माओपछिकै प्रभावशाली नेताका रूपमा देखिए सी

चिनियाँ राष्ट्रपतिमा सी जिन्पिङको ऐतिहासिक तेस्रो कार्यकाल सुरु

शुक्रबार, फागुन २६, २०७९
मयुर प्लाई

बेइजिङ । चिनियाँ नेता सी जिन्पिङले देशको ‘रबरस्ट्याम्प’ संसद्‌बाट ऐतिहासिक रूपमा राष्ट्रपतिमा आफ्नो तेस्रो कार्यकाल सुनिश्चित गरेका छन् । योसँगै हुने शक्ति सञ्चयले ६९ वर्षीय सी कैयौँ पुस्तापछि चीनको सबैभन्दा प्रभावशाली नेता बनेका छन् । चिनियाँ शासन प्रणालीमा राष्ट्रपतिको भूमिका धेरैजसो आलङ्कारिक रहने गरेको छ ।
सीको शक्ति कम्युनिस्ट पार्टीको महासचिव र चिनियाँ सैन्य आयोगको अध्यक्षका रूपमा आउँछ । एनपीसीलाई चीन सरकारको छाया मात्र मानिन्छ । राष्ट्रपतिमा तेस्रो कार्यकाल हुने कुरा व्यापक रूपमा अपेक्षित थियो ।
आउँदा दिनमा नयाँ प्रधानमन्त्री र कैयौँ मन्त्रीहरूको नियुक्ति अझ महत्त्वपूर्ण रूपमा हेरिएको छ । नयाँ नियुक्ति पाउने सबैजना सी जिन्पिङका वफादार व्यक्तिहरू हुने ठानिएको छ । जसमा ली चियाङ सी जिन्पिङपछिका नेताका रूपमा रहने ठानिएको छ । सरकारविरोधी प्रदर्शनहरू निम्त्याएको सीको शून्य कोभिड नीतिबाट चीन खुला हुँदै गर्दा उनले आफ्नो शासनलाई मजबुत पारेका हुन् ।

माओपछिकै प्रभावशाली
टू सेसन्स भनिने नेशनल पीपल्स कङ्ग्रेस (एनपीसी) र चाइनिज पीपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का यस साताका बैठकहरूले चीनमा आउँदा वर्षको लागि कस्तो बाटो देखाउने भन्ने झलक दिने भएकाले तिनलाई चासोपूर्वक हेरिएका छन् । माओ त्सेतुङपछि चीनमा नेताहरू दुई कार्यकालसम्म पदमा रहने सीमा राखिएका थिए । सन् २०१८ मा उनले उक्त व्यवस्थालाई परिवर्तन गरेपछि उनी माओपछिको प्रभावशाली नेताका रूपमा देखिएका छन् ।
बेइजिङमा हुने ‘द टू सेसन्स’

  • वार्षिक रूपमा आयोजना हुने चीनको विधायिकी निकाय र शीर्ष राजनीतिक परामर्शदाता निकायका बैठकहरू हुन् जसमा देशभरिबाट हजारौँको सङ्ख्यामा प्रतिनिधिहरू सहभागी हुन्छन् ।
  • नेशनल पीपल्स कङ्ग्रेस (एनपीसी) चीनमा संसद सरहको निकाय हो । सैद्धान्तिक रूपमा यो राज्यको सबैभन्दा शक्तिशाली निकाय हो । वास्तविकतामा भने यसले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीका लागि ‘कठपुतली’का रूपमा काम गर्दै पहिल्यै निर्णय भइसकेका विषयमा महत्त्वपूर्ण कानुनहरू बनाउँछ ।
  • द चाइजिज पीपल्स पलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) को भने कुनै वास्तविक विधायिकी शक्ति छैन। यसमा समाजका विभिन्न क्षेत्रका मानिसहरू सहभागी हुन्छन् । नयाँ सामाजिक र आर्थिक विषयबारे जान्न त्यहाँ हुने बहसहरू महत्त्वपूर्ण हुन्छन् ।–एजेन्सी 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार