सोसल मिडिया
Contact Us
युनिकोड
मस्को । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । यद्यपि, ‘पश्चिम र किएभ’ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ । रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्धन्द्ध र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए । गत महिना प्रकाशित चीनको योजनाले रुसी सेनालाई युक्रेनी भूभाग छोड्न स्पष्ट आह्वान गरेको छैन । बाह्र बुँदाहरू सूचीबद्ध योजनामा कुनै विशेष सर्त बिना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ । युक्रेनले कुनै पनि वार्ताका लागि रुसले आफ्नो भूभाग छोड्नु पर्ने बताएको छ । तर रुस त्यसो गर्न तयार भएको सङ्केत देखिँदैन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सोमवार ‘युक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्याउने’ बताएका थिए । सीसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने, ‘चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ। तर त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ ।’ तर रुसले युद्धको दोस्रो पक्षबाट यस्तो 'तत्परता' देख्न नसकेको उनले बताए ।
सीले के भने ? रुसी नेतासँगै उभिएका सीले आफ्नो सरकार शान्ति र वार्ताको पक्षमा रहेको र चीन ‘इतिहासको सही पक्ष’मा रहेको बताए । उनले बेइजिङलाई सम्भावित शान्ति निर्माताका रूपमा प्रस्तुत गर्न खोज्दै युक्रेन युद्धबारे चीन ‘निष्पक्ष’ रहेको दाबी गरे । यी दुई शीर्षस्थ नेताले आफ्ना देशहरूबीचको बढ्दो व्यापार, ऊर्जा र राजनीतिक सम्बन्धका बारेमा पनि छलफल गरेका थिए ।
‘चीन रुसको प्रमुख वैदेशिक व्यापार साझेदार हो’ राष्ट्रपति पुटिनले चीनसँगको गत वर्ष सुरु भएको ‘उच्च स्तरीय’ व्यापार सम्बन्ध कायम राख्ने वाचा गर्दै भने । यसअघि सीले चीन र रुसलाई 'महान् छिमेकी' शक्ति तथा रणनीतिक साझेदारुको संज्ञा दिएका थिए । रुसको सरकारी सञ्चार माध्यमका अनुसार यी दुई नेताहरूले आर्थिक सहयोगका लागि विस्तृत योजनाहरू र रुस–चीन साझेदारीलाई बलियो बनाउने योजनाहरू गरी दुई संयुक्त कागजातमा हस्ताक्षर गरे:
पश्चिमा देशहरूलाई चीनले रुसलाई सैन्य सहायता उपलब्ध गराउनेबारे चिन्ता बढ्दो छ।
ब्रसेल्समा सैन्य सङ्गठन नेटोका प्रमुख यान्स स्टोलटेनबेर्गले ‘सहयोगी राष्ट्रहरूले चीनले रुसलाई घातक हतियार उपलब्ध गराएको कुनै प्रमाण नदेखेको’ बताए । तर रुसले हतियारका लागि अनुरोध गरेको र बेइजिङमा त्यसबारे विमर्श भइरहेको ‘सङ्केतहरू देखिएको’ उनको भनाइ छ ।
चीन–रुस साझेदारी कस्तो ? चीन र रुसले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई देशबीचको साझेदारी अन्तर्गत ‘सैन्य–राजनीतिक गठबन्धन’ नगरेको जनाइएको छ । यो सम्बन्ध ‘गुटबन्दी नगर्ने, आक्रामक नहुने र तेस्रो देशविरुद्ध निर्देशित नहुने’ उनीहरूले बताएका छन् । पुटिनले पत्रकार सम्मेलनमा पश्चिमले ‘पारमाणविक अवयव’सहित हतियारहरू तैनाथ गरेको आरोप समेत लगाए । उनले यूकेले युरेनियम निर्मित गोला बारुद युक्रेनमा पठाए रुस त्यसको प्रतिक्रिया जनाउन बाध्य हुने चेतावनी दिए । अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको केही दिनमा यो भेटघाट भएको हो । सी मस्को पुगेको भोलिपल्ट जापानी प्रधानमन्त्री फुमिओ किशिदा आकस्मिक भ्रमणमा किएभ पुगेका छन् । दोस्रो विश्वयुद्धपछि कुनै पनि जापानी प्रधानमन्त्री युद्धग्रस्त देशमा गएको यो पहिलो पटक हो । विकसित राष्ट्रहरूको समूह जी सेभेनमा आबद्ध देशका नेतामध्ये रुसी आक्रमणपछि युक्रेन भ्रमण नगर्ने नेतामा किशिदा मात्र बाँकी थिए । युक्रेनी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा हुने जी सेभेन सम्मेलनमा भिडिओमार्फत सहभागी हुने किशिदासँग बताए । मङ्गलवार दिउँसोको पत्रकार सम्मेलनमा उनले चीनलाई पनि वार्तामा सहभागी हुने आग्रह गरेको तर हालसम्म कुनै जवाफ नआएको जनाएका छन् ।–बीबीसी