सामान्य रुघाखोकी मात्रै होइन कोरोना

बुस्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न सुझाव
बुधबार, चैत १५, २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणविरुद्ध अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि खोप लगाउन सबैलाई निर्देशन दिएको हो । पछिल्लो समय कोरोनालाई सामान्य रुघाखोकी भनेर बेवास्ता गर्ने गरिएको भन्दै त्यसो नगर्न पनि मन्त्रालयलले आग्रह गरेको छ ।
भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको तर्फ मन्त्रालयले सतर्क गराएको छ । मंगलबार एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको छ ।
सोमबार एक हजार दुई सय ६६ मा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा सङ्क्रमण देखिएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो ।
मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार