सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का शान्ति तथा मानवअधिकार सल्लाहकार गोविन्दप्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले स्वीट्जरल्याडको जेनेभामा जारी संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को ५२औँ सत्रको उच्चस्तरीय बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका छन् । उनले परराष्ट्रमन्त्रीलाई रिप्लेस गरी प्रधानमन्त्री प्रचण्डले आफ्नो सल्लाहकार बनाइ जेनेभा पठाएका थिए । गोविन्द बन्दीले सम्मेलनलाईसम्बोधन पनि गरिसकेका छन् । सम्मेलनमा उनले बढ्दो द्वन्द्व र जनताका आधारभूत आवश्यकता पूरा हुन नसक्दा मानवअधिकार र मानवीय मर्यादाको उपभोग गर्न जनतालाई कठिनाइ भएकामा जोड दिएका थिए । पूर्वमन्त्रीसमेत रहेका बन्दीले मानवअधिकारको विश्वव्यापी घोषणापत्रको ७५ औँ वार्षिकोत्सव मनाइरहँदा अन्तर्राष्ट्रिय समुदायलाई मानवअधिकारको विश्वव्यापी प्रवद्र्धन र संरक्षणका लागि ठोस प्रयास गर्न आह्वान गरे । सल्लाहकार कोइरालाले नेपालको संविधानले न्यायिक स्वतन्त्रता, कानुनको शासन, प्रेस स्वतन्त्रता, नागरिक अधिकारलगायतको प्रत्याभूति गरेको उल्लेख गर्दै संविधानअन्तर्गत नागरिक तथा राजनीतिक अधिकार मात्र नभई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसमेत लागू गर्न सकिने बताएका थिए । उनले नेपालको कानुनी संरचनाले यौन र लैङ्गिक हिंसालाई कडाइका साथ निषेध गरेको उल्लेख गर्दै जातीय भेदभावलाई कानुनले कडाइका साथ निषेध गरेको र त्यस्ता कार्यको कडाइका साथ अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने व्यवस्था रहेको अवगत गराएका थिए । सङ्क्रमणकालीन न्यायका विषयमा कोइरालाले भने, “समाजमा मेलमिलापको दिशामा अघि बढ्दै गर्दा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पु¥याउने तथा द्वन्द्वपीडितलाई न्याय र परिपूर्ति उपलब्ध गराउन नेपाल प्रतिबद्धता दोहो¥याउँछ । यस प्रयासमा हामी विस्तृत शान्ति सम्झौता, नेपालको सर्वोच्च अदालतको निर्देशन र सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धताका साथै पीडितको सरोकारबाट निर्देशित हुनेछौँ ।” बेपत्ता पारिएका तथा सत्य निरुपण मेलमिलापसम्बन्धी आयोग ऐनको संशोधन सरकारको उच्च प्राथमिकतामा रहेको र त्यसको नयाँ संशोधन विधेयक छिट्टै संसद्मा पेस हुने समेत उनले उल्लेख गरेका छन् । गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी नहुने पनि सल्लाहकार कोइरालाले आश्वस्त पारे । उनले नेपालको राष्ट्रिय मानवअधिकार आयोगलाई ‘क’ दर्जाको उपभोग गरिरहने गरी पेरिस सिद्धान्तको पालना सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।