बिग्रँदो आर्थिक अवस्थाप्रति प्रधानमन्त्रीकाे चासो 

आइतबार, फागुन २१, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको सुस्त आर्थिक अवस्थाबारे जानकारी लिएका छन् । सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री दाहालले आर्थिक अवस्थाका बारमो चासो राखेका हुन् । 
छलफलमा प्रधानमन्त्री दाहालले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको जानकारी गराएका थिए । त्यस क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी छलफलमा प्रधानमन्त्रीले बैंक ब्याज, लघुवित्त संस्थाका समस्या, व्यवसायीहरुको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलगायतका विषयलाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गरेका थिए । 

Pm11678021440.jpg
अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै उनले छलफलमा भनेका थिए,  ‘आजको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानमा केन्द्रित हुनेछ । यसलाई कसरी समाधान गर्न सकिन्छ, तपाईंहरूको सुझावको अपेक्षा गरेको छु । आवश्यकताअनुसार उच्चस्तरीय आयोग नै बनाउन पनि सकिन्छ ।’
प्रधानमन्त्री  प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र त्यसलाई समाधान गर्ने बताए । 
प्रधानमन्त्रीले छलफलमा भनेका छन, “बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासा देखिएका छन् । लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन् । व्यवसायीले विभिन्न ढङ्गले चासो र चिन्ता राखेका छन् । यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन् । यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु ।”
मुलुकको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषद्को पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको स्मरण गरे । 

Pm21678021440.jpg
“आजको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानमा केन्द्रित भयो । सरकार अर्थतन्त्रका समस्या समाधान गर्न तल्लीन छ”, उनले भने, “बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु ।”
बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराएका थिए । अर्थतन्त्रका सूचक सकारात्मक दिशातर्फ अग्रसर रहेको उनको भनाइ छ । 
बैठकमा मुख्यसचिव, अर्थ सचिव, उद्योग वाणिज्य महासंघका पदाधिकारी, विभिन्न व्यावसायिक संगठनका प्रतिनिधि, बैंकर एसोसिएसनका प्रतिनिधिलगायतको उपस्थिति थियो । उनीहरुले आफ्ना तर्फबाट धारणा राखेका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार