मूल्यवृद्धिले सीमा नाध्यो

सीमा सात प्रतिशत, पुग्यो ७.८८ प्रतिशत
आइतबार, फागुन २८, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । उपभोक्ता मूल्यवृद्धिले सरकारले राखेको बाञ्छित सीमा नाघेको छ । चालु आर्थिक वर्ष २०७९-८० मा सात प्रतिशतभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारले लक्ष्य छ ।  तर नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ८८ प्रतिशत पुगेको देखिएको हो । गत आर्थिक वर्षको यही अवधिमा उपभोक्ता मुद्रास्फीति छ दशमलव २४ प्रतिशत थियो । 
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति छ दशमलव १९ प्रतिशत र गैर– खाद्य तथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव २२ प्रतिशत छ । 
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव २४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२ दशमलव ३९ प्रतिशत र सुर्तीजन्य पदार्थको १० दशमलव ८३ प्रतिशतले बढेको छ । 
त्यस्तै, मदिराजन्य पेयपदार्थमा आठ दशमलव ७८ प्रतिशत र मरमसलामा आठ दशमलव ०४ प्रतिशतले मूल्यवृद्धि देखिएको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १५ दशमलव ५८ प्रतिशत र स्वास्थ्य क्षेत्रको १० दशमलव ३९ प्रतिशतले बढेको छ ।
त्यसैगरी, घरायसी उपयोगका वस्तुको मूल्यवृद्धि नौ दशमलव ७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको नौ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ८१ प्रतिशतले बढेको छ । 
राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा काठमाडौँ उपत्यकामा आठ दशमलव ४७ प्रतिशत, तराईमा सात दशमलव ८२ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा सात दशमलव ९२ प्रतिशत मूल्यवृद्धि देखिएको छ ।
गत वर्ष माघ महिनामा यी क्षेत्रमा क्रमशः पाँच दशमलव ४७ प्रतिशत, छ दशमलव ५० प्रतिशत, छ दशमलव ७१ प्रतिशत र पाँच दशमलव ९७ प्रतिशत मुद्रास्फीति रहेको थियो । 

गत माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव ६७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १० दशमलव ३४ प्रतिशत रहेको थियो ।

आयातसँगै निर्यात पनि घट्यो
चालु आर्थिक वर्ष २०७९-८० को सात महिनामा आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको सात महिनाको तथ्याङ्कअनुसार आयात १९ दशमलव ९ र निर्यात २९ प्रतिशतले घटेको हो ।
राष्ट्र बैंकका अनुसार सात महिनामा रू ९३ अर्ब ४३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात गरेको । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव ३ प्रतिशतले बढी हो । सो अवधिमा भारत र चीनतर्फको निर्यातमा कमी आउँदा अन्य देशको निर्यातमा भने वृद्धि भएको छ । भारतमा ३७ दशमलव ७ प्रतिशत, चीनमा १३ दशमलव ४ प्रतिशतले कमी आउँदा अन्य देशको निर्यातमा ८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।
नेपालबाट जिङ्क सिट, अलैँची, पार्टिकल बोर्ड, ऊनी गलंँैचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।सात महिनाको अवधिमा नेपालले रु नौ खर्ब १८ अर्ब १७ करोड बराबरको विदेशी वस्तु आयात छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको भए पनि चालु आवको सोही अवधिको तुलनामा १९ दशमलव ९ प्रतिशतले आयात घटेको हो ।  सो अवधिमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टस्, औषधि, एमएस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ । 
सात महिनामा भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ, भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

सवा आठ खर्ब व्यापार घाटा

आयात निर्यात दुवै घट्दा नेपालको व्यापार घाटा पनि घटेको छ । चालु आवको सात महिनाको अवधिमा नेपाललको व्यापार घाटा १८ दशमलव ७ प्रतिशतले घट्दा रू आठ खर्ब २५ अर्ब ७३ करोड कायम भएकोे छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ७१ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु एक सय २८ अर्ब १७ करोड बराबरको भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार