बट्टाईपालनमा युवा आकर्षित 

बुधबार, वैशाख २२, २०७८

बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका­३ मनकामनामा मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । मानबहादुरले व्यावसायिकरूपमा बट्टाई पालन गर्न लागेको धेरै समय भने भएको छैन तर उनको मेहेनत र लगनले गर्दा छोटो समयमा राम्रो प्रतिफल लिन सफल भएका छन् । रक्तिम सांस्कृतिक मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहेका मानबहादुर एक कुशल कलाकारका साथै प्रखर वक्ताको रूपमा पनि चिनिन्छन् । अहिले उनको परिचय त्यतिमा मात्र सिमित छैन, एक व्यावसायिक किसानको रूपमा पनि चिन्न थालिएको छ ।  लामो समयदेखि राजनीतिमा लागेका मानबहादुरको ध्यान अब आर्थिक उपार्जन गरी समाज परिवर्तनतर्फ सोझिएको छ । राजनीतिमा लाग्नेहरूले पनि उत्पादनमा लाग्नु पर्ने उनको धारणा छ । आफूले कृषिलाई व्यावसायिक बनाएर लैजाँदै गर्दा आफ्नो घरखर्च जुटाउन सकिने र अरुका लागि पनि उदाहरण बन्ने भएकाले पनि आफू बट्टाईपालनतर्फ लागेको उनले बताए । आफ्नै ह्याचरीसहित बट्टाईको चल्ला उत्पादनतर्फ लागेका मानबहादुरले स्थानीय कुखुरा, हाँस, टर्की, कडकनाथको पालनलाई पनि विस्तारै बढाउँदै लैजाने उनको तयारी छ ।   मानबहादुरले पाँच महिनाअघि गाउँघरबाट बट्टाईका माउ र भाले सङ्कलन गरी व्यवसायको शुरुआत गरेका हुन् । शुरुमा ६०० देखि शुरुवात गरेका उनले पछि ३०० थपेर व्यावसायिक यात्रालाई अघि बढाएका छन् । अहिले उनीसँग तीन हजार बढी बट्टाई छन् । दुई चरणमा ५५० वटा बट्टाई त उनले विक्री पनि गरिसकेका  छन् । एक जोडीलाई ३०० रुपैयाँ मा विक्री गर्न गरेको उनले बताए । बजारको समस्या नभएको उनको भनाइ छ । चल्ला, बयस्कदेखि बट्टाईका अण्डा पनि सहजै विक्री हुने गरेको छ । उनका अनुसार ग्राहकहरू घरमै आएर किन्ने गर्दछन् ।  तीन हजार २४० क्षमता भएको ह्याचरी घरमै रहेकाले पनि चल्ला निकाल्न उनलाई कुनै समस्या छैन । उक्त बट्टाईपालन तथा ह्याचरी सञ्चालनमा हालसम्म रु आठ लाख जति लगानी भइसकेको उनी बताउँछन् । बट्टाईका चार वटा जातहरू उहाँसँग रहेका छन् । बट्टाईपालनलाई थप बढाउन युवा नेता तथा किसान मानबहादुरले नयाँ योजना बनाइसकेको र छिटै विभिन्न जिल्लामा यसको उत्पादन पु¥याउने योजना बनाएका छन् । मानबहादुरलाई यो व्यवसायमा परिवारबाट पनि पूर्ण रूपमा सहयोग मिलेको छ । उनी भन्छन्, ‘परिवारको सहयोग नहुने हो भने एक्लो व्यक्रिले चाहँदैमा केही गर्न सकिंदैन ।’  उत्पादन दिनहुँ बढ्दै जाँदा बजारको अभाव हुने हो कि भन्ने डर मानबहादुरलाई लागिरहेको छ । छोटो समयमा यति राम्रो व्यवसाय सञ्चालन गर्न सकेकामा उनी निकै खुशी देखिन्छन् । उनको घरमा फार्म हेर्न र उत्पादित बट्टाई र अण्डा खरीद गर्न टाढाटाढाबाट पनि मानिस आउने गरेका छन् । बट्टाईको मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उनको भनाइ छ । बट्टाईपालन शुरु गर्नुअघि नजिकैको ज्ञानोदय नमूना माविमा मानबहादुरले चमेना गृह सञ्चालन गर्दै आएको थिए । गत वर्ष लामो समय कोरोना कहरका कारण बन्दाबन्दी हुँदा विद्यालय पनि नियमित सञ्चालन नभएपछि मानबहादुरले कृषि व्यवसाय रोजेका हुन् । ‘पहिलेदेखि नै यस व्यवसायतर्फ मेरो ध्यान गएको थियो तर कोरोनाले गर्दा यसतर्फ लाग्न प्रेरित ग¥यो’, उनी भन्छन्, ‘कोरोना मेरा लागि व्यवसायमा लाग्ने अवसर बन्यो ।’  थोरै लगानीबाट पनि छोटो अवधिमै आम्दानी गर्न सकिने भएकाले अन्य युवालाई पनि उनी यसतर्फ लाग्न प्रेरित गर्छन् । ‘पालेको डेढ÷दुई महिनामै बिक्री शुरु गरेँ, चल्ला किन्नेहरू घरमै आउँछन्’, मानबहादुरले भने, ‘घरमै बसेर पाल्न सकिने हुँदा बट्टाईपालनसँगै खेतीपातीको काम समेत गर्न भ्याएको छु ।’
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार