मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

बिहीबार, चैत ९, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा शीर्ष तहमा परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ प्रचण्डले शीर्ष नेतृत्वसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा सल्लाह गर्न गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बुधवार पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) सहितका गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेका थिए ।
संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकारका विषयमा समेत छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
‘संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन र प्रदेश सरकारका विषयमा हिजो शीर्ष नेतृत्ववीच छलफल भयो। आज बेलुका अनौपचारिक शीर्ष नेतृत्ववीच छलफल हुने छ,’ प्रचण्डको सचिवालय सदस्यले भने, ‘शीर्ष नेतृत्ववीच समझदारी भएमा आ–आफ्नो पार्टीमा छलफल गरेर सत्ता भागवण्डाका विषयमा टुङ्गो लाग्ने छ।’
अबको एक दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने ती सचिवालय सदस्यले दाबी गरे । काँग्रेस, एकीकृत समाजवादी, जसपा र जनमत पार्टी सरकारमा जाने भएपछि शीर्ष नेतृत्ववीच छलफल जारी छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय स्वतन्त्र पार्टीमा भने सरकारमा जाने विषयमा अलमल देखिएको छ । लोसपाले सरकारमा जान इच्छा देखाए पनि सत्ता साझेदार दलले रुचि देखाएका छैनन् । रास्वपालाई सरकारमा ल्याउन खोजिए पनि पार्टीभित्रै २ धार देखिएकाले समस्या भएको बताइएको छ ।
एउटा समूह सभापति रवि लामिछाने उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि सरकारमा जानुपर्ने पक्षमा छ। अर्को समूह भने तत्काल सरकारमा जानुपर्ने पक्षमा छ । एउटै पार्टीमा २ धार देखिएपछि सरकारमा जाने विषयमा अलमल भएको हो ।
प्रभावशाली मन्त्रालयमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी तीन दलले दाबी गरेका छन् । अर्थ मन्त्रालय कांग्रेसले लिने सम्भावना देखिएको छ । गृह मन्त्रालयमा कांग्रेससहित माओवादी र एकीकृत समाजवादीले दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले गृह आफैँसँग हुने अडान लिएपछि कांग्रेस र एकीकृत समाजवादीले धेरै दबाब नदिने अवस्थामा पुगेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । यदि माओवादीले गृह लिएमा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव शक्तिबहादुर बस्नेत, केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही र पूर्णबहादुर घर्ती दाबेदार देखिएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार