सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख १० गते हुने उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारको सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार राति सम्भावित उम्मेदवारको सूची सार्वजनिक गरेको हो । सूचीमा बिहीबार मात्रै पार्टी प्रवेश गरेका अर्थविद् स्वर्णिम वाग्ले र पूर्वडीआईजी रमेश खरेलको नामावली समावेश छ । रास्वपाले अर्थविद् डा. बाग्लेलाई तनहुँ क्षेत्र नं १ र खरेलको नाम बारा क्षेत्र नम्बर २ बाट सम्भावित उम्मेदवारका रूपमा बिहीबार राति सार्वजनिक गरेको हो । बाराका लागि खरेलसँगै युवराज न्यौपानेको नाम रास्वपाले सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको छ । बारा २ बाट खरेल रास्वपाका उम्मेदवार हुने करिब करिब पक्का नै हो । उता चितवन २ मा सभापति रवि लामिछानेको नाम मात्रै रास्वपाले सार्वजनिक गरेको छ । तनहुँ १ मा रास्वपाले बिहीबार मात्रै कांग्रेस छाडेका डा. वाग्ले र ईश्वर लामिछानेको नाम सार्वजनिक गरेको छ । तर त्यहाँ वाग्लेलाई चुनाव लडाउने रास्वपाको तयारी हो । तनहुँ १ मा कांग्रेसले गोविन्दराज भट्टराईलाई उठाउने निर्णय गरिसकेको छ । एमालेले काठमाडौं ६ मा पराजित सर्वेन्द्र खनाललाई उठाउने सम्भावना बलियो छ । चितवन २ मा सभापति लामिछानेको मात्रै नाम सार्वजनिक भएपछि उनीनै चुनावमा उठ्ने छन् । ४ मंसिरको चुनावमा फराकिलो मतसहित निर्वाचित लामिछानेले नागरकिता विवादमा माघ १३ गते सांसद र मन्त्री पद दुवै गुमाएका थिए। चितवन २ मा कांग्रेसले जितनारायण श्रेष्ठलाई उठाउँदै छ । एमालेबाट रामप्रसाद न्यौपानेसहित तीनजनाको नाम चर्चामा छ । तर उम्मेदवार तय भइसकेको छैन । बारा २ मा उपचुनाव लड्ने तयारीमा रहेका खरेल ४ मंसिरमा भएको चुनावमा काठमाडौं १ बाट पराजित भएका थिए । बारा २ बाट विजयी जसपा नेता रामसहायप्रसाद यादव चैत ३ गते उपराष्ट्रपति भएका छन् । त्यहाँ खरेल उठ्ने भएपछि चुनावी भिडन्त रोचक हुने भएको छ । बारा २ मा जसपाबाट उपेन्द्र यादव, जनमतबाट रामसहायसँग मंसिरमा झिनो मतले पराजित शिवचन्द्र कुशवाहा र लोसपाबाट राजेन्द्र महतो लड्ने पक्का जस्तै छ । अब खरेल पनि थपिएपछि चुनावी प्रतिस्पर्धा कडा हने देखिएको छ ।