सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालमा पुनः कोरोनाभाइरस सङ्कमण बढ्न थालेको भन्दै अधिकारी तथा विज्ञले “लक्षण देखिने बित्तिकै परीक्षण गराउन” तथा “स्वास्थ्य सचेतना अपनाउन” आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारीका भनाइमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण केही बढेको देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको हो । अहिले भइरहेको सङ्क्रमणमा भाइरसको नयाँ भेरिअन्ट पाइएको पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अधिकारीहरूका भनाइमा नेपालका विभिन्न स्थानमा भएका सङ्क्रमण नयाँ भेरिअन्टका कारण हो कि भनेर नमुनाको जीन सिक्वेन्सीङ गर्ने काम पनि समयसमयमा जारी रहेको छ । कोभिडविरुद्धको खोप कार्यक्रम पनि चलिरहेको उनीहरू बताउँछन् ।
सङ्क्रमणको अवस्था के छ ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो पटक नेपालमा कुल १,४२९ जनाको परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको छ । सोमबार कुल १,२६६ जनाको परीक्षण गर्दा ६९ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयले सार्वजनिक गरेको गएको एक साताको विवरण हेर्दा कोरोनाभाइरसको सङ्क्रमण क्रमशः बढ्दै गइरहेको जस्तो देखिएको छ। नेपालमा अहिले दैनिक औसतमा एक हजार जति नमुनाको परीक्षण भइरहेको मन्त्रालयको विवरणमा देखिन्छ । एक साताअघि चैत ७ र ८ गते सङ्क्रमण शून्य थियो । त्यसअघि पनि सङ्क्रमण दोहोरो अङ्कमा खासै देखिएको थिएन तर अहिले सङ्क्रमण बढ्न थालेको देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
‘नयाँ भेरिअन्ट पुष्टि भएको छैन’ सहप्रवक्ता अधिकारीले अहिले भारतका साथसाथै नेपालमा पनि कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको बताए । उनले भने, “अहिले छिमेकी मुलुकमा पनि सङ्क्रमण बढेको र नेपालमा पनि बढिरहेको देखिन्छ । त्यसले सङ्क्रमण बढ्छ कि भन्ने देखिएको हुनाले सतर्क हुनुपर्ने अवस्था आएको छ ।” “अब हामीले जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्छ। लक्षण देखिएमा तत्काल परीक्षण गर्नुपर्छ र खोप लगाउन बाँकी भएमा वा बुस्टर मात्रा लगाउने समय भएको भए खोप लगाउनुपर्छ ।” उनले नेपालमा अहिले देखिएको भेरिअन्ट पुरानै हुनसक्ने बताए । यद्यपि अहिले पनि विभिन्न स्थानबाट नमुना सङ्कलन गरेर जीन सिक्वेन्सीङको काम समयसमयमा भइरहेको उनको भनाइ छ । “अहिले देखिएका सङ्क्रमणमा भेरिअन्ट उही हो वा अर्को हो भन्ने विषयमा हामीले नमुना सङ्कलन गरेर जीन सिक्वेन्सीङ गरिरहेका छौँ। हालसम्म नयाँ भेरिअन्ट देखिएको छैन,” उनले भने । पछिल्ला केही दिनमा सङ्क्रमण बढे पनि अस्पतालमै भर्ना हुनुपर्ने अवस्थाका बिरामी देखिएका छैनन् । त्यसले गर्दा धेरै आत्तिनु पर्ने अवस्था नभए पनि सतर्क भने हुनुपर्ने उनको भनाइ छ । भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी भएको छ भने एकै दिनमा करिब दुई हजार जनामा सङ्क्रमण देखिने अवस्था पनि आएको छ । त्यसले नेपालमा पनि सङ्क्रमण बढाउने चिन्ता बढेकाले आफूहरूले चनाखो भएर हेरिरहेको अधिकारीको भनाइ छ ।