रवि लामिछानेविरुद्ध पासपोर्ट मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

सोमबार, चैत ६, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले सोमबार यस्तो निर्णय गरेका हुन् । उच्च सरकारी वकिल कार्यालयले आइतबार मुद्दा नचलाउने रायसहितको फायल महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।
प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय र उच्च सरकारी वकिल कार्यालयले पनि मुद्दा नचल्ने निर्णय गरेका थिए ।
अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गरेको हो । यो निर्णयसँगै लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा अदालतमा दर्ता नहुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति समेत रहेका लामिछानेलाई यसअघि नागरिकता मुद्दामा भने अदालतले दोषि ठहर गरेको थियो । नागरिकता मुद्दामा दोषि भएसँगै उनले सांसद पद र गृहमन्त्री समेत गुमाएका थिए।
तर अदालतले राहदानीको मुद्दामा छुट्टै अनुसन्धान भइरहेकाले राहदानी ऐन अनुसार नै कारबाही हुन सक्ने भनेको थियो। प्रहरीले त्यसअघि नै उजुरी परेपनि टुंग्याएको थिएन ।
२४ गते सर्वोच्चको फैसलाको पूर्णपाठ आएको थियो । ३० गते प्रहरीले मुद्दा नचल्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो ।
सरकारी वकिल कार्यालय काठमाडौंले पनि तत्काल उक्त फायल प्रहरीको राय अनुसार नै उच्च सरकारी वकिल कार्यालयमा पठाएको थियो । उच्चले महान्यायाधिवक्ताको कार्यालयमा आइतबार पठाएपछि सोमबार यस बारे अन्तिम निर्णय भएको हो । मुद्दा नचलाउन प्रहरीले लिएका आधार अनुसार नै महान्यायाधिवक्ता कार्यालयले पनि निर्णय गरेको हो ।  रविले सन् २०१५ मा अमेरिकी नागरिक हुँदै पूरानो नेपाली नागरिकताका आधारमा राहदानी लिएका थिए। उक्त राहदानी अवैध नागरिकताका आधारमा बनाएर दुरुपयोग गरेको भन्दै लामिछानेलाई कारबाही माग गरिएको थियो । तर प्रहरीले अनुसन्धानका क्रममा रविले राहदानी दुरुपयोग नगरेको, पुरानो राहदानी बुझाइसकेको भन्दै कारबाही गर्न नपर्ने निस्कर्ष निकालेको थियो । रवि पहिले नेपाली नागरिक रहेको र उनी गैरआवासीय नेपालीको हैसियतमा रहेकाले उनी विदेशी नागरिक नभएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार