सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चैत्र शुक्ल पूर्णिमादेखि शुरु भएको बज्रयोगिनीको जात्रालाई साँखुको मुख्य बजार क्षेत्रमा घुमाउने विधि मङ्गलबार समापन गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुरु गरिएको थियो । जात्रा वैशाख शुक्ल अष्टमी अर्थात् मङ्गलबारसम्म साँखु बजार क्षेत्रमा मनाउने गरिन्छ । राजा शङ्खदेवको पालामा कलिगत संवत् १८१८ देखि शुरु भएको ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण जात्रा गत वर्ष कोरोनाबाट बच्न लगाइएको बन्दाबन्दीका कारण स्थगन गरिएको थियो । जात्रामा प्रत्येक खट ५० मिटरको फरकमा राखेर गरिएको तथा चलाखु टोल सुधार समितिले मास्क र स्यानिटाइजरसमेत वितरण गरेको बज्रयोगिनी जात्रा व्यवस्थापन समितिका संयोजक प्रज्ज्वलमान सिंले जानकारी दिए । जात्रामा बज्रयोगिनी उग्रतारा, चैत्यभराद (बुद्धमूर्ति), सिंहिनी र व्याघ्रिनीका चार मूर्ति खटमा राखेर जात्रा गर्ने परम्परा छ ।
तीन हजार ३०० वर्षमा तीनपटक जात्रा स्थगित तीन हजार ३०० वर्षभन्दा लामो इतिहास भएको जात्रा गत वर्षसमेत तीनपटक रोकिएकाले पनि यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर गरिएको व्यवस्थापन समितिले जनाएको छ । राजा रणबहादुर शाहको शासनकालमा बिफर रोगको महामारी र विसं १९७० मा बज्रयोगिनी मन्दिरमा आगलागी भएका कारण जात्रा रोकिएको साँखु क्षेत्रको सांस्कृतिक विषयमा अध्ययन अनुसन्धान गरिरहे का प्रकाशमान श्रेष्ठ ‘सक्व’ले जानकारी दिए । शङ्खरापुर नगरपालिका वडा नं ४, ७ र ८ को बीचमा रहेको बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ । खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ । यस वर्ष चलाखु टोलमा खट राख्ने पालो परेको थियो । धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी राख्ने गरिएको साँखु क्षेत्रको ऐतहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक खोज अभियानमा लाग्नुभएका ‘सक्व’ ले जानकारी दिए । गत वर्ष भीडभाड नगर्ने उद्देश्यले खट जात्रा नगरिए पनि पुजारीबाट हुने पूजा आराधना र नाथ सम्प्रदायका योगीले गर्ने पूजालगायत विधि भने पूरा गरिएको थियो । यस वर्ष स्वास्थ्यका मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गर्दै जात्रा सम्पन्न गरेर छोड्ने समितिको प्रतिबद्धता छ । गत बिहीबार मूल जात्रा चलाउने÷नचलाउने विषयमा दुई पक्षबीच विवाद भए पनि शुक्रबार बिहान बजार क्षेत्रलाई निर्मलीकरण गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर जात्रा सम्पन्न गर्ने सहमति भएको थियो ।
सतर्कतासाथ जात्रा सम्पन्न गरिँदै लामो छलफल र सहमतिपछि साँखुको मूलजात्रा सुरक्षा सतर्कताकासाथ सम्पन्न गरिँदै छ । जात्राअघि र जात्राको भोलिपल्ट समेत साँखु जेसिजले साँखु बजारभरि नै निर्मलीकरण गरेको छ । जात्रा शुरु गर्नुअगावै साँखु बजारका सम्पूर्ण पसल बन्द गराइएको छ । स–साना बालबालिकालाई सडकमा नल्याउन अनुरोध गरिएको थियो । जात्रामा साँखु बाहिरबाट पाहुना आउन रोक लगाइएको छ । जात्रा हेर्ने दर्शकलाई समेत मास्क अनिवार्य गरिएको थियो । दश वर्षमुनिका बालबालिकालाई घरघरबाट मात्रै जात्रा हेर्न अनुरोध गरिएको थियो । जात्रामा खट बोक्ने युवाको समूहसमेत भौतिक दूरी कायम गरेर सहभागी गराइएको थियो । जात्रा सञ्चालनअघि नै सबै देवीदेवताका खट स्यानिटाइज गरिएको थियो । जात्राको खट बोक्ने सबै युवालाई पनि मास्क अनिवार्य गरिए को थियो । जात्रा सकिएपछि पुनःस्यानिटाइज गरेपछि मात्रै मानिसलाई घरघरमा जान दिइने गरिएको छ । मङ्गलबार बेलुकी ‘थहाँ बिज्या’ बज्रयोगिनी मातासहित चैत्य भराड र सिंहिणी ब्याघ्रिनीकोसमेत रथारोहण गरिएको छ । राति पनि केही बेर जात्रा हुने जनाइएको छ । आज बिहान करिब ७ बजेपछि पुनः जात्रा शुरु हुन्छ । आठ बजे पञ्चबुद्धको मुकुटलगाएका बज्राचार्य पुजारी रथबाट उत्रिएर साँखु बजार बाहिर कोलागाल पुग्ने परम्परा छ । कोलागालमा सबै देवीदेवतालाई अगाडि पछाडि गर्दै खेलाउने गरिन्छ । त्यसपछि कोलागालको कुलोभन्दा पर पु¥याएर साँखु बजारको समूहले जात्राका देवीदेवताका सबै रथ त्यहीँ छोडिदिन्छन् । यो विधि पूरा भएपछि साँखु बजारका स्थानीयवासीले गर्ने जात्रा सकिन्छ । बुधबारपछि साँखु बजारमाथि जात्रा यसपछि घुमारचोक, लप्से र डाँडाकटेरीका तामाङ समुदायका स्थानीयवासीले जात्रा चलाउँछन् । बजारभन्दा माथिल्लो भेगका स्थानीयवासीले श्री बज्रयोगिनी माता फर्काउने जात्रालाई आफ्नो घरमा फर्काउने भन्दै देवीदेवताको जात्रा उल्लासमय रूपले गर्दछन् । जात्रापछि वैशाख कृष्ण नवमीका दिन भोजसमेत गर्ने परम्परा छ । जात्राका देवीदेवता बज्रयोगिनी मन्दिर परिसर पु¥याएपछि ‘थहाँ बिज्या’ को कार्यक्रम सकिन्छ । तीन दिनपछि राजारानीका तर्फबाट मन्दिरमा पूजासहित भोज खाने गरिन्छ । चार दिनपछि पुनः राजाको खड्ग लिएर साँखु बजार परिक्रमा गरिन्छ । राजाको खड्ग बिदाइसँगै साँखु जात्रा समापन गरिने विधि रहेको छ ।