सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा बाहेक ९ दल सरकारमा सहभागी हुने भएका छन् । नागरिक उन्मुक्ति पार्टी, प्रभु शाहको पार्टी, नेसपा, जसपा तथा जनमतलाई थप १ राज्य मन्त्री दिने गरी सहमति भएको छ । सहमतिअनुसार कांग्रेसलाई आठ, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई दुई, लोसपा १, नागरिक उन्मुक्ति पार्टी १, प्रभु शाह १, जनमतलाई थप १ राज्य मन्त्री, नेसपालाई १ र जसपालाई दुई मन्त्रालय दिइने भएको छ । भोलि बिहानसम्म सवै दलहरुले प्रधानमन्त्रीलाई नाम बुझाउने र साँझसम्म मन्त्रीमण्डल विस्तार गर्ने तयारी छ । गठबन्धन दलको बुधबारको बैठकमा मन्त्रीमण्डल बाँडफाँटमा सहमति जुटेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति गर्दै बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने निर्णय गरेका छन् ।
बैठकपछि जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदले पूर्णता पाउने जानकारी दिए । बैठकमा न्यूनतम साझा कार्यक्रममा सुझाव लिने काम पनि भएको छ । तीन दिनदेखि लगातार बसिरहेको गठबन्धन बैठकले सबै मन्त्रालयको भागबन्डा मिलाएको हो । गठबन्धनको भागबन्डा अनुसार गत फागुन १५ गते एमालेले छाडेका ८ वटा मन्त्रालय नेपाली कांग्रेसले लिने भएको छ। तर मन्त्रालय भने हेरफेर हुन सक्नेछ । त्यस्तै नेकपा माओवादी केन्द्रले पाँचवटा मन्त्रालय लिने भएको छ। अहिले माओवादीका चारजना मन्त्री छन्। अब माओवादीले थप एक मन्त्रालय पाउने छ । त्यसैगरी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले दुई मन्त्रालय पाउने छ। उसका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री हुनेछन् । त्यसैगरी जनता समाजवादी पार्टीबाट दुईजना मन्त्री बन्ने भएका छन् । एकजना अशोक राई र राजकिशोर यादव या प्रदीप यादवमध्ये एक जना मन्त्री हुनेछन् । मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्ने भएका छन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि एक मन्त्रालय पाउने भएको छ। उसका शरतसिंह भण्डारी मन्त्री बन्ने निश्चित छ।
रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जाने भएको छ। उसले पाउने एउटा मन्त्रालयमा अध्यक्ष श्रेष्ठ आफैँ मन्त्री हुँदैछिन्। अर्कातिर डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक मन्त्रालय पाएको छ। उसका समानुपातिक सांसद अब्दुल खान अहिले नै खानेपानी मन्त्रीका रुपमा कार्यरत छन् । त्यसैगरी मंसिर ४ मा माओवादीको चुनाव चिह्न लिएर निर्वाचनमा होमिएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि एक मन्त्रालय पाएको छ। बाबुरामको नेसपाबाट महिन्द्र राय यादव मन्त्री बन्दैछन्। उनी माओवादीको चुनाव चिह्न लिएर सर्लाही २ बाट विजयी भएका थिए। यो भागबन्डासँगै २२ वटा मन्त्रालयको हिसाब मिलेको छ। अब बाँकी तीनवटा मन्त्रालयमा राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकारमा २५ मन्त्री पग्नेछन् । बिहीबार नै सबै मन्त्रीको शपथ हुने जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बताए । ‘भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार भएर शपथ हुन्छ’ उनले भने ।