।’
 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार