सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेका छन् । काँग्रेस दाइ-भाउजु, साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप उनले लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पार्टी परित्याग गरेको घोषणा गर्दै उनले कांग्रेस दाइ–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको आरोप लगाएका हुन् । ‘पछिल्ला वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ,’ वाग्लेले लेखेका छन्, ‘जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’ २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको आफ्नो संलग्नता र ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको वाग्लले लेखेका छन् । पार्टीभित्र ३० वर्षदेखि परोक्ष र विगत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, वौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको उनको भनाइ छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै नयाँ वर्षको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने वाग्लेले बताएका छन् ।
‘आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने हो, बनाउने नै हो,’ उनले लेखेका छन् । कांग्रेस–कम्युनिस्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका तथा विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने वाग्लेले भनाइ छ ।
तनहुँ १ मा रास्वपा स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ । नेपाली कांग्रेसले बिहीबारमात्रै गोविन्द भट्टराईलाई त्यस क्षेत्रमा उम्मेदवार बनाउने निर्णय लिएको छ । यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टीले नाम चलेका व्यक्तिहरूलाई उठाउने योजना बनाइरहेको छ । त्यहीक्रममा रास्वपा राम्रो प्रोफाइल भएका व्यक्तिलाई मैदानमा उतार्ने तयारीमा लागेको हो । रास्वपाका एक सांसदका अनुसार नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थविद् डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्नसक्ने सूचीको पहिलो नम्बरमा छन् । रास्वपाले यसअघि नै तनुहँ १, चितवन २ र बारा २ मा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिइसकेको छ। उसले तीनै क्षेत्रमा चुनावी कमान्डर तोके पनि चितवन २ बाहेक अरुमा उम्मेदवार तय गरिसकेको छैन । चितवन २ मा सभापति रवि लामिछाने आफैं उठ्दैछन्। ‘राजेश हमालजीसँग हाम्रा केही साथीले कुराकानी गरिरहनुभएको छ। इन्डियामा पनि हिरोहरू राजनीतिमा आएका छन् । नेपालमा पनि त्यो लहर सुरु भएको छ,’ अर्का पदाधिकारीले भने, ‘नयाँ पार्टी भएकाले धेरै मान्छेको आकर्षण छ, रुचि देखाउनुभएको छ। तर तनहुँ १ को उम्मेदवारबारे औपचारिक निर्णयमा पुगिसकेका छैनौँ ।’ स्वर्णिमजीले बुधबार रास्वपाका जिल्ला तहका नेताहरूसँग छलफल गर्नुभएको थियो । अहिले पनि उहाँ यही क्षेत्रको वस्तुस्थिति बुझ्दै हुुनुहन्छ,’ रास्वपाका अर्का एक नेताले भने। तनहुँ–१ को उपनिर्वाचनका लागि रास्वपाका आधा दर्जन बढी सांसदहरू यसअघि नै त्यहाँ पुगिसकेका छन्। वाग्ले रास्वपा सांसद शिशिर खनालसँगै त्यहाँका मतदातासँग संवादमा जुटिरहेको छन् । गत मंसिरको चुनावमा पनि कांग्रेसले टिकट नदिएपछि रास्वपाले स्वर्णिमलाई काठमाडौं क्षेत्र नं २ मा उठाउन खोजेको थियो । तर त्यसबेला उनले रास्वपाको प्रस्तावलाई अस्वीकार गरेका थिए । मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका थिए । मंसिरको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले तनहुँ १ मा ६ हजार ४४ मत ल्याएका थिए। सिग्देल त्यहाँ स्वतन्त्र सांसद गोविन्दराज जोशीभन्दा पछाडि रहँदै चौथो भएका थिए । जोशीको मत ६ हजार ८८६ थियो ।